एनआरएनए अस्ट्रेलियाको पहिलो बैठक सम्पन्न, स्पोर्ट्स फण्डका लागि १२ हजार डलर

सिड्नी – गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको वैठकले केही महत्वपूर्ण निर्णयहरू गरेर सम्पन्न भएको छ । केशव कँडेल नेतृत्वको टोलीले गत अगष्ट १० तारिखमा पदभार सम्हालेपछि तथा केही दिनअघि १५ जना निर्देशकहरूको वैठकपश्चात् बसेको यो पहिलो बैठक हो ।

केशव कँडेलको सभापतित्वमा सम्पन्न उक्त वैठकले १२ हजार अस्ट्रेलियन डलर बराबरको खेलकुद कोषको स्थापना गरी आगामी दुई वर्षभित्र अस्ट्रेलियामा हुने खेलकुद कार्यक्रमका लागि सो रकम उपयोग गर्ने निर्णय गरेको एनआरएनए अस्ट्रेलियाले जनाएको छ ।

विज्ञापन

क्वीन्सल्याण्ड राज्यको टुउम्बामा रहेको नेपाली पाठशालामा किताब तथा अन्य सामग्री खरिद गर्नका लागि १ हजार अस्ट्रेलियन डलर सहयोग गर्ने तथा नेपाली फुटबल टोलीको अस्ट्रेलियाविरुद्ध हुने विश्वकप क्वालिफाइ खेल अवधिभर नेपाली टोलीलाई सिड्नीमा बस्न तथा आवश्यक अन्य सहयोग गर्नका लागि युथ फोरममार्फत् इरसाद अहमदको संयोजकत्वमा एन्फासँग सहकार्य गर्ने निर्णय पनि उक्त वैठकले गरेको छ ।

त्यसैगरी बैठकले चुडामणि सापकोटाको संयोजकत्वमा गठित एनआरएनए एसिटीको टोलीले नेपाली दूतावाससँग सहकार्य गरेर नेपाल र अस्ट्रेलियाबीच हुने वल्र्डकप क्वालिफाइ म्याचमार्फत् नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पु¥याउने उपायहरू खोजी गर्न गृहकार्य गर्ने पनि निर्णय गरेको छ ।

आफ्ना सदस्यहरूलाई अस्ट्रेलियामा रहेका केही ठूला सुपरमार्केटहरूमा सामानहरू किन्दा छुट पाउने व्यवस्था मिलाउनका लागि आवश्यक पहल गर्नका लागि उषाकिरण वारिया पोखरले संयोजक तथा अनिल पोखरेल उपसंयोजक रहेको टोली निर्माण गर्ने निर्णय पनि सो वैठकले गरेको छ ।

संस्थाका महासचिव डा. ज्ञानेन्द्र रेग्मीको संयोजकत्वमा गठित टोलीले नेपाली नागरिकताको निरन्तरताका लागि कार्यशाला गर्ने, संस्थाको वेबसाइटलाई पुनर्निर्माण गर्ने लगायतका निर्णयहरू समेत गरेको एनआरएनए अस्ट्रेलियाले जनाएको छ ।

भदौ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्