विचार

पुरुषहरु निराहार व्रत बसेर मनाउने पर्व ‘अटवारी’

अटवारी, थारू जातिहरुको माघी पछिको दोस्रो ठूलो पर्व मानिन्छ। योे पर्वमा खास गरेर पुरुषहरु निराहार व्रत बसेर मनाउँछन्। यद्यपि स्वेच्छाले केही महिलाहरु पनि व्रत बस्ने गरेको पाइन्छ।

दीर्घायू, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामना सहित मनाइने अटवारी भदौ महिनामा पर्छ। तर कुनैै साल असोजमा पनि मानेको देखिन्छ। जे जस्तो भएपनि अटवारी धेरैजसो कृष्ण अष्टिम्की पछिको दोस्रो आइतवार अथवा कुश अमाँवस (कुशे औंशी) पछिको पहिलो आइतबारलाई अटवारी मान्ने चलन छ। तर अटवारीको विषयमा विभिन्न मतमतान्तर पनि हुँदै आएको छ।

विज्ञापन

ठाउँ अनुसार चालचलनमा विविधता छ र यसको ऐतिहासिक, धार्मिक, सामाजिक पृष्ठभूमिको बारेमा पनि विभिन्न धारणाहरु अगाडि आएको देखिन्छ। यसकारण पछिल्लो समय यस पर्वको निश्चित तिथि, मिति हुनु पर्ने कुरा थारू समुदायका बौद्धिक वर्गहरुको बहसको विषय पनि बन्दै आएको छ।

अटवारी, कुशे औंसीको पहिलो आइतबार ‘बर्का अटवारी’को रुपमा मानिन्छ भने त्यसपछिको चार आइतबार आंशिक रुपमा छुट्की अट्वारी व्रत बस्ने गर्छन्। यसरी बर्का र छुट्की गरी पाँच आइतबार ‘अटवारी’ व्रत बस्ने थारु समुदायमा पुरानो चलन हो। यसरी ‘पाँच अटवारी’ पछि दशैं आउँछ।

अथवा कुशे औंसी र दशैको बीचमा आउने पाँच आइतबारलाई अटवारी मान्न सकिन्छ। यसरी पाँच अटवारी व्रत बस्ने चलनले पनि कुशे औंसीको पहिलो आइतबारलाई अटवारी मान्ने चलनको प्रमाण बलियो देखिन्छ। यसरी हेर्दा यस बर्ष कुसे औसी पछिको आइतबार भदौ १५, २२, २९ असोज ५ र १२ गते पर्छ र त्यसपछि दशैं आउँछ। अथवा कुशे औंसी र दशैं बीचको यिनै पाँच वटा आइतबार मात्रै हुन्। त्यसैले पनि यस बर्षको बर्का अट्वारी १५ गते नै हो भन्ने प्रमाणित हुन्छ।

केही मानिसहरुको धारणा हिन्दु नारीहरुको हरितालिका तीज अनि ऋषि पञ्चमी पछिको आइतबारलाई अटवारी मान्ने पनि छ। तर योे त्यति सान्दर्भिक देखिदैन। यदि तीजपछिको आइतबारलाई मान्ने होे भने ‘पाँच अटवारी’ व्रत बस्नेहरुको अटवारी प्रभावित हुन्छ। अर्को कुरा थारू समुदायमा तीज र ऋषि पञ्चमीको प्रभाव पनि निकै पछिबाट परेको देखिन्छ। यो थारुसमुदायको मौलिक पर्व पनि होइन। त्यसकारण यसलाई आधारण बनाएर आफ्नो पर्वको समय निर्धाण गर्न पनि उचित देखिदैन।

थारू बस्तीमा आजको जस्तो हिजो मिश्रित जातजातिहरुको बसाइ थिएन। थारू समुदायको एकलौटी बसाई थियो। आफ्नै कला, संस्कृति र सामाजिक मान्यताभित्रै रमाउने थारू समुदाय, अन्य समुदायको पर्वलाई आधार बनाएर आफ्नो पर्वको निर्धारण गर्ने विषय पनि हुँदैनथ्यो। अहिलेको जस्तो विभिन्न जातजातिहरुको मिश्रित बसाई र सबैले एकअर्काका कला, संस्कृतिलाई स्वीकारी सकेको अवस्थामा यो कुरा उठ्नु स्वभाविक भएपनि वास्तविकता भने होेइन।

