गौशालामा रहेका गाईको संरक्षणका लागि ‘एक घर, एक गाई अनुदान’

नेपालगञ्ज – बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ स्थित मटेहिया गौशालामा रहेका गाईहरुको संरक्षणका लागि ‘एक घर, एक गाई अनुदान’ सहयोग सञ्चालन गरिएको छ।

नरैनापुर गाउँपालिकाको सहयोगमा संरक्षण अभियानलाई थप प्रभावकारी बनाउन स्थानीयले प्रतिबद्धता जनाएका छन्। ‘गाई संरक्षणका लागि एक सय जति व्यक्तिले लगानी गर्ने प्रतिबद्धता जनाएका छन्’, मटेहिया छाडा पशु व्यवस्थापन समितिका सचिव रामनिवास यादवले भने, ‘गौशालाको व्यवस्थापन र गाईको संरक्षणका लागि स्थानीयले स्वःस्फूर्तरुपमा सहयोग गर्ने भएका छन्, प्रत्येक ६ महिनामा प्रति घर २० किलो गहुँ वा चामल दिने प्रतिबद्धता आएको छ, त्यसबाट हामीले गाईहरुको आहाराका लागि भुस, नुन र पराल किन्छौँ।’

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद साहले पाँच/पाँच वटा गाई संरक्षणको दायित्व लिएको सचिव यादवले बताए।

गाउँपालिकाको सहयोगमा गत आर्थिक वर्षमा तीन वटा गाईगोठ बनाउनुका साथै गौशाला क्षेत्रमा तारजाली समेत गरिएको छ। ‘गौशालाको व्यवस्थापन र गाई संरक्षणका लागि गाउँपालिकाले सबै सहयोग गर्छ, गौशालाका लागि गाउँपालिकाले १६ लाख लगानी गरिसकेको छ, चालू आर्थिक बर्षमा पनि थप ३० लाख लगानी गर्छौँ’– गाउँपालिकाका अध्यक्ष साहले भने।

अध्यक्ष साहले हाल त्यहाँ भएका गाईहरुको संरक्षणमा ध्यान दिँदै नेपालगञ्ज क्षेत्रमा रहेका छाडा गाईहरुलाई पनि मटेहिया गौशालामा ल्याएर पालिने बताए।

‘हामीसँंग प्रशस्त जग्गा छँदैछ, अब थप संरचना बनाएर नेपालगञ्ज क्षेत्रका गाईहरु पनि यहाँ ल्याएर पाल्छौँ’, साहले थपे, ‘गाईको संरक्षणका लागि गाउँपालिका प्रतिबद्ध छ।’ उनले ३ जना गाई हेरालुको पारिश्रमिक पनि गाउँपालिकाले ब्यहोर्ने बताए।

दश महिनादेखि सञ्चालनमा आएको मटेहिया गौशालामा अहिले करिब ३ सय गाई रहेका छन्। गौशाला क्षेत्रमा गड्यौँले मल उत्पादनको काम पनि शुरु भइसकेको व्यवस्थापन समितिका सचिव यादवले बताए।

गाउँपालिकाकै सहयोगमा केही समय अघि गौशाला क्षेत्रमा अमला र हर्रोका करिब ६ सय विरुवा रोपिएको यादवले जानकारी दिए।

भदौ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्