हिमालयन इंक पोखरा लेकसाइडस्थित स्टुडियोमा ट्याटुकार रक्षे गुरुङ सेवाग्राहीको पाखुरामा ट्याटु खोप्दै । तस्बिरः देश सञ्चार
कथा बोल्ने ट्याटु खोप्ने रक्षे

शरीरका अंगमा चित्र बनाउने शिल्पी

काजगलाई क्यानभास बनाई फाइन आर्ट गर्ने रक्षे गुरुङ (३९), अचेल मानिसको छालामा आकृति कुँद्छन्।

]सिसाकलम र कुचिबाट सुरु भएको उनको कलाकारिताको ‘प्यासन’ अहिले व्यावसायीक ‘ट्याटु आर्टिस्ट’ बनेर अडिएको छ । मेसिनको ‘निडल’ ले डो¥याउने रेखामाथि घोत्लिँदै अनेकौँ चित्र कोर्न उनी माहिर छन् ।

विज्ञापन

शरीरका विभिन्न अंगमा ट्याटु खोपाउने क्रेज पछिल्लो समय निकै बढेको छ । आजभन्दा १५ वर्षअघि पोखरामा उतिसारो ट्याटु खोपाने चलन थिएन, तर त्यति बेलादेखि नै रक्षेले आफूलाई त्यसैमा समर्पित गराए ।

उनलाई यसमै मजा छ । जुन कामले बढी सन्तुष्ट दिलाउँछ त्यहीँ कामलाई निरन्तरता दिनुपर्ने उनी सुनाउँछन् ।

९ वर्षअघिदेखि पर्यटकीय नगरी पोखराको लेकसाइडमा व्यवसाय नै सुरु गरेका रक्षेले । उनले सन् २०१३ देखि ‘हिमालयन इंक ट्याटु’ सञ्चालन गरेका छन् ।

ट्याटु सुन्दा एउटामात्र भए पनि यसका विभिन्न विधा भएको उनले बताए । ट्याटुलाई परिस्कृत गर्ने धुनमा जहिल्यै घोत्लिने रक्षेले ६ वटा स्पेशल क्याटोगरी अफर गर्ने गरेका छन् ।

ट्रेडिसनल, लेटरिङ, एब्स्ट्रयाक्ट/मोर्डन/ओरिजनल कन्सेप्ट, प्रोटेट, ब्ल्याक एन्ड ग्रे रियालिजम र कलर रियालिजम ट्याटु हिमालयन इंकले दिने सेवामा ‘लिस्टेड’ गरेको उनी सुनाउँछन् ।

प्रोटेटमा रियालिजम ट्याटु भने उनको रुची हो । पाखुरा, तिघ्रा र अलि फ्ल्याट स्पेसमा प्रोटेट ट्याटु खोप्न सहज हुन्छ ।

फोटोबेसमा मुखाकृत ट्याटु खोप्न उनी माहिर मानिन्छन्। ट्याटु स्डुडियोमा विदेशी औषतमा बढी नै हुन्छन्। स्टुडियोमा छिरेर क्याटलग हेर्ने विदेशीले पनि प्रोटेटमा रुची देखाउने उनी सुनाउँछन्।

प्रायः घुमफिरमा आउने पर्यटकले यहाँको संस्कृति वा प्रकृतिसँग सम्बन्धित ट्याटु खोप्ने गरेको उनको लामै अनुभव छ । रुची र बिस्तार गर्न खोजेको उनको खास विधाले स्थान पाउँदा उनलाई आनन्द महशुस हुन्छ।

व्यक्तिका मुहार र जनावरको फोटोबेसमा ट्याटु खोपाउनकै लागि खोज्दै आइपुग्ने गरेको उनको अर्को मिठो अनुभव पनि छ।

ट्याटु देखाउनका लागि मात्र नभई महत्वको हुनुपर्ने पनि उनको विचार छ। ट्याटुमा कथा हुनुपर्ने रक्षे बताउँछन्।

‘जीवनभरि स्थायी हुन्छ नि त्यसकारण ट्याटु केही विशेष हुनुपर्छ जस्तो लाग्छ’ उनी भन्छन्, ‘जीवनको केही अविश्मरणीय क्षण वा आफ्नै शरीरको ट्याटु हेरेर आफैलाई उत्प्रेरित गरोस् ।’

ट्याटुकै व्यवसाय गरिरहेकाले पनि यस्तो नै खोप्नुपर्छ आफूले भन्न नमिल्ने तर ट्याटु खोप्नेले निकै विचार गरेर मात्रै खोपाए हुन्थ्यो भन्ने उनको इच्छा हुन्छ ।

हाल युवायुवतीले आफूलाई मनपर्ने मान्छेको नाम खोपाउने ट्रेन्ड नै चलेको छ।

रिलेसनमा हुँदा ब्वाईफ्रेन्डको नाम खोपाउने र ब्रेकअप भएपछि त्यहीँ नामकै कारण तनाव उत्पन्न भइरहेका घटना सुनिन्छन्।

मनपर्ने मान्छेको नाम खोपाउने मामलामा केही सर्तक हुन उनले सुझाव दिन्छन् । डिजाइन फिक्स गर्न उनले समय लिनसमेत सुझाउने गरेका छन् ।

गोप्य अंगमा ट्याटु ‘नर्मल’


ट्याटुको ट्रेन्ड बिस्तारै परिवर्तन हुँदैछ । देखिने अंगमा ट्याटु खोपाउने चलन पछिल्लो समययता गोप्य अंगमा पनि बिस्तार भयो ।

नेपाली कलाकारहरु करिश्मा मानन्धर, सुष्मा कार्की, शुभेच्छा थापा लगायतले छातीमा खोपाएको ट्याटुकै कारण चर्चाका पात्र बने ।

ट्याटुलाई स्व–अभिव्यक्तिको सुन्दर माध्यमका रुपमा लिइने हुँदा यसको परिस्कृत स्वरुप गोप्य अंगमा समेत प्राथमिकतामा परिरहेको ट्याटुकार रक्षे सुनाउँछन् ।

‘व्यक्तिगत कुरा पनि हो । शरीरका कुन अंगमा ट्याटु खोपाउने भन्ने विषय अहिले सामान्य पनि भइसक्यो,’ उनी भन्छन्, ‘नेपालमा त अझ मौलाएको छैन विदेशमा कल्चर नै बसिसकेको छ ।’

एसिया र युरोपका केही थान देश सयर गरिसकेका ट्याटुकार रक्षेको अनुभवले पनि थप प्रष्ट्याउँछ । गेष्ट आर्टिस्टको रुपमा जर्मनी, इटाली र फ्रान्समा उनले त्यस्तै अनूभुति संगालेका छन् । सिंगापुर, थाइल्यान्ड र भारतमासमेत उनले आफ्नो खुबी प्रस्तुत गर्ने अवसर प्राप्त गरिसकेको बताउँछन् ।

त्यतिका देशको अनुभव बटुलेका ट्याटुकार रक्षेको निष्कर्ष भने जुन मात्रामा विदेशीले ट्याटुलाई बुझेका छन् नेपालमा अझ केही समय पक्का लाग्ने छ ।

मुलतः देखासिकी होइन । जीवनको मिठो पल कैद गरे जस्तै ट्याटु खोपिनुपर्छ । जसले अर्थ राखोस् ।

ट्याटुमा युवाकै आकर्षण


पुरानामध्येका एक ट्याटुकार रक्षेको परिचय केही फराकिलो छ । हरेक क्षेत्रका कलाकारहरु कोही न कोही उनका ग्राहक बनेका छन् । उनको भाषामा त ग्राहक होइन की हितैसी छ ।

उनको खुबी चिन्ने त्यस्तैमध्ये विदेशी पनि छन्।

पहिलोपटक उनको हातबाट ट्याटु खोपाएका केही वर्षपछि पुनः नेपाल आउँदा पनि ट्याटु थप्ने र नयाँ बनाउन आइपुग्छन् ।

उनी भन्छन्, ‘सबैलाई ठम्याउन गाह्रो पनि हुन्छ । विदेशीको अझ नाम सम्झन केही अप्ठ्यारै । उनीहरुले नै सम्झाएपछि याद हुन्छ । फर्केर म कहाँ आउने विदेशी दंग पर्छु ।’

उनीहरु भनेका रेगुलर ग्राहक जस्ता । फ्रेस ग्राहक उनीकहाँ युवाहरु नै पुग्ने गर्छन्।

‘ट्याटु मोह पनि युवामै बढी हुन्छ । अरुको देखेर छिटो सिको गरिहाल्न पर्ने युवा नै हुन्छन् नि।’

अफसिजन असारदेखि भदौसम्म जेनतेन उनको व्यवसाय नेपाली युवाकै कारण भरथेग भइरहेको छ ।

सिजनमा भने विदेशीकै उपस्थिति बढी हुन्छ । सहोदर भाइ अक्षे गुरुङ (२७), ले उनलाई केही वर्षयता व्यवसायमा सघाइरहेका छन्।