गौहत्या प्रकरणमा नेपालगञ्ज उपमहानगरपालिकाले माग्यो माफी, छानबिन समिति गठन

फाइल तस्बिर

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले गौहत्या प्रकरणमा छानबिन समिति गठन गरेको छ।

नेपालगञ्ज उपमहानगरपालिका कार्यवहाक मेयर एवं उपमेयर उमा थापामगरको अध्यक्षतामा शनिबार बसेको नगर कार्यपालिकाको बैठकले उक्त घटनाका सम्वन्धमा स्थलगत अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्नका लागि नेपालगञ्ज उच्च अदालत वार एशोसिएसनका अध्यक्ष अधिवक्ता विकास आचार्यको अध्यक्षतामा छानबिन समिति गठन गरेको हो।

समितिमा अधिवक्ताद्वय विश्वजित तिवारी र बसन्त गौतम, पत्रकार पूर्णलाल चुके, पशु स्वास्थ्य चिकित्सक, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि सदस्य र उपमहानगरपालिकाका वरिष्ठ आलेप अधिकृत खिमानन्द अर्याल सदस्य सचिव रहेका छन्। समितिले निष्पक्ष छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने छ।

प्रतिवेदनको आधारमा दोषीलाई हदैसम्मको कारबाही गरिने कावा मेयर मगरले दावी गरिन्।

सर्वदलीय, सर्वपक्षीय बैठकसमेतको निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालय बाँकेसँगको समन्वयमा पवित्र उद्देश्यका साथ छाडा पशु चौपाय दैलेख पठाउन लगिएकोमा सुर्खेतस्थित कटकुवाको जंगलमा छोडिनुलाई गम्भीरताका साथ लिँदै उपमहानगरपालिकाले क्षमायाचना समेत गरेको छ।

उपमहानगरपालिकाका वडा नम्बर २१ पुरैनीमा छाडा पशुचौपाय व्यवस्थापनका लागि अस्थायी रुपमा निर्माण गरिएको कान्जीहाउसमा रहेका मध्ये २ सय ९१ गाई, बाछाबाछीलाई नेपालगञ्जदेखि दैलेख स्थानान्तरण गर्ने पवित्र उद्देश्यका साथ लगिएकोमा केही गाईवस्तुहरु सुर्खेतको कटकुवा भन्ने स्थानमा मृत भेटिएको खबरले उपमहानगरपालिका कार्यपालिका अत्यन्त दुखित भएको बैठकपछि कावा मेयर मगरले बताइन्।

गाईवस्तु पुर्‍याएर फर्केलगत्तै केही पशु चौपायको मृत्यु भएको जानकारी पाएपछि सुर्खेतस्थित प्रहरी, प्रशासन र स्थानीय तहसँगकाे समन्वयमा मरेका गाईको उचित व्यवस्थापन, घाइतेको उपचार लगायतका कार्य भइरहेको भन्दै उनले सुर्खेत जंगलमा छोडिएका मध्ये शनिवार साँझ सम्म १ सय ६६ गाईवस्तु नेपालगञ्जस्थित कान्जीहाउसमा फिर्ता ल्याइएको जानकारी दिइन्।

उपमहानगरपालिकाले नेपालगञ्ज आफैमा धार्मिक तथा सामाजिक रुपमा अति संवेदनशील शहर भएको भन्दै सम्पूर्ण नगरवासीमा संयमताका लागि अपिल गरेको छ।

साथै उपमहानगरपालिकाले शान्ति, सद्भाव, सहयोग, सहकार्य र सहिष्णुतालाई अझ बढी प्रगाढ बनाईराख्न आम नगरवासीमा अनुरोध समेत गरेको छ।

भदौ १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्