विराटनगरमा वीपी जयन्ती मनाइयो

विराटनगर – नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाको १ सय ५ औं जन्मजयन्तीका अवसरमा विराटनगरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। शनिबार नेपाली कांग्रेस महानगर कार्यसमितिले वीपी जयन्तीका अवसरमा कोशी अञ्चल अस्पतालको सरसफाइ तथा विरामीलाई फलफुल वितरण गरेको छ।

सो क्रममा कांग्रेसका जिल्लाका सभापति डिगबहादुर लिम्बूले वीपीको योगदान र भनाइलाई कांग्रेसले आत्मसात गर्दै अघि बढ्नु पर्नेमा जोड दिएका थिए।

वीपीको विचार आज पनि उत्तिकै सान्र्दभिक रहेको बताएका सभापति लिम्बूले भने, ‘कांग्रेसजन सबै एकढिक्का भएर अघि बढ्नुको विकल्प छैन। यहाँ फुटको राजनीतिबाट बाहिर निस्कदै पार्टी बलियो बनाउन सक्रिय नेतृत्वको आवश्यक्ता रहेको छ।’

त्यसैगरि कार्यक्रममा कांग्रेस नगरका कार्यवहाक सभापति अरुण न्यौपानेले वीपीको कुरालाई आत्मसात गर्दै अघि बढे, कांग्रेसको भोलि सुखद रहेको बताए। यहाँ गुटको राजनीति भन्दामाथि उठेर नेताहरुले काम गर्नुपर्नेमा उनले जोड दिए।

महानगरका मेयर भीम पराजुलीले वीपीको भनाईलाई कांग्रेससँगै नेपाली जनताले बिर्सन नहुने बताएका थिए। महानगरको विकासका क्रममा देखिएका कमीकमजोरीमा खबरदारी गर्नु सुझाव सरसल्लाह दिनु आवश्यक रहेको उनले बताए।

कार्यक्रममा नेपाली कांग्रेसका सचिव मोदराज घिमिरे, प्रदेशसभा सदस्य बिन्दिया कार्की, शान्ता पौडेल लगायतको उपस्थिती रहेको थियो।

तत्कालिन समय करिब १२ वर्ष कारागार जीवन बिताएका कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो। कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गरेका थिए । २०१५ सालमा भएको संसद्को निर्वाचनबाट कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए।

तथापि १०१७ सालमा तत्कालीन राजा महेन्द्र शाहले कोइरालाको सरकारलाई अपदस्थ गर्दै उनलाई २०१७ देखि ०२५ सालसम्म सुन्दरीजलस्थित बन्दीगृहमा थुनेका थिए।

भदौ १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्