आफ्ना बुबालाई सम्झन पनि औँसी नै कुर्नुपर्छ र?

महिनावारी रोकिएर प्रेग्नेन्सी टेस्ट पोजेटिभ देखिएसँगै,

बुबा बन्ने खुसियालीमा प्रफुल्ल हुँदै नाचिएका नाचहरुमा।

विज्ञापन

अनि रानीलाई झैं स्याहार गर्दै जँचाउन आउने प्रसवपूर्व जाँचहरुमा,

बुबालाई देख्छु।

श्रीमतीलाई सुत्केरी ब्यथाले प्रसव कक्षमा कराउँदै गर्दा

बाहिर मुटुले ठाउँ छोड्यो भन्दै गराएका इसिजीहरुमा।

मुटु ठाउँमा आएर पहिलो साससँगै लगाएका बिसिजीहरुमा,

बुबालाई देख्छु।

सन्तान प्राप्तिको खुसीमा बधाईका गुच्छाहरु बटुल्दै गर्दा,

बाबु भएको खुशियालीसँगै आएका ती रौनकताहरुमा।

अनि कर्तव्य र जिम्मेवारी थपिए सँगैका मौनताहरुमा,

बुबालाई देख्छु।

सन्तानको अटेरीपन,चञ्चलताले आमालाई दिक्क बनाउँदा,

उपस्थितिले नै लगाम लगाउन सक्ने अनुशासित घरहरुमा।

नजिक आएको गन्धले किताब समाइहाल्ने डरहरुमा,

बुबालाई देख्छु।

हुर्किने बढ्ने क्रममा बालापनको अराजकता हाबी हुँदा,

अन्जानमा गरिएका उश्रृंखल, कहालीलाग्दो बिठ्याइँहरुमा।

उठेका हात,ताकेका थप्पड, तर नपिटिएका पिटाइहरुमा,

बुबालाई देख्छु।

सन्तानको माया कुनामा लुकाएर अलि कठोर बनेर,

सत्मार्गमा हिँडाउन सम्झाउँदै गरेका मिठा गालीहरुमा,

अनि सफलता हासिल गरेसँगै बजेका तालीहरुमा,

बुबालाई देख्छु।

नतिजा के आउला सोचेर,जायज काम आट्न डराउँदा,

मौन समर्थन जनाउँदै,आँटेका काममा दिने साथहरुमा।

लड्न लाग्दा समाउन दिएका विश्वासिलो हातहरुमा

बुबालाई देख्छु।

जीवनका आवश्यकता र प्राथमिकताबारे प्रष्ट पारेर,

रगत र पसिनाको मूल्य सिकाउँदै हुर्काएको माटोहरुमा।

आफैँ भोगेर सिक्न देखाएका प्रयोगात्मक बाटोहरुमा

बुबालाई देख्छु।

समयको महत्त्व बुझाउँदै, सफलताको सूत्र सिकाउँदा,

शिखर छुने अभिप्रायका साथ देखाइएका आशाहरुमा,

१० सेकेन्डका कल, अनि त्यसका सांकेतिक भाषाहरुमा

बुबालाई देख्छु।

आफू भोकै बसेर दुईचार पैसा भए पनि जोगाउन खोज्दा,

हामी जाने महँगो रेस्टुरेन्ट, त्यहाँका खाजा सेटहरुमा,

उता ग्यास्ट्रिकको बहाना बनाउने भोका पेटहरुमा,

बुबालाई देख्छु।

आफू पुरानै लगाएर, सन्तानलाई राम्रो लुगा किनिदिएर,

सन्तानका सपना पूरा गर्न हिँड्दा चिरिएरका खुट्टाहरुमा,

अनि मुजा परेका पाइन्ट र खिइएर फाटेका जुत्ताहरुमा,

बुबालाई देख्छु।

साच्चै! कर्तव्यबोध भएर लिएका जिम्मेवारीहरुमा

बुबालाई देख्छु।

संयमित हुदै लिएका परिपक्व निर्णयहरुमा

बुबालाई देख्छु।

बाध्यताबश कठोर बनिदिने अनुहारहरुमा

बुबालाई देख्छु।

भावनामा नबहकी निर्णय लिने मनहरुमा

बुबालाई देख्छु।

दैनिक सामना गर्ने हरेक अनुहारहरुमा बुबा देखिराख्ने भएपछि,

अनि बुबालाई सम्झिएर उहाँकै लागि लेख लेखिराख्ने भएपछि,

आफ्नो बुबालाई सम्झन बर्षको एकचोटि,

त्यो पनि आज औंसीकै दिन कुरिराख्नु पर्छ र?

भदौ १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्