बेलगाम राजनीतिक जिब्रोहरु !

महत्वपूर्ण राजनीतिक हैसियत र सत्तामा पद ओगटेका व्यक्तिहरु नीति बोल्छन् र आफ्ना अभिव्यक्तिप्रति जवाफदेही रहिरहन्छन् भन्ने मान्यता प्रजातन्त्रमा हुन्छ।

‘मर्यादा’ का पालनकर्ता र राज्यको उच्चतम पद अर्थात ‘राजा’ को हैसियतमा रहेका रामले ‘रघुकुल रित सदाचलिआई, प्राण जाये वचन नजाए’ भनेर भावी राज्य व्यवस्थामा शासकको मर्यादासँगै नेताहरुको वाणी र व्यवहारमा अन्तर हुन नहुने उदाहरण प्रस्तुत गरेका थिए।

विज्ञापन

अहिले सरकार सञ्चारमाध्यमलाई जवाफदेही र मर्यादित बनाउने नाममा ‘मिडिया काउन्सिल विधेयक’ मार्फत मौजुदा प्रेस काउन्सिललाई विस्थापित गर्ने तयारीमा जुटेको छ।  र, सर्वत्र विरोध भइरहेको त्यो कदमको बचाउमा उत्रेका सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा स्वयं नै कति संयमित, मर्यादित र जवाफदेही छन् आफ्ना सार्वजनिक अभिव्यक्ति र व्यवहारप्रति?

या यी सबै विरोधाभासमा मन्त्री बाँस्कोटाले उन्मुक्ति पाउने?

मन्त्री बाँस्कोटा अपवाद छैनन्। सत्ताका नाइके अर्थात प्रधानमन्त्री, सबैभन्दा ठूलो नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुन अर्थमा मन्त्री बास्कोटा भन्दा फरक होलान्, आफ्ना अभिव्यक्तिप्रतिको जवाफदेही र संयममा?

देश सञ्चारले विगत केही महिनायता सार्वजनिक हैसियतमा रहेका यी व्यक्तिहरुका सार्वजनिक अभिव्यक्ति र प्रतिवद्धता, तिनको कार्यान्वयन पक्ष, भाषामा निहित संयम र मर्यादाका पक्षलाई केलाउने प्रयास गरेको छ।

सञ्चारमन्त्री बाँस्कोटाले गत सोमबार अर्थात भदौ ६ गते सफलतापूर्वक सम्पन्न भनी दाबी गरिएको भिडियोमार्फत मन्त्रिपरिषद बैठक, वास्तवमा बैठक नै नभएको र त्यसमा कुनै निर्णय नलिइएको दाबी गरेका छन् भदौ १२ गते संसदमै।

प्रविधिका कारण उपचारका लागि सिंगापुरमा रहेका ओलीको अध्यक्षतामा मन्त्री परिषद बैठक सम्पन्न भएको दाबी सत्य हो अर्थात त्यो बैठक नै नभएको र ‘प्रधानमन्त्रीलाई हामीले हाइहेल्लो गर्‍यौँ, उहाँले यहाँको हाल खबर कस्तो छ? भनेर सोध्नुभयो’ भन्ने उनको पछिल्लो अभिव्यक्तिमा विश्वास गर्ने? कि नगर्ने? वास्तवमा ओलीले पार्टीका केही नेताहरुका अनुसार आफू स्वस्थ रहेको सन्देश प्रवाह गर्न भिडियो कन्फ्रेन्सको नाटक रचिएको थियो।

तर, ओलीको अनुपस्थितिमा कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसमेत प्रकरणमा ‘विचरा’ बन्न पुगेपछि मन्त्री बाँस्कोटा अर्को अभिव्यक्ति दिन बाध्य भएका हुन्।

मन्त्री बाँस्कोटा अपवाद होइनन्। तर एकपल्ट ठक्कर खाँदैमा त्यसबाट पाठ नसिकेको उदाहरण उनका एकपछि अर्को अभिव्यक्तिले प्रस्तुत गरेको छ।

भदौ ११ गते बसेको संविधान दिवसबारेको उच्चस्तरीय तयारी बैठकमा उनले ‘संविधान दिवसको विदा डेटिङ जान र वियर खान होइन, फाइनल कुरा यही हो। सिधासिधा राष्ट्रिय दिवस मनाउन बिदा दिइएको हो’ भनेका थिए।

बास्कोटाको आइफा अवार्डसम्बन्धी अभिव्यक्ति पनि बिवादित नै बन्न पुग्यो। असार १७ गते सरकारको आइफा अवार्ड कार्यक्रम सञ्चालनल गर्ने निर्णयको व्यापक विरोध भएपछि संसदीय समितिले त्यो रोक्न निर्देशन दिएको थियो।

जनस्तरबाट पनि व्यापक बिरोध भएपछि असार १८ गते सरकार आइफा अवार्ड गर्ने निर्णयबाट पछि हटेको थियो।

