‘प्रदेश दुईमा महिला हिंसाको प्रमुख कारण दाईजो’

जनकपुरधाम– सामाजिक चेतना तथा महिलालाई हेर्ने दृष्टिकोण गलत रहेका कारणले अहिले पनि विभिन्न रुपमा महिलाहरुमाथि व्यापक मात्रामा हिंसा हुने गरेको महिला अधिकारकर्मीहरुले बताएका छन्।

जनकपुरधाममा शनिवार महिला कानुन विकास मञ्चले आयोजना गरेको लैङ्गिक हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रदेश नंं २ मा अहिले पनि महिलाहरुमाथि दाईजोका कारणले अत्यधिक हिंसा भैरहेको सहभागिहरुले बताए।

महिलाहरु शारीरिक हिंसामा मात्र नभई मानसिक हिंसामा पनि पर्ने गरेको हंशपुर नगरपालिकाकी उपप्रमुख रेणु झाले बताइन्।

महिला हिंसा सम्बन्धी विवादहरु न्यून मात्रामा मात्रै न्यायिक समितिमा आउने गरेको बताउँदै बढी जग्गा खिचौंला सम्बन्धी विवाद आउने गरेको उनको भनाई थियो।

उनले अहिले अधिकांश पालिकहरुमा प्रमुखवाट महिला उपप्रमुखहरुले मानसिक हिंसाको शिकार हुनु परेको बताउँदै यसको समयमा व्यवस्थापन नभएको खण्डमा पालिकाहरुमा महिला उपप्रमुखलाई कामकाज गर्न कठिन हुने बताइन्।

महिला अधिकार कर्मी सुभद्रा आलेले दाईजोका कारणले नै महिला हिंसाहरु बढी मात्रामा भैरहेको बताउँदै महिलाहरुको क्षमताको विकास आवश्यक रहेको बताइन्। उनले भनिन्, ‘महिलाहरु आफै सक्षम भएको खण्डमा हिंसा हुने सम्भावना निक्कै कम हुनेछ।’

जनकपुरधाम उपमहानगरपालिकाका वडा सचिव जमुना भुजेलले दाईजोका कारणले महिला हिंसा अत्यधिक मात्रामा समाजमा रहेको बताउँदै वडामा हिंसामा परेर आउनेहरुको मिलात्रप गरे पनि पूर्ण रुपमा मिलाउन निक्कै कठिन हुने गरेको बताइन्।

नेपाल वार एशोसिएशनका पूर्व अध्यक्ष चन्द्रकुमार मैनालीले महिला हिंसामा परेकाहरुलाई शीघ्र न्याय दिनका लागि विगत देखि नै फाष्ट ट्रयाक कोर्टको कुरा उठेपनि व्यवहारमा कार्यान्वयन नभएको बताउँदै हिंसा कम गर्नका हिंसा गर्ने समूहलाई लक्षित गरेर ग्रामिण क्षेत्रमा कार्यक्रम गर्न जरुरी रहेको बताए।

उच्च अदालत जनकपुरका कानुन अधिकृत पूणेन्द्र पाण्डेले वेलायती कानूनमा भएको व्यवस्थाहरु हालै आएको देवानी संहिता तथा फोजदारी संहितामा उल्लेख गरेर आएपनि सो अनुसारको सामाजिक चेतना नेपाली समाजमा नरहेको बताए।

उच्च अदालत जनकपुरका सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता कुँवर कुमार दङ्गालले लैङ्गिक हिंसाको मूल जडको रुपमा रहेको दाईजोको नियन्त्रणका लागि विषेश ध्यान दिन जरुरी रहेको बताउँदै कानूनको निर्माण जहिले पनि समय सापेक्ष तरिकाले हुनुपर्ने बताए।

एडभोकेसी फोरमका धनुषा जिल्ला संयोजक एवं अधिवक्ता राजकुमार महासेठले सामाजिक रुपमा रहेको लैङ्गिक हिंसाको नियन्त्रण गर्न सामाजिक चेतनामा वृद्धि आवश्यक भएको बताए। लैङ्गिक हिंसामा पर्ने वर्ग आफै पनि सचेत रहन जरुरी रहेको पनि महासेठको कथन थियाे।

कार्यक्रममा विभिन्न हिंसामा परेका महिलाहरुले पनि आ–आफ्नो पिडा पाेखेका थिए।

कार्यक्रममा महिला कानून र विकास मञ्चका कार्यक्रम संयोजक नविन श्रेष्ठले महिला हिंसाका विभिन्न विषयहरुमा प्रकाश पार्दै भएको कानूनी व्यवस्थाहरुको बारेमा जानकारी दिएका थिए। कार्यक्रममा विभिन्न पालिकाका उपप्रमुखहरु पनि सहभागि रहेका थिए।

भदौ १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्