रामलाल श्रेष्ठ
बुवाको मुख हेर्ने दिन

एक कर्मशील पिता, जो सधैँ खेतमै रमाइरहे

१६ वर्ष टेक्नै आँट्दा हो रामलालको शिरबाट बाबुको हात हटेको। पुरानो ठिमीको इनाएटोल, दुई पोखरीको घरमा बाबुले अन्तिम सास फेरेको रामलाललाई राम्ररी याद छ। उनीसँग दुई वष जेठा दाजु पनि थिए। बाबुले दुनियाँ किन छोडेको देखे पनि किन छोडे भन्ने थाहा थिएन, सबैले भन्थे ‘बुबा सुर्ताले गए ।’

रामलाललाई यो कुराको हेक्का भएन, छुट्याउने परिपक्कता थिएन। भर्खर त दुनिया बुझ्ने बेला भएको थियो, बाबुले आफैसँग खेतमा लग्दै दुनियादारी बुझाउँदै थिए, दुई–चार अक्षर चिनाएर, कमाउन सिकाउँदै थिए।

विज्ञापन

तर दैवले एक्कासी आडिला बाबुको साथ चुँडिदियो।

छरछिमेकमा कुरा गर्थे, ‘जग्गा किन्न खोजेका थिए, आफ्नै साथीले फसायो। न जग्गा हात लाग्यो न पैसा।’

बाबु आफू सुर्ताले जाँदा पीरसँगै भार पनि थपिदिए। रामलाल अब छोरा मात्र भएनन्, तीन भाइ र तीन बहिनीकोको जिम्मेवारी पनि सम्हाल्नु पर्ने भयो। दाजु रामगोपाल बाहेक उनको अरु साहारा थिएन। आमा र फुपु, हजुरआमा पनि उनीहरुकै भरमा थिए।

मध्यपुर ठिमीको पुरानो नेवार बस्तीका रामलाल श्रेष्ठका परिवारको आर्यआर्जन गर्ने एउटै स्रोत कृषि थियो। किसान कविताको एक हरफमा भनिएको छ, ‘नगरी काम पुग्दैन खान साँझ र बिहान।’

रामगोपाल र रामलाल बुवा बितेपछि त्यो घरका जिम्मेवार पुरुष भए। जोशिलो युवाअवस्थामा काँधमा परिवारको जिम्मेवारी आइलाग्यो। आमालाई भाइ–बहिनी हुर्काउन, उनीहरुको भविष्य बनाउन सघाउने जिम्मेवारी आइलाग्यो।

रामलालले जे–जे अगाडि आइपर्‍यो, त्यही गर्दै गए, चुपचाप। बोलेर फाइदा पनि त थिएन। केही रहर लागे पूरा गरिदिने बाबु थिएनन्।
दाइ रामगोपाललाई पढ्ने रहर धेरै थियो। घर नजिकैको स्कूलमा जान धेरै जिद्दी गरेको पनि काम लागेन। बुबाले दिएनन्, खेती किसानी सिकाए। त्यो बेला पढाई भन्दा ठूलो कुरा काम थियो।

जब आफै केही गर्न सक्ने भए, तब व्यवहारमा परे। घर व्यवहारबाट उम्कन कहाँ सजिलो छ र ! दाइको यो अवस्थाबाट उनले बुझे अब आफूले चाहेको गर्न सकिँदैन। श्रेष्ठ भन्छन्, ‘बरु मेहनत गरी भाइबहिनीलाई राम्रो बनाउने सोचियो। रहर नै यही भए।’ परिस्थितिले रहरहरुलाई बदलिदिन्छ।

त्यतिबेला उनीहरुको आफ्नै जग्गा थिएन। तल्सिङलाई खेती गरेबापतको खर्च बुझाउनुपर्थ्यो। दुई दाजुभाइले रातदिन एक नभनी खेतमा काम गरे। २०४० सालमा उनको विवाह भयो। घरमा मान्छे थपिएपछि खाने मुख पनि थपिन्छ। झन् जहान परिवार बढ्दै गर्दा काम बढ्नै प¥यो। उनले भाडामा खेत लिन थाले।