आफ्नो कमजोरी औँल्याउनुको सट्टा त्यसको बचाउ गर्दै असार २० गते मन्त्री बाँस्कोटाले टिप्पणी गर्दै भने, ‘सरकार छलफल गर्न तयार हुँदाहुँदै संसदीय समितिले हतार हतारमा आकाश खसेजसरी, धर्ति भाँसिए जसरी निर्देशन दिनु आवश्यक थिएन।’

त्यसअघि दुई तिहाइको दम्भलाई पराजित गर्ने गरी काठमाडौँमा ‘गुठी विधेयक’ बारे विरोध भइरहँदा मन्त्री बाँस्कोटाले सरोकारवालासँग सल्लाह गर्ने नाममा सरकारले ‘आमसभा’ गर्न नसक्ने र गुठी परम्परा सामन्तबादको ‘अवशेष’ रहेको अभिव्यक्ति दिएर आन्दोलनलाई थप उत्तेजित बनाएका थिए।

बाँस्कोटाका नेता ओली र प्रचण्ड स्वयं यस्ता विवादास्पद अभिव्यक्तिले जन्माएका आम र संगठित प्रतिक्रियाका शिकार बनेका छन्।

उनीहरु सामाजिक सञ्जाल, लेख र आफ्नै पार्टीका केही नेताहरु र कार्यकर्ताबाट आलोचित एवं तिरस्कृत बन्न पुगेका छन्।

प्रधानमन्त्रीले भनेका ‘चाइनिज रेल, पानिजहाज र घरघरमा ग्याँस पाइपलाइन’ अब दन्त्य कथाको एकादेश जस्तो बनेको छ।

साउन १३ गते प्रचण्डको ‘मलाई हेगमा लगेर पनि केही फरक पर्दैन। हेग लग्यो भने त विश्वकै हिरो भएर निस्कन्छु। संसारले मलाई एकपटक चिन्ने छ’ भन्ने देखि लिएर पूर्व राजालाई नागार्जुनबाट लखेट्ने र राजसंस्थाका समर्थकलाई खरानी बनाउने अभिव्यक्तिको ‘मार’ उनैतर्फ फर्केको छ, सामाजिक सञ्जालका टिप्पणी र लेखहरुको विश्लेषण गर्ने हो भने।

साउन ३२ मा ‘पार्टी एकता नगरेको भए बरु कहीँ न कहीँ विकल्पहरु रहिराख्थे कि?’ र साउन २५ मा संघीयताको प्रसंगमा ‘रोपेको एउटा अर्कै उम्रेला जस्तो भयो’ भन्ने प्रचण्डको अभिव्यक्ति विवादमुक्त रहन सकेनन्।

आजसम्म आफूले कसैलाई एक ‘लबटो’ नहानेको र कसैले आफूलाई एक ‘लबटो’ नहानेको अभिव्यक्ति प्रचण्डले दिए लगत्तै ६ वर्ष पहिला तत्कालीन माओवादी पार्टीले दसैँका अवसरमा आयोजना गरेको चियापनमा चस्मा खस्नेगरी पार्टीकै कार्यकर्ता पदम कुँवरले उनलाई हानेको झापडको वर्णन ताजा रुपमा देखा परेका थिए सामाजिक सञ्जालमा।

‘मन्त्रीमन्डल पुनर्गठन हुँदै छ र त्यसबारे ओलीसँग छलफल भइरहेको छ’ भन्ने दोहोरिरहने प्रचण्डको अभिव्यक्तिले उनी स्वयंलाई गिज्याइरहेको छ।

‘प्रदेश दुईमा भ्रष्टाचार र बेइमानी बढ्यो, अब त्यहाँ नेकपाकै सरकार बन्न सक्छ’ भन्दै प्रचण्डले दिएको अभिव्यक्तिले चार महिना बितिसक्दा पनि मूर्तरुप नपाउँदा बोलीले मात्रै नतिजाप्राप्त हुन्न भन्ने पुष्टि गरेको छ।

मदन भण्डारीको ६८ औँ जन्मजयन्तिको अवसरमा असार १४ गते आयोजित कार्यक्रममा ‘हामी सरकारमा छौँ, तर हत्यारा फलानो हो भनेर किटेर भन्ने प्रमाण प्रस्तुत गर्न सकेका छैनौ। चालकलाई जोगाउन सकिएको भए पनि केही प्रमाण त खुल्थ्यो कि?’ भन्दै प्रचण्डले दिएको अभिव्यक्ति लज्जास्पद छैन र?

