अनुसन्धानका काम किसानसँग जोडेर गर्न कृषि अनुसन्धान परिषदलाई मन्त्री खनालको निर्देशन

काठमाडौँ – कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले किसानसँग जोडेर अनुसन्धानको कामलाई अघि बढाउन कृषि अनुसन्धान परिषदलाई निर्देशन दिएका छन् ।

मन्त्री खनालले जलवायु परिवर्तनले बीउबीजन र कृषि क्षेत्रको समग्र उत्पादनमा पारेको असरको लेखाजोखा गरिदिन पनि कृषि विज्ञहरुलाई आग्रह गरे । उनले कृषि उत्पादन र त्यसको बीउबीजनको उत्पादन बढाउने गरी अनुसन्धानको कामलाई अघि बढाउनुपर्नेमा पनि जोड दिए ।

विज्ञापन

मंगलबारदेखि काठमाडौँमा सुरु भएको अन्तर्राष्ट्रिय बीउ सम्मेलनको उद्घाटन गर्दै उनले कृषि उत्पादनमा बढावा दिने गरी कृषि अनुसन्धान परिषदको कामको दायरालाई बढाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे । मन्त्री खनालले मुलुकको आर्थिक विकासका लागि कृषि क्षेत्रको योगदानलाई फराकिलो बनाउँदै लैजान सरकारले जोड दिएको पनि स्पष्ट पारे ।

मन्त्री खनालले कृषि बीउबीजनहरुको उत्पादन नेपालमै गर्ने तर त्यसका लागि अन्य देशको आवश्यक प्रविधि तथा अनुसन्धानलाई भित्र्याउनुपर्ने आवश्यक्ता पनि औँल्याए । दुई दिनसम्म चल्ने सो सम्मेलनमा कृषि बीउबीजनको उत्पादन बढाउने गरी विविध विषयमा छलफल हुने बताइएको छ ।

भदौ १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्