सुर्खेतमा छोडिएका गाई फिर्ता

नेपालगञ्ज – नेपालगञ्जदेखि दैलेख लैजाने भनेर सुर्खेतमा छोडिएका गाईलाई फिर्ता ल्याइएको छ । सुर्खेतको कट्कुवा जंगलमा अलपत्र छोडिएका गाईलाई पुनः नेपालगञ्ज ल्याइएको हो । चार वटा ट्रकमा राखेर ६८ वटा गाई नेपालगञ्ज ल्याइसकिएको छ भने अरु ल्याउने काम भइरहेको छ ।

नेपालगञ्जदेखि रातारात २ सय ९१ वटा गाई, बाछाबाछीलाई दैलेख लैजाने भन्दै सुर्खेतको कट्कुवामा लगेर छोडिएपछि र दुई दर्जनबढीको मृत्यु भएको पाइएपछि सर्वत्र आलोचना भएको छ । गाईलाई जंगलमा लगेर मारिएको भन्दै सर्वसाधारणदेखि शहरी विकास मन्त्री मो. इस्तियाक राईसम्मले लिखित रुपमै कारबाहीको माग गरेका छन् ।

दैलेखको श्रीस्थानमा लैजाने भन्दै लगिएपनि त्यहाँ त्यति धेरै गाई पाल्ने मान्छे त के राख्ने ठाउँसम्म नरहेको श्रीस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केशव थापाले बताए । उनका अनुसार, नेपालगञ्जदेखि गाई ल्याउने विषयमा कुनै लेखापढि भएको छैन ।

चौतर्फी आलोचना र कारबाहीको मागहरु भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले कट्कुवा जंगलमा छोडिएका गाईलाई पुनः कान्जीहाउसमै ल्याएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले गाई फिर्ता ल्याउने काम भइरहेको जानकारी दिए । ‘केही आइसके । अरु ल्याउने काम भइरहेको छ, प्रवक्ता रिजालले भने ।

गाईलाई भीरबाट खसाएर मारिएकोसम्म कुराहरु प्रहरीलाई कोट गरेर आएपछि नेपालगञ्ज उपमहानगरपालिकाका अधिकारीहरु तनावमा परेका छन् । यतिबेला उपमहानगरपालिकाका मेयर, उपमयर, प्रशासकीय अधिकृत कोही पनि छैनन् । मेयर डा. धवलशमशेर राणा काठमाडौंमा छन् र आइतबार आउँदैछन् ।

उपमेयर उमा थापामगर पोखराबाट नेपालगञ्जका लागि हिडिसकेकी छन् । कार्यवाहक मेयर सुनिल हमालको अध्यक्षतामा बसेको बैठकले छानबिन समिनि गठन गर्ने निर्णय गरिसकेको छ ।

प्रवक्ता रिजालले आज नै उपमेयर थापा आइसकेपछि छानबिन समिति बन्ने जानकारी दिए । गौहत्याको विषयलाई लिएर नेपालगञ्जमा केहीले प्रदर्शन गरेका छन् । सुर्खेतमा पनि प्रदर्शन गरिएको छ ।

भदौ १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्