म्यानचेस्टर युनाइटेड असफल एलेक्स सान्चेज लोनमा इन्टर मिलान

म्यानचेस्टर युनाइटेडका खेलाडी एलेक्स सान्चेज लोनमा इटालियन क्लब इन्टर मिलान गएका छन् । चिलेका सान्चेज एन्टोनिओ कोन्टेको सिरी ए क्लब इन्टर मिलानमा सन् २०२० को जुन ३० सम्म लोनमा रहने छन् ।

३० वर्षका सान्चेजले इन्टर मिलानमा म्याचेस्टर युनाइटेडमा रहँदाका साथी खेलाडी रामेलु लुकाकुसँग पुनः खेल्न पाउने भएका छन् । लुकाकु यो सिजन ७४ मिलियन पाउण्डमा इन्टर मिलान गएका छन् ।

एलेक्स सान्चेज युनाइटेडमा सबैभन्दा बढी पारिश्रमिक लिने खेलाडी हुन् । सन् २०१८ को जनवरीमा आर्सनलबाट युनाइटेड आएका उनले त्यहाँ खासै राम्रो प्रदर्शन गर्न सकेनन् । उनले १९ महिनाको युनाइटेड बसाईमा मात्रै ४५ खेल खेले र मात्रै पाँच गोल गरे ।

आर्सनलमा साढे तीन वर्ष रहँदा उनले ७० भन्दा बढी गोल गरेका थिए । युनाइटेड आउनु पूर्वको सिजनमा उनी पिएफए प्लेअर्स प्लेअर अफ द इयरका लागि मनोनामा परेका थिए ।

सो सिजन उनले ३० गोल गरेका थिए भने १७ गोलमा सहयोग गरेका थिए । उनले चिलेबाट दुई पटक कोपा अमेरिका फुटबलको उपाधि जितेका छन् ।

भदौ १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्