श्रेष्ठको सपना अब भाइहरुमा थियो। भाइहरुलाई पढ्न पठाए। भाइहरुले टेस्ट पास गरे पनि एसएलसी उत्तिर्ण हुन सकेनन्। त्यसपछि उनीहरुलाई पनि इलममै लगाए। बहिनीहरुको विवाह भयो।

उनी रात दिन नभनी खेतमा काम गर्दा सोच्थे, छोराछोरीलाई मन लागेको काममा लगाउँछु। पढाउँछु। उनका दुई छोरा र एक छोरी छन्। उनको सोचेको जस्तो पुग्यो पनि, जेठो छोर इन्जिनियर, छोरी सहकारीमा काम गर्छिन् र कान्छो छोरा चिकित्सक भएको छ।

२०४१ सालमा रामलालका जेठो छोरा सुवेन्द्र जन्मिए। अहिले खानेपानी मन्त्रालयमा इन्जिनियर छन्। सुवेन्द्रले बाबुको मेहनतलाई पिँधबाट नियालेका छन्।


रामलालका जेठो छोरा सुवेन्द्र

‘मेरा बाबा माइलो भए पनि बाबाको पाँच दाजुभाइमध्ये कै सबैभन्दा जेठो सन्तान म । घरमा हजुरआमा र फुपु हजुरआमा हुनुहुन्थ्यो। अनि काका काकी। मलाई याद भएदेखि नै मेरो परिवारले खेती गरेको छ।

हामी संयुक्त परिवारमा बस्थ्यौँ, बुबाले भन्नुभए अनुसार, हजुबुवा बित्दा परिवारमा १० जना थिए। पछि हामी २८ जना भयौँ, ३० वर्षसम्म हामी एउटै चुलोमा भात खान्थ्यौँ। कहिले पक्षपात भएन्। दाजुभाइमा कहिले हात हालाहाल भएन।

हजुरबाले फुपु हजुरआमाको विवाह गर्दिनुभएको थिएन, रोगी छन् भनेर। हजुरबा पछि उहाँ नै हाम्रो घरको मूली हुनुभयो। बाबाका दाजुभाइले कमाएको जति उहाँलाई नै बुझाउनु हुन्थ्यो । बाबा–आमासँग बस्न बोल्न त चाड पर्व नै आउनुपर्थ्यो।

नगदेबाली लगाउने चलन आएपछि हाम्रो आर्थिक अवस्था राम्रो हुँदै आयो। नत्र त कमाएको पैसा खान लगाउन नै ठिक्क। पाँच दाजुभाइका १३ जना त बच्चा नै थिए। उनीहरुको लालनपालन, स्कूल लत्ता कपडा भन्दा भन्दै सबै झ्वाम।

मैले बाबाको आङमा कहिले पनि सुकिलो कपडा देखिन, पसिनाले नभिजेको कपडा हुने थिएन। हातका औँला पट्पटी फुटेका हुन्थे, कुर्कुच्चा आँ..परेको हुन्थो। खर्पनमा तरकारी बोकेको देखेको छु, ठिमीबाट तरकारी बोकेर टुकुचा पुगेको पनि देखेको छु। दिनरात मेहनत गर्ने बाबा

आमालाई देख्दा मैले पनि उहाँहरुलाई सघाउन पर्छ भन्ने ठान्थे। हुर्कदै गर्दा बाबा सँगै कोदाली खन्न गए।

कक्षा १० को समय थियो। एक दिन मेरो मामा आएर मलाई धेरै गाली गर्नुभयो र सम्झाउनु भयो। म स्कूलपछि बाबासँगै खेतमा जाने, काम गर्ने गर्न थाले। आमा बालाई सारै चित्त दुखेछ। अलि अलि पढेको म बाबा आमालाई भनेको मान्दिन भन्ने ठानेछन् क्या रे, मामालाई कुरा लगाउनुभएछ। मेरो मामा शिक्षक हुन्। उनले आएर मलाई सम्झाएपछि म पढाईमा अलि सिरियस भएँ ।

एसएलसीको रिजल्ट राम्रो आयो। प्सल टूमा बायोलोजी लिएर साइन्स पढे। डाक्टर बन्ने सपना थियो तर घरको खर्चले धान्दैन भन्ने बुझेको थिए। ख्वप्प कलेजमा इन्जिनियरिङको लागि भर्ना खुलेको थियो। बायोलोजी पढेकोले पनि पढ्न पाउने व्यवस्था रहेछ। मैले पढे। आज यहाँ पुगेको छु।

