नेपालगञ्जमा दिउँसै महिलाको साथबाट ३० हजार रुपैयाँ लुटियाे

सांकेतिक तस्बिर।

नेपालगञ्ज– नेपालगञ्जको घरबारी टोलमा एक महिलाको साथबाट ३० हजार रुपैयाँ लुटिएको छ। बाँकेको जानकी गाउँपालिका–८ की पुष्कर रोकायाको साथबाट उक्त रकम लुटिएको हो।

आइएमईबाट ३० हजार रुपैयाँ निकालेर निस्केकी उनी घरबारी टोलमा किनमेल गरिरेहेको बेला मोटर साइकलमा आएको अपरिचित व्यक्तिले झोला तानेर भागेका थिए।

बाँके प्रहरीका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले आइएमईबाट पैसा झिकेर किनमेल गर्ने क्रममा झोला लुटिएको खबर आएकाले लुटेराको खोजी भइरहेको बताए। ‘सिसी क्यामेराहरु हेर्ने काम भइरहेको छ। चोर पत्ता लाग्ला’, प्रवक्ता सापकोटाले भने।

नेपालगञ्जमा चाडवाड बेला चाेरीका घटना बढ्ने गरेका छन्। प्रहरीले चाडवाडमा बैंक, बागेश्वरी मन्दिर र भिडभाड हुने ठाउँमा निगरानी राखे पनि मानिसहरु लुटिने क्रम भने रोकिएको छैन।

प्रहरीले वर्षेनी बैंकबाट पैसा झिकिसकेपछि, मन्दिर र भिडभाडमा रहँदा चनाखो बन्न सूचना निकालेर आग्रह गर्ने गर्दछ।

बैंक आसपासमा भने फोहोरको लेदो जस्तो छर्किदिने र त्यो सफा गर्ने क्रममा झोला राख्दा लिएर भाग्ने या सफा गरिरहेको बेलामा बेहोस् हुने पदार्थ सुँघाइदिएर लुट्ने गरेको पाइएको छ।

भदौ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्