उसो त कुशे औंसी पछिको पहिलो आइतबार प्रायः तीज पछि नै पर्छ। यो एउटा संयोग मात्र हो। यसले पनि तीज पछिको आइतबारलाई मान्ने भन्ने कुराको बढावा दिन सक्छ। तर यो सत्य होइन र सँधै यस्तै पनि हुँदैन। कहिलेकाही त तीजकै दिन आइतबार पर्छ। पछिल्लो समय यही तर्ककै भ्रममा परेर फरक फरक आइतबार अटवारी मान्ने समस्या देखापरेको छ।

यसले पाँच अटवारी मान्नेहरुको व्रत प्रायः प्रभावित पार्छ। कुनै कुनै साल समय अनुकूल नभए (गाउँमा हैजा लगायतका रोगको प्रकोप बढी देखिए वा दैविक प्रकोपका कारण) समय हेरेर अटवारी पर्व मान्ने चलन पनि छ। यसो गर्दा पाँच अटवारी व्रत बस्नेहरु सबै आइतबार व्रत बस्न सक्दैनन् र अँँटवारी पनि फरक फरक मितिमा मनाउने बाध्यात्मक समस्या देखापर्छ।

रुपन्देहीका साहित्यकार बमबहादुर थारूले ‘रुपन्देहीको थारू समाज र संस्कृति’ भन्ने आफ्नो पुस्तकमा कुशे औंसीको आठौं दिनपछिको आइतबारलाई बर्का अटवारी मान्ने कुरा उल्लेख गरेका छन्। उनले ‘पाँच अटवारी’को विषयमा भने कुनैै कुरा उल्लेख गरेका छैनन्। त्यसो त रुपन्देही, नवलपरासी, चितवन लगायतका पूर्वका केही जिल्लामा मनाइने विधि प्रक्रियाहरु पश्चिमाजिल्ला भन्दा फरक छ। तर, कपिलवस्तु, दाङ देउखुरी, बाँके, बर्दिया, कैलाली, सुर्खेत र कञ्चनपुरका थारूहरुमा वैचारिक धारणा फरक फरक भए पनि विधि प्रक्रियामा भने एकरुपता पाइन्छ।

प्रकृति पुजक थारू समुदायमा खास गरेर योे पर्व सूर्यको पूजा गरेर रुपमा मनाइन्छ। आइतबारलाई रविबार पनि भनिन्छ। रवि भनेको सूर्य (सुरज) अथवा अग्नी। जब भयावह कालरात्रिमा सूर्यको जन्म भयो। त्यसपछि यो संसार उज्यालो भयो भन्ने किम्बदन्ती छ। सूर्यले अँध्यारो चिरेर उज्यालो गराउँछ। जसले गर्दा मान्छे मात्रै होइन यस पृथ्वीमा बस्ने हरेक प्राणीलाई सजिलो हुन्छ। प्रकृतिप्रति विश्वास गर्ने थारू समुदाय, सूर्य उज्यालोको प्रतीक भएकोले यसको पूजा उज्यालोदाताको रुपमा गरेका हुन्।

अर्को मिथक महाभारत कथासँग जोडिएको छ। पाँच पाण्डव मध्ये सबैभन्दा बलियो भेवाँ (भीम) थिए। जब कौरव र पाण्डवको लडाइ भयो। त्यसै समय भीम रोटी पकाउँदै थिए। लडाई चरमोत्कर्षमा पुगेपछि उनी रोटी पकाउँदा पकाउँदै टावामै छोडेर लडाईमा हिंडेँ। जब लराइबाट फर्किदा उनी निकै भोकाएका थिए। टावामा छोडेर गएको एक पट्टी मात्र पाकेको रोटी खाएर पेट भरे।

अटवारीमा अक्केकरे रोटी (एक पट्टी मात्र पकाएको रोटी) पकाउने चलन छ। यसरी अक्केकरे रोटी उनै भीमलाई पुज्ने गरिन्छ भन्ने किम्बदन्ती छ भने भीम, थारू राजा दंगीशरणलाई लराइमा सघाएको र सबैभन्दा बलियो पुरुष भीम भएकोले उनी जस्तै बलियो हुने संकल्पका साथ पुरुषहरु उनकै पूजा गरेर अटवारी व्रत बस्ने विचार पनि जनमानसमा छ। यसरी अटवारी पर्वको बारेमा अध्ययन गर्दा वैचारिक एकरुपता रहेको पाइदैन। ठाउँ अनुसार फरक फरक विचार, चालचलन र प्रक्रिया रहेको पाइन्छ।