अहिले कलेजमा विरामी सहपाठीलाई छिटो ठीक हुनु ‘गेटवेल सुन’ भन्दा हाँसेर मलाई चाहिँदैन तिम्रो शुभकामना भन्ने जवाफ सुनिन्छ यदाकदा।

भदौ पाँच गते उपचारका लागि १० दिनमा दोस्रोपल्ट ओलीलाई शीघ्रस्वास्थ्यको कामना गर्दा माधव नेपाललाई उनले दिएको उत्तर थियो, ‘मलाई मरोस् भन्दै हिँड्नेको चाहिँदैन शुभकामना।’

अब विद्यार्थीले एकअर्कालाई जिस्काउने अभिव्यक्ति बनेको छ त्यो।

आखिर नेताहरु ‘रोलमोडल’ त हुन्छन् नै। उनीहरुले बन्द कोठामा बोलेका अभिव्यक्तिको असर त्यहि कोठामा सीमित नहुँदो रहेछ, सार्वजनिक पनि बन्छ।

नेकपाका एक सदस्यका अनुसार अब उनकै ‘कमरेडहरु’ एकआपसमा कुरा गर्दा ‘के छ महाराज’ भनेर सम्बोधन गर्न थालेका छन्।

दाहालले कम्युनिष्ट पार्टीका नेताहरु अब राजामहाराजा जस्ता भएका छन् भनेर दिएको सार्वजनिक अभिव्यक्तिपछि ‘कमरेडहरु’ को आन्तरिक सम्बोधनमा व्यंग्य देखिन थालेको हो।

प्रचण्डले भदौ छ गते ‘प्रोग्रेसिभ इन्जिनियरिङ्ग एसोसिएसन नेपाल’को प्रशिक्षण कार्यक्रममा भनेका थिए, ‘नेताहरु नै राजामहाराजा जस्ता दुबै भएपछि राजामहाराजाका विरुद्ध लडेका जनताहरुले यिनलाई पनि लखेट्नुपर्छ।’

नेपाली कांग्रेस नेतृत्वको विरोधी रहेका एक जना प्रभावशाली पूर्व मन्त्री भन्छन्, ‘ओली चिहानमा गएर हड्डी फुकेर त्यो संस्था (राजसंस्था) फर्काउन सकिन्न भन्छन्। देउवा, ओली, दाहाल सबै मरेको प्रतिनिधिसभाको हाड फुकेर व्यँताइएको प्रतिनिधिसभाकै सदस्य बनेका हैनन् र? गिरिजाप्रसाद कोइराला त्यहीँबाट प्रधानमन्त्री बनेका हैनन् र?’

वास्तवमा बढी बोल्दा नेताहरु स्वयं विवादमा आकर्षित भएका छन्।

असार २१ गतेको नेकपाको संसदीय दलको बैठकलाई संबोधन गर्दै ओलीले विषादी परीक्षणबारे भने ‘भारतबाट पत्र आयो, खै कसलाई पत्र आयो मैले थाहा पाइन। कसले पढ्यो त्यो पत्र मैले बुझेको छैन।’ तरकारी र फलफूलमा विषादी परीक्षणबारे ओलीले दिएको अभिव्यक्ति सञ्चार माध्यममा पत्रै छापिएपछि झूट सावित भयो। व्यापक आलोचना भएपछि ओलीले अन्तत ‘भारतको पत्रबारे तीन मन्त्रीले गुमराहमा राखे मलाई।’

धुम्बाराहीस्थित पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा ‘धुलो हट्दै गएको र मास्क लगााउनेको संख्या आधा कम भएको भनेपछि विरोधीहरुले मास्क लगाएर हिँड्न थालेका छन्’ भन्ने ओलीको अभिव्यक्तिपनि कम्ता आलोचित भएन।

भदौ २ गते पत्रकार सम्मेलन आयोजना गरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यसको दुई दिनपछि भदौ ४ र ५ मा नेपाल भारत विदेश मन्त्री स्तरीय संयुक्त आयोगको बैठक हुने घोषणा गरे। तर उनका भारतीय समकक्षी एस जयशंकरले आमन्त्रणको बैठकमा भन्दा ओलीसँगै उच्च राजनीतिक भेटघाट गर्न थालेपछि उनको उपस्थिति दुई घण्टा भन्दा कम हुन पुग्यो निर्धारित बैठकमा।

भाग्यबस मन्त्री बाँस्कोटाले जयशंकर र ओलीबीचको लामो बैठक, ‘प्रोटोकल’ लाई लिएर उनका पार्टीका दुई नेता प्रचण्ड र माधवकुमार नेपालले जयशंकर बसेको ठाउँमा गई उनलाई भेट्न अस्वीकार गरेको, अर्का दुई प्रधानमन्त्री शेरबहादुर देउवा र बाबुराम भट्टराई अनि उनीसँगै बहालवाला उपप्रधानमन्त्री उपेन्द्र यादवले जयशंकरसंग भेटेको बारे केही बोलेनन्।

हुनसक्छ भारतीय ‘रअ’ का प्रमुखसँग ओलीको भेटघाटबारेको टिप्पणीमा चिप्लिएपछि मन्त्री बाँस्कोटालाई पछिल्लो समयमा भएका उच्चस्तरीय भ्रमणबारे टिप्पणी नगर्न भनियो।

ओलीले भेटेजस्तो, भेट्न चाहे जस्तो देखिएन भनेर मन्त्री बास्कोटाले जग हँसाएका थिए,साउन ६ गते मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमार्फत।

भदौ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू