‘रातो भाले क्वाएँ क्वाएँ’ गीत कसरी बन्यो?

काठमाडौँ– २०३० सालको कुरा हो, उर्मिला श्रेष्ठ जेठो छोरा शिरिष जन्माउन पाटन अस्पताल पुगेकी थिइन्। त्यो बेला चर्चामा रहेको गीत थियो ‘रातो भाले क्वाँए, क्वाँए, सुत्केरीलाई ख्वाए।’

छोरा जन्माउन अस्पताल पुगेकी उर्मिला, एकाएक भिआइपी भइन्, छोराले पनि नाम पायो, ‘रातो भालेको छोरा।’ गीतकार गणेश रसिकले लेखेको यो गीत त्यतिबेला ‘भाइरल’ भयो। उर्मिलाका श्रीमान्, हिरण्य भोजपुरे र गणेशले यो गीत गाएका थिए।

विज्ञापन

यो गीत शनिबार अनामनगर नेपालयस्थित आरशालामा गुञ्जियो। गायक उनै हिरण्य र गणेश थिए। गीत सार्वजनिक हुँदाको अनुभव भने उर्मिला श्रेष्ठ सुनाउँदै थिइन्।

झ्वाट्ट सुन्दा हँस्यौली गीत लाग्छ, वि.सं २०२९ सालतिर रसिकले गीतको शब्द रचनाको ड्राफ्ट देखाउँदा सबै हाँसेका थिए। गीतको बोल थियो, ‘कुखुरी काँ’। गीत रेकर्ड गर्दा पनि हाँसो चलेकै हो। स्रोताले यो गीत यति मन पराए कि जहाँ पनि हिरण्य र गणेशलाई नचिन्ने कोही भएन।

गीतको लय र प्रस्तुति जति रोमाञ्चित छ, यसको भाव उति नै गहिरो। आफ्नै टोलीले गाएको गीतको भाव उर्मिलाले १० वर्ष अगाडि मात्र बुझिन्। ‘जब मलाई म बुढी हुन थाले जस्तो लाग्यो नि, यो गीतलाई यसो विचार गरेको त हँस्यौली पारामा रसिकजीले धेरै कुरा भन्नु भएको रहेछ।’

यो गीतमा सन्तान प्राप्तिपछिका अभिभावकीय कर्तव्य र व्यवहारको कुरालाई समेटिएको छ। सुत्केरी महिलालाई रातो भाले काटेर खुवाउने चलन, सन्तान जन्माएपछि अभिभावकले के बनाउने भनेर सपना देख्छन्। ‘त्यो बेला कल्पना गरेको कुरा अहिले मिलेको छ, छोराहरु लाहुर गइराखेका छन्, हाकिम पनि भइराखेका छन्। हाकिम भएर नेपालमा बसेको भए त राम्रै हुन्थ्यो, तर छोरा छोरी जति सबै बिदेश गएका छन्।’

उर्मिला भन्छिन्, ‘बुढा भएका बाबु आमाले के गर्ने ? नेपाल बस्यो छोरा छोरीको यादले सताउँछ, छोरा छोरी भएको ठाउँमा गयो भने धेरै समय बस्न सकिन्न। यहाँ पनि बस्न नसक्ने त्यहाँ पनि बस्न नसक्ने भएपछि हामी कहाँ जाने ?’ उर्मिलाले आफ्नै कथा जस्तै भएपछि गीतको भाव सम्झिइन्। अनि गीतको घत लाग्यो।

गीतकार रसिकलाई भने गीत लेख्दा आफूलाई यस्ता भाव गीतमा छन् भन्ने याद छैन। उर्मिलाले बखान गर्दा गणेश भन्छन्, ‘मेरो त त्यतिबेला विवाह नै भएको थिएन। अनि घर भन्दा पर बसेको मलाई व्यवहारिकताले गाँजेको थिएन।’

गीतलाई प्रयोग गर्नमा गणेश र हिरण्य असाध्यै अग्रसर थिए। यही क्रममा उनीहरुले यो गीत बनाए। गणेशले सांगीतिक यात्रा सुरु गर्दा भोजपुरेको धेरै संगत गरे। उर्मिला श्रेष्ठ पनि लेकालीको समूहमा सामेल हुन आइपुगिन्। उनीहरु उर्मिलाको घरमा बसेर अभ्यास गर्थे। उर्मिलाका ९ दिदी बहिनी, भोजपुरेको ७ जना। तर रसिक काठमाडौँमा परिवारसँग बस्दैनथे।

‘म राईको छोरो, किराँतहरुको घरमा जन्म संस्कारमा रातो भाले काटेर बाबुलाई कुखुराको टाउको खुवाउने चलन छ। अनि मैले हिँड्डुल गर्दा जे जे देखे कोरे। कोर्ने बित्तिकै गायौँ।’ गीत बनेको प्रसंगमा रसिक भन्छन्, ‘अहिले सबै नेपालीको प्रतिनिभित्व गरेको छ जस्तो लाग्छ, मेरा बाबाका ६ जना सन्तान तर बित्ने बेलामा एक जना छोरा बल्ल बल्ल पुगे। त्यति बेलाको बृद्धको कल्पना गरेर लेखेको थिए, आफ्नो उमेर पनि ढल्किएको छ अब। लाग्छ, ‘अनकन्सस माइन्ड’ ले भावनामा बगेर लेखेको रहेछ।’

साथै भएका हिरण्यले भने, ‘गीत ‘‘ए होई’’ ले गणेश रसिक र मलाई सफलताको एक सिँढी उकाल्यो। तर ‘रातो भाले’ ले गणेशलाई हिरण्य र हिरण्यलाई गणेश बनायो।’ गणेश र हिरण्य सँगै गाउँछन् भन्थे, तर को गणेश को हिरण्य थाहा हुन्थेन। हिरण्यको श्रीमती उर्मिलालाई पनि बुझाउन समस्या नै परेछ। रसिकले थपे, ‘भाउजुलाई सोध्थे रे, तपाईको श्रीमान को हो ? नाक चुच्चो भएको की थेप्चे भएको हो?’

गणेश ७३ का भए, हिरण्य ७७ अनि उर्मिला ७५ ।

नेपालले आयोजना गरेको पलेँटीमा गीत गुनगुनाइरहँदा, रसिकले भने, लेकालीका यो समूहले आफ्नै कार्यक्रममा यो गीत गाउन पाएनन्। तर रेकर्ड गरेको ४६ वर्षपछि गीत गाउँदा यो समूह फेरि त्यही समयमा फर्कियो। एकले अर्कालाई ख्याल ठट्टा, खिचातानी गरे। ठाउँ पाएसम्म छोडेनन्।

उमेर ७५ नाघ्दा पनि गीत सुनाउन पाएकोमा खुशी हुँदै टोलीले भने, ‘हामी भाग्यमानी रहेछौँ, हामी हाम्रा बा आमालाई पनि गीत सुनाउन पायौँ र हाम्रा नातिहरुलाई पनि गीत सुनाउन पाउँदैछौँ, स्वास्थ्यले साथ दिएमा हाम्रा पनातिलाई पनि सुनाउँला।’

तर बुढ्यौलीले छोएको भने पनि, उमेर सात दशक भन्दा बढी भए पनि जोश उस्तै छ।

भदौ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्