एक महिनादेखि अस्पतालको फोहोर नउठ्दा सर्वसाधारणको स्वास्थ्य जोखिममा

फाइल तस्बिर

नेपालगञ्ज – नेपालगञ्जका अस्पतालहरुबाट निस्किने फोहोर लामो समयदेखि व्यस्थापन हुन नसक्दा अस्पताल परिसरमा थुपारिएको फोहोरले महामारीको जोखिम बढाएको छ।

अस्पतालहरुले मासिक शुल्क दिएर निजी संस्थामार्फत फोहोर फाल्दै आएका थिए। निजी संस्थाले फोहोर फाल्ने ठाउँ नपाएपछि काम रोकेको छ।

‘स्वच्छ नेपाल, हाम्रो अभियान’ नामक संस्थाका प्रमुख भानु भट्टले फाल्ने ठाउँ नै नपाएपछि अस्पतालजन्य फोहोर उठाउन बन्द गरेको बताए।

‘अस्पताल र क्लिनिकहरुले मासिक केही रकम दिन्थे। मैले दैनिक उठाएर फाल्ने गर्दथेँ’, भट्टले भने, ‘अहिले आएर फाल्ने ठाउँ नै नपाएपछि के गर्नु। काम रोक्नु परेको छ। फोहोर फाल्ने ठाउँ खोजिरहेको छु।’

नेपालगञ्जका एक दर्जन अस्पताल तथा प्याथोलोजीहरुबाट दैनिक करिब दुई हजार किलो फोहोर संकलन हुने गर्दछ।

दैनिक बढी मात्रामा फोहोर उत्पादन गर्नेमा नेपालगञ्जको भेरी अञ्चल अस्पताल, नर्सिङ होम, वेष्टर्न, सिद्धार्थ, यशोदा, त्रिपुरा, डा. गोपाल श्रेष्ठको क्लिनिक र प्याथोलोजीहरु रहेका छन्।

एक महिनादेखि अस्पतालहरुको फोहोर उठ्न सकेको छैन। नर्सिङ होमले केही फोहोर चौलिक्का नजिकको आफ्नै जग्गामा लगेर गाडेको थियो। तर पनि दैनिक निस्किने फोहोर परिसरकै एउटा कुनामा थुप्रिएको छ। भेरी अञ्चल अस्पतालको फोहोर अझ छरपस्ट रहेको छ।

फोहोर मैला व्यवस्थापन ऐन २०६८ ले अस्पतालजन्य (हानिकारक) फोहोर जसले उत्पादन गर्छ, उसैले व्यवस्थापन गर्नुपर्ने उल्लेख गरेको छ।

नेपालगञ्जका अस्पतालहरु अहिलेसम्म निजी संस्थालाई केही रकम दिएर व्यवस्थापन गरिरहेका थिए। डम्पिङ गर्ने ठाउँ नै नपाएपछि गडबड भएको छ।

अस्पतालमा थुप्रिएका फोहोर जनजीवनलाई प्रभावित पार्ने खतरा बढेको छ। एक अस्पताल सञ्चालक भन्छन्, ‘पैसा दिन्छु भन्दा पनि फोहोर फाल्ने मान्छे (संस्था) पाएको छैन। धेरै थुप्रिएपछि अलिअलि गर्दै जलाइरहेका छौँ।’

नेपालगञ्जमा ३८ करोडको लागतमा डम्पिङसाइट बनेको छ। त्यसमा अस्पतालजन्य फोहोरलाई ‘इन्ट्री’ छैन। हानिकारक भएकाले अस्पतालजन्य फोहोरलाई अरु फोहोरसँग मिसाउन दिइएको छैन।

एशियाली विकास बैंकले ३८ करोडको लागतमा डम्पिङसाइट बनाइदिए पनि अस्पताल सञ्चालकलाई ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ भनेझै भएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाका सरसफाई शाखाका अधिकृत अशोक केसीले फोहोर मैला व्यवस्थापन ऐनमै अस्पतालहरुले अस्पतालजन्य फोहोर आफै व्यवस्थापन गर्नुपर्ने उल्लेख भएकाले त्यो उनीहरुकै समस्या भएको बताए।

‘अस्पतालका प्रतिनिधिहरु फोहोर फाल्ने ठाउँ मिलाइदिनु पर्‍यो भनेर आएका थिए। हामीले तपाईहरुले आफैले व्यवस्थापन गर्नुपर्छ भन्यौँ’, सरसफाई शाखाका अधिकृत केसीले थपे।

अस्पतालले आफै व्यवस्थापन गर्नुपर्ने भएपनि लामो समयदेखि थुपारेर राख्दा जनजीवनमा असर पर्ने देखिएको छ। अस्पतालहरुले प्लाष्टिकमा पोको पारेर फोहोर राखेका छन्।

भदौ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्