हामी सानो हुँदा हुनुमन्ते सङ्लो थियो। हामी पौडी खेल्न जाने पनि त्यही हो। मलाई याद छ खेतमा पानी लगाएर फर्कदा बाबा लामो माछा उनेको माला ल्याउनुहुन्थ्यो। खेतमा पानीसँगै माछा पनि आउँथ्यो रे।

२०७० सालमा हामी भिन्दै भयौँ, पुरानो घर भएको ठाउँमा दुई घर छन्। नयाँ ठिमी चार दोबाटोमा तीनवटा घर छन्। त्यसपछि आफ्नो व्यवहार आफै सम्हाल्न थाल्यौँ। भाइले मेडिकल पढ्यो। अहिले भक्तपुर अस्पतालमा काम गर्दैछ। म पनि कमाउने भए, विवाह भयो, आफू पनि बाबु भए। बाबाको मेहनत बुझ्छु म।

अब बाबाले खेती किसानी छोडे हुन्छ जस्तो लाग्छ तर मान्नुहुन्न। उहाँको खुसीका लागि पनि हामीले रोक्न मिल्दैन।’


दाजु रामगोपालको साथमा रामलाल श्रेष्ठ

रामलाल ५६ वर्षका भए। खेतमा जोतिएको ४० वर्ष भन्दा धेरै । गर्नु मेहनत त गरिसके, नगरौँ भन्दा पनि मनले मान्दैन उनको । खेतमा हल्किएको साग टिप्दै उनले भने, ‘अहिले त धेरै कम भइसक्यो, हाम्रो खेती गर्ने जग्गा तरकारी बजारलाई दिएका छौँ।’

१० वर्षलाई सम्झौता गरेर रामगोपाल र रामलालले आफ्नो भागको ३–३ रोपनी जग्गा तरकारी बजारलाई दिएका छन्। बजारकर्ताले वर्षमा रोपनीको डेढ लाख दिने र वार्षिक १० प्रतिशतले बढाउने भनेको छ। रामलालले हिसाब गरे, बालीले कमाउने पनि उति नै हो।

उनी भन्छन्, ‘अहिले कमाउन गाह्रो छ।, पहिला खेती गर्ने मान्छे कम थिए, मल, बिउ सस्तो थियो। तर अहिले सबैले सिके, मल बिउ महङ्गो भो।’ औँलामा हिसाब गर्दै उनी सम्झन्छन्, ‘२०४४ सालतिर बखाहाबजारमा हामी १–२ बजे सामान बेच्न पुग्थ्यौँ, व्यापारी चिनेको थियौँ। त्यो बेलामा भारी बोकेर जाने हामी एकैपल्टमा १० हजार कमाउँथ्यौँ। अहिले पनि कमाई नहुने हैन, तर अरु सामानको भाउ बढ्यो। लैजानलाई मोटरसाइकल छ नी तर बजार भाउ छैन।’ त्यसैले आम्दानी हुने बाटो परिवर्तन गर्नुपर्छ भन्छन् सबैले । घरको भाडा पनि आउँछ। तर पनि मेहनत गर्न छोड्न मनले मान्दैन।

मेहनतका ४० वर्षमा उनले तल्सिङको खेत निखने, छोराई डाक्टर, इन्जिनियर बनाए। उनलाई सुकिलो देखिने तरिका पनि आउँछ अहिले । खेतको छेवैमा भएको छाप्रोमा काम गर्दा लगाउने कपडा राखेका छन्। काम गर्न खेतमा जाँदा लुगा फेर्छन्। काम सकेपछि आएर इनारको पानीले हात धुन्छन्।

यतिका वर्षमा परिपर्तन भएर के के भइसक्यो, उनले आफूलाई हेर्ने मौका पाएनन्। माटोसँग एकोहोरो प्रेम गरिरहे। रहर पनि यहि नै छ।
तर पनि शिरको कपाल झर्न थालेको छ, गालामा चाउरी देखिन थालेको छ। आँखाले साना अक्षर देख्न सकस हुन्छ। तर पनि चाडबाडमा बाहेक अरु बेला खेतमा नै टिफिनमा भात खाने उनको दैनिकी फेरिएको छैन। उनी फेर्न चाहँदैनन्।