असुरक्षित बैंकहरु

शनिबार काठमाडौँस्थित केही एटीएम (अटोमेटिक टेलर मेसिन) मा प्रविधियुक्त डकैती भयो। नक्कली कार्ड प्रयोग गरी केही चिनियाँ लुटेराहरुले ठूलो रकम निकाले। अनुमानत: २ करोडदेखि ३ करोड ५० लाख रुपैयाँ उनीहरुले आपराधिक शैली र नक्कली कार्डको प्रयोगबाट निकाले।

सचेत बैंक कर्मचारीद्वारा निश्चित एटीएममा संदिग्ध गतिविधिजस्तो लागेको सूचना पाउनेबित्तिकै प्रहरी त्यहाँ पुगी एकजना व्यक्तिलाई अनाधिकृत रुपमा निकालेको केही रकमसहित गिरफ्तार गर्न सफल भएकाले यो समग्र घटना ‘बैकिङ’ सुरक्षाका लागि एउटा सकारात्मक चेतावनीका रुपमा आएको छ। अहिलेसम्म प्रहरीले ६ जनालाई गिरफ्तार गरेको छ। र, त्यसमा पाँच चिनियाँ तथा एक फ्रान्सेली राहदानीबाहक छन्। त्यसले यो आर्थिक अपराधमा व्यापक अन्तर्राष्ट्रिय आयाम भएको देखाएको छ।

विज्ञापन

काठमाडौँको मंहगो होटलमा लुटेर वा बैंक डकैतीका लागि आएकाहरुले डेरा जमाउनुलाई नै उनीहरुमा आफ्नो ‘मिसन’ प्रतिको प्रतिबद्धता र कार्यसिद्धबारे विश्वासको मात्रा देखाउँछ। नेपाल प्रहरीले त्यो अर्थमा एउटा गम्भीर आर्थिक दुर्घटनाबाट मुलुकलाई जोगाएको छ, तत्काल सक्रियता देखाएर।

तर यस घटनाले अरु खतरनाक चेतावनी दिएको छ र प्रश्न पनि उठाएको छ। यस्ता अपराधीबारे अग्रिम सूचना हासिल गर्ने र ‘रंगेहात’ गिरफ्तार नभएका अवस्थामा छानबिन गर्ने प्रविधि र विज्ञता नेपाल प्रहरीमा छैन। दोस्रो र अझ महत्वपूर्ण कुरा हो- नेपालमा बैंकहरुमा मौज्दात रकमको सुरक्षा व्यवस्थामा अपूर्णता। ‘नक्कली कार्ड’को प्रयोग हुँदा कसरी नेप्स (नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम) ले त्यसलाई चिन्न र रोक्न सकेन?

यस्तो घटनाको पुनरावृत्ति हुनु नै बैंकहरु जनताको मौज्दात रकमको सुरक्षाप्रति संवेदनहीन हुनु हो। राजधानीकै अर्को बैंकबाट करोडौं रुपैयाँ चोरी भएको केही महिनामा नै राजधानीका सबै एटीएम रित्याउने हिसाबले विदेशीहरु आउनु र प्रारम्भिक सफलता हासिल गर्नुले त्यो आशंकालाई पुष्टि गर्छ। अहिलेसम्म प्राप्त अनुसार यो गिरोहको अन्तर्राष्ट्रिय सञ्जाल छ र त्यो सफल भएमा बैंकिङ प्रणाली ध्वस्त नभए पनि लामो समयका लागि अविश्वसनीय बन्नेछ। घटनाका प्रारम्भिक विवरण सार्वजनिक भए लगत्तै राष्ट्र बैंकले आकस्मिक बैठक गरेर सबै ग्राहक र निक्षेपकर्तालाई उनीहरुको संचित धन सुरक्षित रहेको भन्दै यो घटनाबाट आतंकित नहुन र बैंकहरुलाई विश्वास गर्न अनुरोध गरेको थियो।

व्यवसायिक रुपले राष्ट्र बैंकको यो आग्रहलाई आवश्यक र सकारात्मक मान्नुपर्छ। तर, के विभिन्न राष्ट्रहरुका बैंकहरुसँग प्रत्यक्ष करोबार पद्धति र सम्बन्ध विकसित हुँदा अन्तर्राष्ट्रियस्तरको सुरक्षा पद्धति सुनिश्चित हुन्छ? यो प्रश्नलाई सम्बोधन गर्नु राष्ट्रबैंकसँगै समग्र बैंकिङ प्रणालीको पहिलो दायित्व बन्न पुगेको छ।

भदौ १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्