युएस ओपन टेनिस

रोजर फेडेरर चौथो चरणमा, केई निशिकोरी बाहिरिए

रोजर फेडेरर युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । बेलाती खेलाडी ड्यान इभान्सलाई पराजित गर्दै स्वीस फेडेररले चौथो चरणमा स्थान पक्का गरेका हुन् ।

३८ वर्षका फेडेररले इभान्सलाई ६–२, ६–२ र ६–१ को सेटमा पराजित गरेका हुन् । यसअघिका दुई खेलमा सुरुका सेट गुमाएर त्यसपछिका सेटमा पुनरागमन गरेका तेस्रो बरियताका फेडेररले तेस्रो चरणको खेलमा सबै सेटमा आफ्नो दबदबा कायम गरेका हुन् ।

पाँच पटकका विजेता फेडेरर गएको वर्ष अन्तिम १६ बाटै बाहिरिएका थिए । उनले चौथो चरणमा १५ औँ बरियताका डेविड गोफिनसँग प्रतिस्पर्धा गर्ने छन् ।

एलेक्स डी मिनाउर

यसैबिच सातौँ बरियताका जापानी खेलाडी केई निशिकोरी भने तेस्रो चरणबाटै बाहिरिएका छन्।

उनलाई २० वर्षे अस्ट्रेलियन खेलाडी एलेक्स डी मिनाउरले ६–२, ६–४, २–६ र ६–३ को सेटमा पराजित गरेका हुन् । एलेक्स कुनै पनि ग्राण्डसलामको चौथो चरणमा प्रवेश गरेको यो पहिलोपटक हो ।

भदौ १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्