रोनाल्डो भर्सेज मेस्सी समिकरण फेरिएर रोनाल्डो र मेस्सी

रोनाल्डो–मेस्सी मित्रताकाे किस्सा

विश्व फुटबलका दुई महान खेलाडीबिचको उत्कृष्टताको होड शायद उनीहरुमा भन्दा समर्थकहरुमा छ । पछिल्लो एक दशक भन्दा बढी समयदेखि विश्व फुटबलमा चर्चाको शीर्षस्थानमा रहेको नाम हो, क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी ।

पोर्चुगलको स्पोर्टिङ्ग लिस्बोनबाट सुरु भएको रोनाल्डोको व्यवसायिक फुटबल यात्रा इंग्ल्याण्डको म्यानचेस्टर युनाइटेड, स्पेनको रियल मड्रिड हुँदै हाल इटालीको युभेन्टससम्म पुगेको छ । मेस्सी भने सुरुदेखि नै एउटै क्लबमा छन् र शायद खेल जीवनको अन्त्य पनि बार्सिलोनाबाटै गर्ने छन् ।

यी दुई खेलाडी जहाँ जस्तो अवस्थामा रहे पनि तुलना नभएको क्षण हुँदैन । रोनाल्डोका समर्थकलाई मेस्सी भन्दा माथि लाग्छ आफ्ना प्रिय खेलाडी ।

मेस्सीका फ्यानलाई रोनाल्डो भन्दा कता हो कता अलौकिक लाग्छ आफ्ना आइडल । यहि प्रेमका कारण विश्वभरका समर्थक बाँडिएका छन् दुई चिरामा एकातर्फ रोनाल्डो कित्ता छ, अर्कोतिर मेस्सी ।

दुई कित्तामा विभाजित भए पनि सबै फुटबल प्रेमीलाई थाहा छ कि दुवै खेलाडी यो समयका मात्रै होइनन्, विश्व फुटबल इतिहासकै सर्वकालीन महान खेलाडी हुन् ।

दुवैको खेल कौशलले फुटबलको रोमाञ्चकताको उचाई बढाउँछ । र पनि आफ्नो मन परेको मान्छेलाई अर्को भन्दा माथि राख्ने मन भइरहन्छ । यहि कारण हो, दशक भन्दा लामो समयदेखि रोनाल्डो भर्सेज मेस्सी बनेको ।

हुन पनि पछिल्लो दशक गोल संख्या होस् या विश्वको उत्कृष्ट फुटबलरले पाउने बालोन डी’ओर या फिफा वर्ष खेलाडी अवार्ड होस् ती सबैमा रोनाल्डो भर्सेज मेस्सी नै भयो ।

अवार्डका लागि मत दिनु पर्नेहरुले यी दुई खेलाडी मध्येबाट नै चुन्नु पर्ने भयो । गएको वर्ष लुका मोर्डिकले बालोन डी’ओर जितेर एक दशकदेखिको मेस्सी–रोनाल्डो क्रम भंग गरे । तर उनीहरु प्रतिस्पर्धाको घेराबाट बाहिर भने छैनन् र अझै पनि रहने संकेत देखिएको छैन ।

दुवैले पाँच–पाँच पटक बालोन डी’आर जितेका छन् । उनीहरुको खेल तथा गोल संख्यामा पनि तुलना हुने गरेको छ । मेस्सी भन्दै झण्डै तीन वर्षले जेठा रोनाल्डो गोलको संख्यामा केही अघि छन् ।

रोनाल्डोले क्लब र देशका लागि गरी हालसम्म ६८९ गोल गरेका छन् भने मेस्सीको गोल संख्या ६७१ छ । रोनाल्डोले हालसम्म ९६३ खेल खेलेका छन् भने मेस्सीले ८२३ खेलमा सहभागिता जनाएका छन् ।

क्लबबाट गरेको गोल संख्यामा भने मेस्सी अघि छन् । मेस्सीले ६०३ तथा रोनाल्डोले ६०१ गोल गरेका छन्।

राष्ट्रिय टिमबाट गरेको गोलमा रोनाल्डोको पल्ला भारी छ । उनले पोर्चुगलका लागि हालसम्म ८८ गोल गरेका छन् । मेस्सीले अर्जेन्टिनाको जर्सीमा ६८ गोल गरेका छन् । कीर्तिमानहरुमा उनीहरुको होड उस्तैछ । यी सबैले रोनाल्डो भर्सेज मेस्सीको समिकरण बनायो ।

समिकरण फेरिए जस्तो लाग्दैछ


फुटबलसँग जोडिएर आउने दुई नाम रोनाल्डो र मेस्सीको समिकरण उनीहरुका समर्थकका कारण रोनाल्डो भर्सेज मेस्सी बन्यो । अझ रोनाल्डो रियल मड्रिड गएपछिका ९ वर्ष (गएको वर्ष इटालियन सिरी ए क्लब युभेन्टस जानु पहिलेसम्म) मेस्सी र उनीबिचको प्रतिस्पर्धात्मक होडले खेलको रौनक नै उच्च बनायो ।

तर अब समिकरण परिवर्तन भए जस्तो लाग्दैछ । रोनाल्डो भर्सेज मेस्सी अब रोनाल्डो र मेस्सी बन्न लागेको देखिँदै छ ।

यसको आधार तय भयो बिहीबार राति मोनाकोमा आयोजित युरोपको वर्ष खेलाडी अवार्ड तथा च्याम्पियन्स लिगको ड्र सर्वाजनिक समारोह । युइएफए वर्ष खेलाडी अवार्डका लागि रोनाल्डो र मेस्सीसँगै भर्जिल भान डिजेक अन्तिम मनोनयनमा थिए ।

अवार्ड रोनाल्डो र मेस्सीलाई पछि पारेर भान डिजेकले जिते । तर समारोहको सबै चमक रोनाल्डो र मेस्सीका कारण भयो । एकअर्काका गम्भीर प्रतिस्पर्धीका रुपमा लिइने रोनाल्डो र मेस्सी ‘अगल–बगल’ मा बसेनन् मात्रै रमाइलो गफगाफ पनि गरे ।

रोनाल्डो र मेस्सी समिकरण अझ त्यो बेला बलियो रुपमा तयार भयो, जब ती दुई महान खेलाडीले सहज रुपमा एकअर्काका बारेमा कुरा गरे । मेस्सीले रोनाल्डोसँगको सम्बन्ध र रोनाल्डोले मेस्सीसँगको सम्बन्ध तथा प्रतिस्पर्धाबारे सहज रुपमा बताए ।

यहाँसम्मकी रोनाल्डोले मेस्सीसँग डिनर गर्ने प्रस्ताव नै गरे । रोनाल्डोको डिनर प्रस्तावमा मेस्सी मुस्कुराए । पूरै हल गुञ्जाएमान भयो । दुई महान खेलाडीले प्रतिस्पर्धालाई पनि मित्रताको अतुलनीय माध्यमका रुपमा प्रस्तुत गरे ।

यसपछि पनि रोनाल्डो–मेस्सी समर्थकमा पूरै रुपमा महानताको होड सकिएको छैन । सामाजिक सञ्जालहरुमा रोनाल्डोको डिनर प्रस्तावको मजाक बनाइएका पनि छन् ।

तर फुटबल विश्लेषक तथा समग्र फुटबल प्रेमिहरुका लागि भने रोनाल्डो भर्सेज मेस्सीको समिकरण रोनाल्डो र मेस्सी बन्दै गरेको देखेर अलौकिक खुशी सञ्चार पक्कै भएको हुनु पर्छ ।

भदौ १४, २०७६ मा प्रकाशित