माग पूरा नभएकाे भन्दै आइओएममा तालाबन्दी (फाेटाे फिचर)

काठमाडौँ– चिकित्सा शिक्षामा देखिएका समस्या समाधानकाे माग गर्दै आइरहेकाे चिकित्सा शिक्षा संघर्ष समितिले आइतबार चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) मा तालाबन्दी गरेकाे छ।

आफूले दिएकाे ७२ घण्टे अल्टिमेटममा पनि आफ्ना मागहरुकाे सुनुवाई नभएकाे भन्दै समितिले आईओएममा ताला लगाएकाे जनाएकाे छ।

साथै समितिले आफ्ना मागहरु पुरा गर्नेतर्फ कुनै चासाे नदेखाएकाे भन्दै आइतबार शिक्षण अस्पतालमा प्रदर्शनसमेत गरेकाे छ

यसअघि समितिले चिकित्सा शिक्षामा देखिएका विभिन्न समस्या समाधानका लागि सम्बन्धित निकायका पदाधिकारीको ध्यानाकर्षण गराउँदै ७२ घण्टाको अल्टिमेटम दिएको थियाे।

यस्ता छन्, चिकित्सा शिक्षा संघर्ष समिति मागहरु 

– स्वास्थ्य शिक्षाको सम्पूर्ण विधाहरुमा सरकारले तोकेको शुल्कमा पढाउनु पर्ने निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने

– २०७५/१२/०७ मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा मन्त्रीकै अध्यक्षतामा भएको निर्णय अनुसार सरकारबाट तोकिएको शुल्क लिएका विभिन्न मेडिकल कलेजले सम्बन्धित विद्यार्थीलाई एक महिना भित्रमा शुल्क फिर्ता गर्ने निर्णयको कार्यान्वयन पाँच महिनासम्म नभएकाले उक्त निर्णय कार्यान्वयन गर्नुपर्ने

– चिकित्सा शिक्षा ऐनले प्रावधान गरेको ७५ प्रतिशत छात्रवृत्तिलाई यसै शैक्षिक सत्रबाट साझा प्रवेश परीक्षा मार्फत लागु गर्नुपर्ने

–  स्वास्थ्य शिक्षा र सेवामा सुरक्षा, पारिश्रमिक, स्नातकोत्तरको हकमा सम्पूर्ण स्वास्थकर्मीको वर्तमान बजार, महँगी, लगानी, पारिश्रमिक र संवेदनशीलतालाई मध्यनजर गर्दै उचित तलब तथा सुविधा र सुरक्षाको व्यवस्था गर्नुपर्ने

– मेडिकल कलेजले विभिन्न शिर्षकमा अत्याधिक मानाेमानी शुल्क लिने कार्यको अन्त्य गर्नुपर्ने र त्यस्ता मेडिकल कलेजलाई कारवाही गर्नुपर्ने

– छात्रवृत्तिमा सिटमा छनौट भई पढ्न आउने विद्यार्थीलाई कुनै शुल्क लिन नपाउने व्यवस्था हुँदाहुँदै त्यस्ता विद्यार्थीहरुबाट शुल्क लिने मेडिकल कलेजलाई कारवाही गर्नुपर्ने

– समयानुकुल पाठ्यक्रम परिमार्जन गरी गुणस्तरीय र प्रविधिमैत्री पाठ्यक्रम बनाउनु पर्ने।

तस्बिरहरु: बर्षा शाह/देशसञ्चार 

भदौ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्