सपनाको क्षितिज फराकिलो हुनुपर्छ। त्यस्तै कर्मको दायरा पनि। कर्मको मार्गमा नथाकी लाग्नेहरुले नदेखेको सपनाहरुले पनि सजीव विपनाको आकार लिन सक्छन्।
या भनौँ यात्रा थालनी गर्दा कल्पनामा पनि नरहेको गन्तव्यमा पुग्छन् उनीहरु। यस्तै सजीव विपना बाँचिरहेका वा अति ‘अलौकिक’ गन्तव्यमा रमाएका कर्मधनी हुन्, प्राध्यापक डा. दिवाकर आचार्य।
प्राज्ञिक क्षेत्रका सेवाकर्मी हुन् या विद्यार्थी–सबैको रहरको गन्तव्य हो, अक्सफोर्ड विश्वविद्यालय। बेलायतको अक्सफोर्ड संसारका उत्कृष्ट विश्वविद्यालय मध्ये शीर्ष स्थानमा आउँछ। डा. दिवाकर आचार्य यही सर्वोत्कृष्ट विश्वविद्यालयका प्राध्यापक हुन्। उनी पछिल्लो तीन वर्ष (सन् २०१६ को अप्रिल) देखि अक्सफोर्ड विश्वविद्यालयमा अध्यापन गरिरहेका छन्।
पशुपति क्षेत्रमा रहेको तत्कालीन शारदा निम्न माध्यामिक विद्यालयबाट अध्ययन प्रारम्भ गरेका आचार्यले अक्षर चिन्ने यात्रा सुरु गर्दा र त्यसपछिका धेरै वर्षसम्म पनि अक्सफोर्डका बारेमा सोचेका थिएनन् या कल्पनामा पनि थिएन। तर निरन्तरको लगन र थकान नमानी गरेको कर्मले हाल उनलाई विश्वकै प्रतिष्ठित विश्वविद्यालयको प्रतिष्ठित प्राध्यापकका रुपमा स्थापित गराएको छ।
एक संस्कृत अध्यापकको अक्सफोर्ड यात्रा
प्रा.डा. आचार्य संस्कृतका अध्यापक हुन्। अक्सफोर्ड विश्वविद्यायलको साउथ एण्ड इनर एसिया स्टडिज (यस अन्तर्गत भारतीय सभ्यता अन्तर्गत पर्ने संस्कृत संस्कृति, धर्म तथा संस्कारहरु, चिनियाँसहित मंगोलियन सभ्यता र संस्कृतिसहितको अध्ययन–अध्यापन हुन्छ) मा इस्टर्न रिलिजन एण्ड एथिक्स (पूर्वीय धर्म तथा नीति) का प्राध्यापक हुन् डा. आचार्य।
शारदा निम्न माध्यामिक विद्यायलपछि रानीपोखरीमा संस्कृत हाइस्कुलबाट एसएलसी उत्तीर्ण गरेका उनले वाल्मीकि विद्यापीठबाट स्नातकसम्मको अध्ययन पूरा गरे। त्यसपछि बनारस गएर स्नातकोत्तरको पढाई सकी नेपाल फर्किएपछि झण्डै सात वर्ष वाल्मीकि विद्यापीठमा अध्यापन गरे।
प्रारम्भिक शिक्षाको चरणमा उनले आध्यात्मिक जगतका बलियो धरोहर श्यामचेतन बाबाको सानिध्य पाए, पशुपति परिसरमा। धर्म, संस्कार, संस्कृति र परम्पराको उच्चतम र परिष्कृत संयोग उनले त्यसैबेला देख्न पाए, नबुझे पनि। तर जिन्दगीमा त्यसलाई बुझ्ने र पछ्याउने कौतुहल उनमा रहिरह्यो।
संस्कृति, भाषा–साहित्य तथा त्यसका विज्ञानहरुको अध्ययन गरेका दिवाकरले विद्यावारिधिसँगै सोही क्षेत्रको अनुसन्धानको अवसर प्राप्त गरे र जर्मनीको ह्यामबर्ग विश्वविद्यालय गए। पाँच वर्षको जर्मनी बसाइपछि उनी जापानको क्योटो विश्वविद्यालयमा गए। त्यहाँ १० वर्ष प्राध्यापन गरेपछि उनको जीवनले अत्यन्तै महत्वपूर्ण मोड लियो। अक्सफोर्ड विश्वविद्यालयको यात्रा तय भयो।
उनी अहिले अक्सफोर्डमा उच्च तहको अध्ययनका लागि पुगेका विश्वका विभिन्न देशका विद्यार्थीलाई नेपाली सभ्यतासँग जोडिएको संस्कृत संस्कृतिबारे अध्यापन गराउँछन्।
कान्लाको खेती जस्तो अध्ययन–अध्यापन
हुर्किँदै गर्दा नित्य कर्मको कडा नियम सिकेका आचार्यले सुरुमा पिताकै जोरबलले संस्कृतको अध्ययन गरे। बिस्तारै त्यसमै उनको मन रमायो। यही अध्ययन र कर्मले विद्वानहरुसँगको संगत पनि दिलायो।
सामान्य सपना लिएर बाँचेका आचार्यले असाधारण प्राज्ञिक यात्राको बाटो समाते। जर्मनीमा अनुसन्धान–अध्ययन गरे, अध्यापन गरे। जापानमा उनले ‘संस्कारी’ विद्यार्थी पाए। बेलायतमा ‘साथी’ जस्ता विद्यार्थीको साथ पाएका छन्। यो सबै संस्कृतले दिएको हो उनलाई।
नेपालदेखि जर्मनी–जापान हुँदै अक्सफोर्डसम्मको प्राज्ञिक ‘जर्नी’ को क्रममा उनले बुझेको कुरा हो–यी सबै ठाउँमा अध्ययन–अध्यापनलाई त्यसमा संलग्नहरुले आफ्नो पहिलो र एक मात्र कार्यका रुपमा अपनाएका हुन्छन्।
तर नेपालमा भने अध्ययनलाई विद्यार्थीले ‘कान्लाको खेती’ जस्तो बनाउने गरेका छन्। अर्थात मूल बाली अर्कै लगाउने, त्यसमा बचेखुचेका ठाउँमा अरु बाली पनि लगाउने परम्परा जस्तै अध्ययन परम्परा छ जस्तो लाग्छ उनलाई।
नेपालका विश्वविद्यालयहरुमा अधिकांश अध्यापकहरुले पनि त्यति प्राथमिकता दिएर काम गर्ने गरेको देखिँदैन। यो सबै कुरा उनले मिथ्यामा भनेका होइनन्, उनलाई नेपालमा अध्ययन तथा अध्यापन गरेको अनुभव र बाहिरका विश्वविद्यालयमा अध्यापन गरेको तथा त्यहाँका विद्यार्थीले गरेको मेहनतले यो निष्कर्षमा पुर्याएको हो।
डा. आचार्यले तुलनात्मक अनुभव सुनाए, ‘यहाँका विश्वविद्यायालमा हुने अध्ययन–अध्यापन अक्सफोर्डमा हुने सोही तहको अध्ययन–अध्यापनको १० देखि १५ प्रतिशत मात्रै हो।’
तर यहाँ सम्भावना भने प्रवल रहेको र केही (सीमित नै) भए पनि राम्रो प्राज्ञिक प्रयासहरु भने भएका छन्। नेपालको प्राज्ञिक उन्नयनका लागि त्यसलाई बिस्तार गर्नु पर्नेमा उनको जोड छ।
कमजोरी कोट्याउने होइन काम गर्ने योजना
पुरानो सबै खराब हुँदैन र नयाँ सम्पूर्णतः दोष रहित हुन्न। उनलाई पुरानो भनेर मुलधारले बेवास्ता गरेको या पाखा लगाएको संस्कृत संस्कृतिको अध्ययनले विश्वको सबैभन्दा अत्याधुनिक विश्वविद्यालयसम्म पुर्याएको छ। त्यो पनि अध्यापकका रुपमा।
उनलाई आफ्नो ‘जरा’ या फेदको माया छ र उनी यसको बिस्तारका लागि सकारात्मक प्रयास गर्ने मन छ। यही भएर उनीसहित विदेशका विश्वविद्यालयहरुमा रहेका अध्यापकहरु मिलेर नेपालमा इन्टरडिसिप्लेनरी (अन्तरशास्त्रीय) प्राज्ञिक प्रयासको थालनी गर्ने योजना बुन्दै छन् उनी र केही सामान्य कदम चालेका छन् सम्भाव्यताको खोजीमा।
त्यसका लागि पछिल्लो वर्षदेखि उनीहरुले छलफल थालेका छन् र नेपाल आएर विभिन्न विश्वविद्यालय तथा प्राशासनिक निकायसँग त्यसको परामर्श पनि सुरु गरेका छन्।
‘बाहिर रहे पनि हामीलाई देशको माया छ र आखिरमा फर्किने यहिँ हो भन्ने पनि थाहा छ’ डा. आचार्यले भने, ‘त्यसैले यहाँको प्राज्ञिक उन्नतिका लागि अन्तरशास्त्रीय अध्यापनको थालनी गर्न चाहन्छौँ।’
त्यसका लागि आफूहरु वर्षको केही महिना ‘भोलेन्टियर’ गर्न तयार रहेको र केही प्राज्ञिकहरु ‘ब्रेन–गेन’ अन्तर्गत फर्किन तयार रहेको पनि उनले बताए।
उनले यो प्रयासमा चासो दिनुमा एउटा पवित्र ‘स्वार्थ’–आफूले पुस्तौँदेखि सिक्दै आएको संस्कृत संस्कृति र जीवन पद्धति था विज्ञानको बिस्तार गर्नु। आफ्नो सन्तान पुस्तामा यो ज्ञान सञ्चार गर्न नसके यो विधा नै मासिने पो हो कि भन्ने चिन्ताले सक्रिय र आतंकित पनि बनाएको हो उनलाई।
‘संस्कृतलाई भाषाका रुपमा मात्रै बुझियो या कर्मकाण्डी व्यक्ति उत्पादन गर्ने विद्याका रुपमा बुझियो’, डा. आचार्यले भने, ‘तर संस्कृत संस्कार हो, शास्त्र हो। नीति हो। विज्ञान हो। अरु विज्ञानहरुको आधार हो। यसलाई जीवन पद्धतिका रुपमा बुझाउन आवश्यक छ।’