मेस्सीसँग डिनर गर्ने रोनाल्डोको चाहना

यो समयका दुई सुपर स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई विश्वव्यापी रुपमा सञ्चारमाध्यम तथा समर्थकहरुले प्रतिद्वन्दीको रुपमा प्रस्तुत गर्छन् । तर यी दुई ‘पावर हाउस’ भेट हुँदा एकअर्कासँग निकै सहज देखिने गरेका छन् ।

रोनाल्डो र मेस्सीबिच बिहीबार राति युरोपको वर्ष खेलाडी अवार्डको क्रममा भेट भयो । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले हरेक वर्ष प्रदान गर्ने वर्ष खेलाडीको अवार्डका लागि रोनाल्डो, मेस्सी र भर्जिल भान डिजेक अन्तिम मनोनयनमा थिए ।

अवार्ड जिते भान डिजेकले । तर चर्चा रोनाल्डो र मेस्सीबिचको भेट तथा उनीहरुको कुराकानीको भएको छ । रोनाल्डो र मेस्सी सँगै बसेका थिए ।

आफूहरुको सम्बन्धबारे बोल्दै रोनाल्डोले भने, ‘हामी दुईले यो मञ्च पछिल्लो १५ वर्षदेखि साझा गरिरहेका छौँ । दुई खेलाडीले लगातार १५ वर्षसम्म मञ्च साझा गर्नु सामान्य कुरा होइन ।’

उनले भने, ‘हामी दुईबिच राम्रो सम्बन्ध छ । तर अहिलेसम्म हामी दुई (मेस्सीसँग) ले डिनर गर्ने मौका पाएका छैनौँ । म चाहन्छु मेस्सीसँग डिनर गरुँ ।’

रोनाल्डो बोलिरहँदा मेस्सी मुस्कुराइरहेका थिए । रोनाल्डोले भने, ‘मेस्सीले मलाई उर्जा दिन्छन्, मैले उनलाई साथ दिने प्रयास गर्छु ।’

भदौ १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्