अस्ट्रेलियामा पहिलो खेलकुद तथा संगीत महोत्सव सम्पन्‍न

सिड्नी-मोना (म्याग्दी ओभरसिज नेप्लिज एसोसिएसन)द्वारा आयोसजित पहिलो खेलकुद तथा संगीत महोत्सव सिड्नीको लिडकमस्थित वायाट पार्कमा सम्पन्‍न भएको छ।

महोत्सवमा फुटबल, बास्केटबल तथा पुरुष र महिला भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो भने नेपालका चर्चित कलाकारहरू सुगम पोखरेल, शिव परियार, गगन पुन, तृष्णा पुन लगायतका स्थानीय कलकारहरूले आ-आफ्ना सांगीतिक प्रस्तुतिहरू पेश गरेका थिए।

विज्ञापन

सिड्नी र मेलबर्नका गरी १० टिमको सहभागिता रहेको पुरुष भलिबलतर्फ छन्त्याल परिवारलाई फाइनलमा पराजित गर्दै ढोरपाटन क्लब विजेता बनेको छ। साथै, महिला भलिबलतर्फ जलजला परिवारलाई हराउँदै मोना अस्ट्रेलियाले उपाधि जितेको छ।

त्यसैगरी ८ वटा टिमको सहभागिता रहेको बास्केबल प्रतियोगितामा थकाली सेवा समितिलाई फाइनलमा पराजित गर्दै मोना अस्ट्रेलिया टिम विजेता बनेको छ भने १२ वटा टिमको सहभागिता रहेको फुटबल प्रतियोगितामा वेष्ट युनाइटेडलाई पराजित गर्दै माचापुच्छ्रे क्लब विजेता बनेको छ।

मोना अस्ट्रेलियाका अध्यक्ष मुक्ति रोक्काले खेल र संगीतलाई एउटै स्थलमा राखेर सम्पूर्ण खेलप्रेमी तथा संगीतप्रेमीलाई एकजुट बनाउने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको देशसञ्चारलाई बताए।

उनले भने, ‘युवा पुस्तालाई खेलकुद र संगीतमार्फत् भाइचारा र आपसी सद्भाव वृद्धि गर्ने तथा नेपाली संस्कृतिको जगेर्ना गर्ने समेत यो महोत्वको उद्देश्य थियो । त्यसमा हामी सफल भएका छौं। त्यसका लागि महोत्सवमा सहभागी सबैलाई धन्यवाद दिन चाहन्छौं।’

विजयी खेलाडीहरूलाई पुस्कार वितरणपश्चात् शुरु भएको सांगीतिक कार्यक्रम अपराह्न ४ बजेदेखि ९ बजेसम्म चलेको थियो। निःशुल्क प्रवेशको व्यवस्था गरिएको सो महोत्सवमा नेपाली खानेकुराका विभिन्न परिकारहरू पनि राखिएको थियो। महोत्सवमा सिड्नीवासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

भदौ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू