दैलेखका लागि लगिएका गाई सुर्खेतमै मारिए, जिम्मेवार को?

नेपालगञ्जको कान्जीहाउसबाट ट्रकमा दैलेख लैजाँदै गरेका गाई/ फाइल तस्बिर

नेपालगञ्ज– नेपालगञ्जबाट दैलेख लगिएका गाई सुर्खेतको कटकुवा जंगलमा मृत भेटिएका छन्। जंगलमा कम्तीमा २३ वटा गाई मरेका छन् भने धेरै घाइते अवस्थामा छन्।

गयराति नेपालगञ्जबाट २ सय ९१ वटा गाईलाई आठ वटा ट्रकमा राखेर दैलेखको शीरस्थान लगिएको थियो। शीरस्थान, नाबीस्थान, पादुका, धुलेश्वर, कोटिला आसपासमा गाईको माग भएकाले त्यहाँ पठाउने कुरा लामो समयदेखि चलिरहेको थियो।

गाई व्यवस्थापनका सवालमा हुने बैठकहरुमा मेयर डा. धवलशमशेर राणा, कार्यकारी अधिकृत हरि प्याकुरेलले यस्तो जानकारी दिने गरेका थिए।

दैलेख लैजाने भनेर लगिएका गाईलाई किन सुर्खेतको जंगलमा भीरबाट धकेलेको भन्ने कुरा के हो? प्रश्नैप्रश्न उब्जिएपछि नेपालगञ्ज उपमहानगरपालिकाले आकस्मिक बैठक डाकेको छ।

बैठकले वास्तविकता बाहिर ल्याउने सूचना अधिकारी शरद पौडेलले जानकारी दिए। उता, सुर्खेतका कार्यवाहक प्रहरी प्रमुख डिएसपी रवि रावलले घटनाबार अनुसन्धान गरिरहेका जानकारी दिएका छन्।

नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी पौडेलले ट्रकमा लैजाने क्रममा केही गाईको मृत्यु भएको र केही बिरामी गाई मर्ने अवस्थामा रहेपछि ट्रकबाट झारेर सडकछेउमा छोडिएको प्रारम्भिक जानकारी आएको बताए।

एउटा ट्रकमा ३८ वटासम्म गाई कोचेर लगिएको थियो। ट्रकको महँगो भाडा भएकाले जतिसक्दो धेरै कोचेर लगिएको थियो।

नेपालगञ्जमा यतिबेला मेयर राणा, उपमेयर उमा थापामगर, प्रशासकीय अधिकृत प्याकुरेल जिल्लामा छैनन्। कार्यवाहक मेयरको जिम्मा २ नम्बर वडाका अध्यक्ष सुनिल हमाललाई दिइएको छ।

ट्रक चालकले दैलेख पु¥याउने भनिएको गाईलाई कटकुवा जंगलमा छोडेर फर्किएको सूचना अधिकारी पौडेलले जानकारी दिए। कट्कुवा जंगलदेखि कम्तीमा १० किलोमिटर माथि मात्रै दैलेखको सीमाना पर्छ।

सुर्खेतका डिएसपी रावलले पाँच वटा ट्रकलाई नियन्त्रणमा लिएको बताए। उनले अनुसन्धानपछि गौहत्यामा मुद्दा चलाउने बताए। ‘यसमा को–को फस्छन्, अनुसन्धान भइरहेको छ, डिएसपी रावलले भने।

नेपालगञ्ज–२१, बिर्तामा रहेको कान्जीहाउसमा रहेका गाईलाई व्यवस्थापन गर्न गाह्रो भएपछि उपमहानगरपालिकाले केही महिनादेखि दैलेखमा गाई, बाछाबाछीको माग आएको भन्दै पठाउने तारताम्य मिलाइरहेको थियो।

यही कान्जीहाउसमै राख्दा पनि दैनिकजसो नै गाई मरिरहेका थिए। गाई मरिरहेको थाहा पाएपछि आर्य समाज, नेपालगञ्ज ग्यालरीका केही युवाले केही महिनादेखि नियमित रुपमा घाँस खुवाउने अभियान चलाएका थिए।

५०/६० वटा गाईलाई राख्न बनाएको कान्जीहाउसमा ३ सय ९३ वटासम्म गाई राखिएको थियो। जिल्लाका सडकमा अझै एक हजार चार सय बढी गाईहरु रहेका छन्।

नेपालगञ्जमा भारतबाट दैनिक जसो गाई आइरहेका छन्। जिल्लामा आठ वटै स्थानीय तहले पैसा हालेर ठूलो गौशाला बनाउने निर्णय भइसकेको छ।

भदौ १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्