बुवाको मुख हेर्ने दिन र कुशे औँसी

घरमा कुश किन राख्ने ?

काठमाडौँ – भाद्र कृष्ण औँसी हिन्दु धर्मावलम्बिहरुले विशेष रुपमा मनाउँछन् । यो दिन दुई विशेष कार्यक्रम गरिन्छ,

१. घरमा कुश भित्राउने
२. बुवाको मुख हेर्ने

विज्ञापन

घरमा किन कुश राख्ने ?


हरेक वर्ष भाद्र कृष्ण औँसीको दिन घरमा राखिने कुश धार्मिक आस्था अनुसार चोखो वनस्पति हो। यसको आयुर्वेदिक तथा औषधीय महत्व पनि छ। तर नेपालका धेरै पर्वहरु धार्मिकतासँग जोडिएको हुनाले कुश अरु वनस्पतिको दाँजोमा चोखो मानिन्छ। यसलाई घरमा राख्नु उत्तम मानिन्छ।

प्रा. डा आमोदवर्धन कौण्डिन्न्यायनका अनुसार औँसीमा काटिएको कुश एक महिनासम्म पवित्र हुन्छ। भाद्र कृष्ण औँसीमा काटिएको कुश एक वर्षसम्म पवित्र मानिन्छ। सबै ठाउँमा कुश नपाइने र दिनहुँ काटेर राख्न संभव पनि छैन। त्यसैले औँसीको दिन यो काम गरिन्छ। उनी भन्छन्, ‘कुश घरमा राख्दा ‘इष्ट सिद्धि हुने हुन्छ। सकारात्मक सोचका लागि पनि कुश राख्ने गरिन्छ।’

कुशको महत्व र उपयोगिताका बारेमा श्रीमद्भागवत, विष्णु पुराण, अथर्ववेद, गरुड पुराण तथा गीतमा पनि उल्लेख गरिएको छ। कुशको प्रयोग गर्ने पर्वलाई सँस्कृतमा यसरी व्याख्या गरिएको छ,

‘स्नाने दाने जपे होमे स्वाध्याये पितृकर्मणि ।
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।

अर्थात स्नान, दान, जप, होम, पाठपूजा, पितृकार्य तथा सन्ध्या आदि गर्दामा कुश लिएर गर्नुपर्छ। त्यसैले वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुले यो वर्षलाई उत्सवको रुपमा मनाउँदै आएका छन्।

अरु वनस्पतिहरु काश, शिरु, दूबो, जौ, गहूँ, बाबियो, सुन, चाँदी, तामा सँगै कुशलाई समावेश गर्दा दर्भ भनिन्छ। जसमा कुशको विकल्पमा अरु खोजिन्छ । कुशे औँसी कै दिन कुश भित्राउनुको अर्थ चाहिँ अरु दिन ल्याएको कुश एक दिनको लागि मात्र चोखो हुन्छ।

बुवाको मुख हेर्ने दिन


धार्मिक मान्यताले प्रत्येक औँसीमा स्वर्गीय भएका प्रति सम्मान स्वरुप श्राद्ध गर्नुपर्छ भन्छ। पितृलाई भोजन गराउनको लागि औँसी उपयुक्त मानिन्छ। दिवंगत नभएका पितालाई पनि योग्यताले भ्याएसम्मको सामान जोडि सम्मान गर्नु पर्छ।

हामी संसारमा हाम्रा मातापिता मार्फत आएका हौँ। आमा सृष्टिकर्ता भइन् भने बाबा पालनकर्ता हुन्। कौण्डिन्यायन भन्छन्, ‘जन्मिएर मात्र हुँदैन, पालन नगरी त्यसको अस्तित्व हुँदैन। जिउँदो हुँदा बाबो अस्तित्वको आभास गराउन र झकझकाउन विशेष दिन आवश्यक परेकोले यो दिन बाबुको मुख हेर्ने दिन भयो।’

सँस्कृतिशिरोमणि हरिराम जोशी भन्छन्, ‘व्यवहारिक जीवनमा हामीले ४ ओटो देवतालाई पूजा गर्नुपर्छ।

१) मार्तदेवो भव,
२) पितृदेवो भव,
३) गुरु देवो भव,
४) अतिथि देवो भव,

आमाबिना अस्तित्व रहदैन, र बाबुबिना त्यो पूर्ण हुँदैन।’

आमा र बाबु एक अर्काका परिपूरक हुन्, त्यसैले बाबाको महत्व अनि उनलाई पुज्ने कुरा आमाको गाथासँगै जोडिएर आउँछन्। जोशी भन्छन्, ‘अथर्ववेदमा आमाको वर्णन गरिएको छ, जहाँ आमा हुन्छन्, त्यहाँ बाबु हुन्छन्।’

दिनहुँ बाबा आमालाई ढोग गर्नुपर्छ भन्ने चलन रहिआएको छ, यो क्रियाकलापले बाबु आमाप्रतिको सम्मान दर्शाउँछ। तर समयले अहिले बाबा आमासँग साथ बस्न नदिने भएकोले वर्षमा एक पल्ट यस्तो पर्व आउनु राम्रो भन्छन् जोशी। उनी पछिल्लो समय बदलिँदै गएको आधुनिक समाजमा यस्ता पर्वको महत्व झनै बढ्ने बताउँछन्।

शास्त्रले पितालाई पुज्नुपर्छ भनेको भएपनि नेपाली सँस्कृतिमा यो चलन नेवार जनसमुदायबाट प्रभावित भएको मानिन्छ। कौण्डिन्यायनका अनुसार अहिले पहाड पर्वतका आर्य समुदायमा पनि बाबुको मुख हेर्ने चलन बढेको छ तर यो सँस्कृति उपत्यका भित्रका नेवार समुदायसँग प्रभावित छन्।

यी दुई फरक कर्म एकै दिन हुन्छन्। दुवैको आ–आफ्नै महत्व छ, तर यो दुई एकै दिन किन पर्छन् त्यसको यही काराण छैनन्। कौण्डिन्यायन भन्छन्, ‘परम्परामा एउटा औँसीलाई समात्नु थियो, त्यो कर्म गर्नका लागि। त्यही दिन पर्‍यो। यो संयोग हुन सक्छ।

भदौ १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू