प्रदेश–एकका १० रिक्त पदमा उप–चुनाव हुने

फाइल तस्बिर

मोरङ– प्रदेश एकका ६ जिल्लामा स्थानीय तहका विभिन्न १० रिक्त पदमा उपनिर्वाचन हुने भएकाे छ।

पाँचथरमा तीन, सुनसरी र संखुवासभामा समान दुई, खोटाङ, विराटनगर र भोजपुरमा समान एक स्थानमा गरी कुल १० स्थानमा मंसिर १४ गते उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ।

आयोगले केही दिन भित्र दल दर्ताको सूचना र भदौ मसान्तसम्मको समयसीमा आव्हान गर्ने अन्तिम तयारी गरिरहेको छ।

मोरङ जिल्लाको धनपालथान गाँउपालिकाको वडा नम्बर २ मा पनि उपनिर्वाचन हुनेछ। तत्कालिन एमालेका अध्यक्ष बलिराम भगतको गतवर्ष जेष्ठमा निधन भएपछि हाल सो क्षेत्रमा उपनिर्वाचनको तयारी सुरु भएको हाे। गाँउपालिकाका अनुसार स्थानीय तहको गत निर्वाचनमा सो वडामा ४ हजार ३ सय मतदाता संख्या रहेको थियो।

त्यसैगरि, सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बा र वडा नम्बर ७ का अध्यक्ष भुपेन्द्रराज मोक्तानको पनि निधनपछि उपनिर्वाचन हुन लागेको छ। धरान नगर प्रमुखका लागि नेकपाबाट धेरै आकांक्षीहरु देखिएका छन्।

काठमाडौँको कीर्तीपुरस्थित त्रिभुवन विश्वविद्यालयका स्ववियू सभापतिको जिम्मेवारी सम्हासिसकेका विजय राई, गत निर्वाचनमा माओवादीबाट उम्मेद्वार बनेका आइन्द्र बेघा, जिल्ला सदस्य प्रकाश राई र पदम लिम्बू प्रमुखको आकांक्षी देखिएका छन्।

नगर प्रमुखका आकांक्षी विजय राईले धरानको विकासका लागि तारा सुब्बाको सपना पुरा गर्ने बताए। दिनानुदिन खानेपानी, सडक जस्ता अपरिहार्य सेवाबाट धरानवासी बञ्चित भइरहेको उनको गुनासो छ।

आकांक्षीमध्ये नगर र जिल्लाले प्रदेश कमिटिलाई सुझाव पठाउने र प्रदेश कमिटिले पार्टी नेतृत्वतहमा नाम पठाउनेछ।

त्यसैगरि नेपाली कांग्रेसको तर्फबाट सुजेन्द्र तामाङ, तिलक राई आकांक्षी देखिएका छन्।

धरानमा ८९ हजार ५ सय ४३ मतदाता संख्या रहेको जिल्ला निर्वाचन कार्यालय निमित्त प्रमुख अजयकुमार मिश्रले जानकारी दिए।

भदौ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्