तर्साउँदै छ अमेजनको आगलागीले, यी हुन् विश्वका १० बढी जंगल भएका देशहरु

अमेज़नका जंगलमा भीषण आगलागीका श्रृंखलाबद्ध घटना ‍रोक्ने सारा सरकारी प्रयास विफल भएका छन्। उपग्रहबाट प्राप्त तस्बिरअनुसार यस वर्षमात्रै ब्राजिलमा रहेको अमेजनका जंगली भूभागमा आगलागीका ७२,८४३ घटना भएका छन्। यो संख्या निश्चय पनि मन र मुटु दुवै हल्लाउने मात्राभन्दा पनि निकै माथि छ।

अमेज़नको वनक्षेत्रले ब्राजिललगायत ९ वटा देशको भूभाग ओगटेको छ। भेनेजुयला, बोलिभिया, कोलम्बिया, पेरु, गुयना, इक्वेडर, सुरिनाम र फ्रेन्च गुयनासम्म विस्तृत रहेको अमेजन वन प्रान्त  संसारकै सबैभन्दा ठूलो वन हो। अमेजनको कुल विस्तार ७० लाख वर्ग किमी रहेको छ। अमेजन वनक्षेत्रमा १ सय ९० अर्ब  रुख छन्। यो संख्या भनेको सम्पूर्ण विश्वमा रहेको रुख संख्याको झन्डै  ६.३ प्रतिशत हुन आउँ‍छ।

सन् २०१५ मा येल युनिवर्सिटीले गरेको सर्वेका अनुसार विश्वमा ३ हजार ४०अर्ब रुखमात्रै बाँकी छन्। विश्वको आबादीअनुसार प्रत्येक मानिसको भागमा ४ सय २२ रुख मात्र पर्छन्। यो वितरण प्रतिशत विश्व भरिरहेका रुख र मानिसको संख्या बमोजिम हो। देशकै हिसाब गर्ने हो भने  कैयन देशका मानिसको भागमा एक रुख पनि पर्न गाह्रो छ।

आउनुस् हेरौँ- विश्वमा  बढी जंगल भएका १०  प्रमुख देश:

भारत: यस लिस्टमा भारत १० औँ  नम्बरमा पर्छ। भारतमा ८,०२,०८८ वर्ग किमी वनक्षेत्र बाँकी छ। यो भनेको देशको कुल क्षेत्रफल को २३.६८ प्रतिशत हो। भारतमा रुख संख्या भने जम्मा ३५ अर्ब छ। भारतको जनसंख्या १.३ अर्ब रहेकोमा प्रति व्यक्तिको भागमा २८ वटा रुख मात्र पर्छन्। भारतमा सबैभन्दा बढी वनक्षेत्र रहेका राज्य मध्य प्रदेश ७७,४६२ वर्ग किमिका साथ अग्रस्थानमा छ। यसैगरीअरुणाचल प्रदेशमा ६७,२४८ वर्ग किमी, छत्तीसगढमा ५५,५८६ वर्ग किमी, महाराष्ट्रमा ५०,६२८ वर्ग किमी र उडिसामा ५०,३५४ वर्ग किमी वनक्षेत्र छ।

भारतमा १९९० पछि वन क्षेत्रमा वृद्धि हुँदै आएको छ। १९९०-२००० सम्म देशमा वन वृद्धि प्रतिशत ०.२० प्रतिशत रहेकोमा सन् २०००-२०१० का बीच यो बढेर ०.७० हुन् पुगेको छ।

इन्डोसेनिया: इन्डोनेसिया ८,८४,९५०  वर्ग किमी वन भूभागका साथ विश्वमा नवौँ स्थानमा ‍छ। यहाँको कुल भूभाग को ४६.४६ प्रतिशत भूभाग वनक्षेत्रले ओगटेको छ। ‍इन्डोनेसियाले प्रत्येक वर्ष १.०२ प्रतिशतले आफ्नो वनभाग गुमाउँदै गइरहेको  छ। १९९०-२०१० का बीच  इन्डोनेसियाले आफ्नो २०.३ प्रतिशत वनक्षेत्र नष्ट गरेको छ।

अर्जेन्टिना: यस क्रममा ९,४५,३३६ वर्ग किमी वनक्षेत्र राखेर अर्जेन्टिना ८ ओँ नम्बरमा पर्छ। देशको कुल भूभागको ३४ प्रतिशत भूभागमा वनक्षेत्र छ अर्जेन्टिनामा। यहाँ पनि वन सम्पदाको अत्यधिक दोहन भएर वनक्षेत्र घट्दै गइरहेको छ। १९९०-२०१० का बीच प्रतिवर्ष ०.७८ प्रतिशतका दरले वनक्षेत्र मास्सिँदै गएका छन्। यस अवधिमा यहाँको १५.५ प्रतिशत वन भूभाग नष्ट भएको छ।

कंगो: वन सम्पदाको धनीमध्ये  ७ औँ नम्बरमा डेमोक्रेटिक रिपब्लिक अफ कंगो  पर्छ। यहाँको भूभागको ५० प्रतिशत भागमा वनक्षेत्र छ। कंगोमा ११,७२,७०४ वर्ग किमी वनक्षेत्र छ।

अष्ट्रेलिया: छैँटौँ नम्बरको वनधनीमा अष्ट्रेलियाको नाम आउँछ। यहाँ १४,७०,८३२ वर्ग किमी वनक्षेत्र छ। यो कुल भूभागको भने जम्मा १९.९० प्रतिशत मात्र हो।

चीन: विश्वको सबैभन्दा बढी जनसंख्या भएको चीन वन सम्पदा लिस्टमा ५ ओँ नम्बरमा पर्छ। यहाँ कुल भूभागको २१.८३ प्रतिशत भागमा वनक्षेत्र छ। चीनमा २०,८३,२१० वर्ग किमी वनक्षेत्र रहेको छ। चीनमा १३९ अर्ब रुख रहेका छन्। प्रत्येक मानिसको भागमा यहाँ झन्डै १०२ रुख पर्न आउँछन्।

अमेरिका:  विश्वकै महाशक्ति कहलिने अमेरिका भने वन सम्पदामा ४ नम्बरमा पर्छ। ३२,००,९५० वर्ग किमी  वनक्षेत्रमा यहाँ २२८ अर्ब रुख छन्। अमेरिकाको कुल भु- भागको ३३.८४ प्रतिशत भाग वनक्षेत्रले ओगटेको छ। जनसंख्या कम भएका कारण यहाँ प्रति व्यक्तिको भागमा  ७२८ रुख पर्न आउँछन्।

ब्राजिल:  आगलागीले चर्चामा रहेको ब्राजिल वन सम्पदामा तेस्रो स्थान राख्छ। यहाँको कुल भू-भाग को ५६.१० भागमा जंगल छ। यहाँ कुल ४७,६८,९६० वर्ग किमी क्षेत्रफलमा वनक्षेत्र फैलिएको छ। ब्राजिल भरिरहेका वन प्रान्तमा ३०१ अर्ब रुख रहेका छन्। जनसंख्याको हिसाबले प्रतिव्यक्ति १४९४ रुख पर्न आउँछन्।

क्यानडा: विश्वको दोश्रो सबैभन्दा ठूलो देश वन सम्पदामा पनि दोश्रो नम्बरमा पर्छ। क्यानडाको कुल भू-भाग मध्ये ४० प्रतिशत भागमा वन जंगल छन्। यहाँ ४९,१६,४३८  वर्ग किमी वन क्षेत्र रहेको छ। यस वन क्षेत्रमा ३१८ अर्ब  रुख रहेका छन्। प्रत्येक क्यानडियनका भागमा ८,५९३ रुख पर्न आउँछन्।

रुस: वन सम्पदामा रुस अग्रपंक्तिमा आउँछ। रुससँग ८१,४९,३०० वर्ग किमी वन क्षेत्र छ। कुल भू-भागको झन्डै ४९.४० प्रतिशत वनले ओगटेको रुसमा रुख संख्या भने ६४१ अर्ब रुपैयाँ छ। प्रत्येक रुसीको भागमा ४४६१ रुख पर्न आउँछन्।

पृथ्वीमा पर्यावरण सन्तुलनका लागि वन जंगलको अपरिहार्यता सर्वविदित नै छ। यति मात्र किन? प्रत्येक मानिसले श्वास फेर्न अक्सिजनको आवश्यकता पर्छ। पृथ्वीमा अक्सिजनको ठूलो श्रोत रुख हो। रुखले अक्सिजन दिने मात्र होइन, बरु वातावरणमा रहेको कार्बन डाइअक्साइड सोसेर प्रकृतिमा ग्रीन हाउस ग्यास वृद्धि हुन रोक्छ।

रुखबिना जीवनको कल्पना गर्न सकिन्न।

विश्वभर बाँकी रहेका ३०४० अर्ब रुखको तीव्रताका साथ दोहन भइरहेको छ। एक अध्धयन अनुसार विश्वमा प्रत्येक वर्ष १५०० अर्ब रुख काटिन्छ। यस क्रममा ५०० अर्ब नयाँ रुख रोपिने काम हुँदै छ। समग्रमा  प्रतिवर्ष पृथ्वीबाट  १००० अर्ब  रुख लोप भइरहेका छन्। यस्तै स्थिति रहिरहेमा आउँदो ३०० वर्षभित्र पृथ्वीबाट रुख नै लोप हुने खतरा बढ्दै गइरहेको छ।

भदौ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्