अटवारी, व्रत बसेर मनाउने पर्व भएकोले यसमा पनि ‘डटकट्टन’ (दर) खाने चलन छ। दर खानाका लागि शनिबार दिनभरि माछा मार्ने र अरु तिहुन, तरकारीको जोहो गरिन्छ। माछाको सुखौरा (सुकुटी) धेरैजसो पहिल्यै तयार गरिएको हुन्छ। अटवारीमा माछाको सुखौरा विशेष मानिन्छ। तर अन्य कुनैै चीजको मासु भने हुँदैन।

सागमा पोंइ अनिवार्य जस्तै हुन्छ। भिन्डी, टोरैं, ठुसा (मास जस्तै एक प्रकारको दाल बाली, झिलिङ्गी, सिल्टुङ) लगायतका तरकारी हुन्छ। ‘डटकट्टन’ व्रत बस्नेहरु भाले बास्नु भन्दा पहिले खानु पर्छ। यदि खानुभन्दा पहिले भाले बासे भने ‘डटकट्टन’ खान पाइदैन। खाए भने ऊ व्रत बस्न पाउँदैन। उसलाई जुठो मान्ने चलन छ।

आइतबार अथवा अटवारीको दिन व्रत बस्नेहरुको खान भान्सामा पाक्दैन। उनीहरु बिहानै नुहाएर बहरी (घरको प्रवेशद्वारको पहिलो कोठा) या आँगनमा गाईको गोबरले लिपपोत गर्छन्। लिपपोत गरेर ‘कोरे आगी’ (भान्सामा पहिले प्रयोेग नभएको आगो, चोखो आगो) मा रोटी पकाइन्छ। पुरानो आगो आज अपवित्र मानिन्छ। त्यसकारण गनयारी काठ या फोर्सा काठ घोटेर निकालेको चोखो आगो प्रयोग गर्ने गर्छन्।

बाटुलो रोटी सूर्यको प्रतिकात्मक परिकारको रुपमा लिइन्छ। यो पर्वमा रोटी अनिवार्य हुन्छ। अन्य खानेकुरा भने सहायक हुन्छन्। अटवारीमा अन्डी र र गहुँको गरी, दुई थरीको रोटी हुन्छ भने पक्की, अम्रुट् (अम्बा, बेलौटी), केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाइपानी पनि हुन्छ। पहिलो दिन नुन, बेसार, खुर्सानी, माछा, मासु भने आजको दिन बर्जित हुन्छ।

रोटी पकाएर तयार भयो भने स्नान गरी बिहान लिपपोत गरेको ठाउँमा पिर्का या कुनैै काठको वस्तुमा संगै बसेर आफ्नो प्रक्रिया अगाडि बढाउँछन्। खानुभन्दा पहिले अगयारी (अग्यारी) दिने चलन छ। निश्चित ठाउँमा गाईको गोबरले पुनः लिपेर त्यसमा आगो (फिलिङ्गो) राखिन्छ। त्यही आगोमा सर्री धूप (सल्लाको धूप), नौनी र खानका लागि तयार गरिएको बस्तु (अन्डीको रोटी, गहुँको रोटी, पक्की, काँक्रो, अम्बा (बेलौटी), केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाइपानी) अलिअलि सबै चीज एकैमा मिसाएर त्यसमा हवन गरिन्छ (चढाइन्छ)। यसरी आगोमा चढाउने कामलाई ‘अगयारी’ दिएको भनिन्छ।

सूर्य आगोको मुख्य श्रोत हो। सूर्य आफैमा अग्नी हो। त्यसैले सबैभन्दा पहिले अग्नी (आगो)लाई अथवा सूर्यलाई प्रसादको रुपमा अगयारी दिने चलन आएको हो। अगयारी दिएर तीन पटक दायाँ र तीन पटक बाँयाबाट पानीले पर्छने (पानीको घेरो हाल्ने) चलन छ। कोइ–कोइ पाँच या सात फेरा पनि पर्छने गर्छन्।

त्यसपछि आफ्ना चेली–बेटीहरुका लागि पहुरको रुपमा ‘अग्रासन’ छुट्याउने चलन छ। अथवा चेली बेटीहरुलाई दिनका लागि छुट्टै भाँडोमा निकालेर मात्रै खाने चलन छ। यो काम दिउँसो हुन्छ। अन्य व्रत जस्तो अटवारीमा दिनभरि निराहार बसिदैन। दिउँसो नै पूजा गरी खाने चलन छ। यो क्रम सूर्यास्त नहुँदासम्म चल्छ। सूर्यास्तपछि खाने काम पूर्ण रुपले बन्द हुन्छ।

अर्को दिन सोमबार, ‘फर्हार’ गरिन्छ। फर्हार नहुँदासम्म पानी समेत नखाएर निराहार बस्नु पर्छ। फर्हार अटवारीको अन्तिम पूजा हो। यस दिन व्रतालुहरु बिहानैदेखि खानपिनको तयारीमा जुटेका हुन्छन्। घरका अन्य सदस्यहरुले पनि सहयोग गरेका हुन्छन्।

आजको खानामा खास गरेर भात, खँरिया, फुलौरी, पोंइ मिसाएको ठुसा, सुखौरा माछा, चिचिण्डो, घिरौला, भेन्डी लगायतका विजोर संख्यामा तरकारीहरु बनाइएको हुन्छ। माछाको सुखौरा विशेष मानिन्छ तर मासु भने हुँदैन। फर्हारपछि मात्रै मासु ल्याउने या खाने गरिन्छ।

फर्हार, सबै पकवान तयार भएपछि शुरु हुन्छ। व्रतालुहरु हिजोको जस्तै आज पनि नुहाई धुवाई गरी अगयारी दिएर आफ्ना चेली बेटीहरुका लागि ‘अग्रासन’ निकाल्ने गर्छन्। अग्रासन धातु वा प्लाष्टिकको भाँडामा निकालिदैन। अग्रासन बिशेषताः नम्ह्रैन (मालु), कमल या केराको पातमा निकाल्ने गरिन्छ।

अटवारी आउनुभन्दा केही दिन पहिले नै पात टिप्ने काम हुन्छ। प्रायः अग्रासन पात खुटेर बनाएको दुना टपरीमा निकालिन्छ। त्यो नभए विकल्पको रुपमा कमलको पात या केराको पात प्रयोेग भएको पनि पाइन्छ। यसरी प्रक्रियागत रुपमा सबै कार्य पूरा भइसकेका पछि मात्र व्रतालुहरु अन्न ग्रहण गर्छन्।

अन्य पर्वमा जस्तै अटवारीमा आफ्ना चेलीबेटीहरुलाई घरमै बोलाउने चलन छैन। ब्रतालुहरुले निकालेको पहुर ‘अग्रासन’ उनीहरुकै घरमा पुर्‍याउन जाने चलन छ। अग्रासन पुर्‍याउन प्रायः दाजु भाइ नै जाने गर्छन्। दाजु भाइ नभए अन्य सदस्यहरु जान्छन्। चेलीहरु पनि अग्रासन दिन आउनेलाई मानसम्मान गर्छन्। सम्मानार्थ जाँड, रक्सी र मासु खुवाउने गर्छन्। अतिथि सत्कारका लागि थारु समुदायमा जाँड रक्सी ठूलो मानिन्छ। त्यसकारण जाँड रक्सी खुवाउन पाए सन्तुष्ट भएको महसुस गर्छन्।

यो पर्व भातृत्वप्रेम र सद्भावको पर्वको रुपमा पनि लिने गरिन्छ। लामो समयसम्म आफ्नो माइता जान नपाएका चेलीबेटीहरु यस पर्वमा आफ्ना दाजु भाइ तथा परिवारसंग दुःखसुखका कुरा खुलेर पोख्छन्। यसरी एकै ठाउँमा बसेर सुखदुःखका कुरा र खानपिनले एकापसमा विश्वास र आत्मीयता बढाउँछ।

पारिवारिक सम्बन्ध पनि सुमधूर बनाउँछ। तर यसका केही गलत पक्षहरु पनि छन्। सम्मानका नाममा अत्याधिक मदिरा सेवन गर्ने र गराउने परम्परा समय सापेक्षित देखिदैन। यसकै कारण अनावश्यक झैझगडा, पानीमा डुबेर मृत्यु, सडक दुर्घटना लगायत विभिन्न घटनाहरु भएको पनि देखिन्छ।

यसको न्यूनीकरणमा ध्यान दिन जरुरी देखिन्छ। त्यसैगरि अग्रासनका नाममा बासी खानेकुरा, खानेकुरामा रंगको प्रयोेग, अनावश्यक खर्च, कुनैै साल आफ्ना चेलीबेटी कहाँ अग्रासन पुर्‍याउन नसके चेलीहरुमा नकारात्मक सोचाई राख्ने र एकापसमा मनमुटाव भएको पनि देखिन्छ। त्यसकारण पर्व, सबैले पर्वको मर्म अनुसार मनाउनु पर्छ। यसलाई समय अनुसार परिमार्जन गर्दै आफ्नो गछ र मौलिकतामा सबैले सबैलाई खुशी पार्ने हिसाबमा मनाउन सक्नु पर्छ। अटवारी सबैको शुभ रहोस्।

भदौ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्