अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिड्नी-अन्तर्राष्ट्रिय झापाली समाजको दोश्रो अन्तर्राष्ट्रिय सम्मेलन यही असोज २५ र २६ गते झापाको विर्तामोडमा आयोजना हुने भएको छ।

झापा घर भई विश्वभर बसोवास गर्ने झापालीहरूलाई एकतावद्ध गर्ने तथा झापा जिल्लाको समग्र हितका लागि कार्यक्रमहरू गर्ने मूल उद्देश्यका साथ स्थापित अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले नयाँ कार्यसमितिको चयन पनि गर्नेछ।

विज्ञापन

सो सम्मेलनमा विश्वभरका २४ वटा देशहरूबाट करिब ५ सय प्रतिनिधिहरूको उपस्थिति रहने कुरा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेलले देशसञ्चारलाई बताए।

उनले भने, ‘सम्मेलनमा नयाँ कार्यसमितिको चयन हुनुका साथै समाजले गरिरहेका विभिन्न परियोजनाहरू हस्तान्तरण समेत गरिनेछ। यसका अलावा झापा जिल्लामा आगामी दिनमा गरिने परोपकारी तथा अन्य कार्यक्रमहरू तथा भविष्यका नयाँ योजनाका बारेमा समेत विस्तृत रूपमा छलफल गरिनेछ। साथै झापाका सर्वपक्षीय अग्रज नेता तथा दिग्गजहरूसँग अन्तरक्रिया समेत हुनेछ।’

सम्मेलनमा असोज २५ गते खुल्ला सत्र तथा २५ र २६ गते बन्द सत्र हुनेछ। सन् २०१७ को अक्टोबर महिनामा अन्तर्राष्ट्रिय झापाली समाजको विर्तामोडमा सम्पन्न प्रथम अधिवेसनबाट बनेको कार्यसमितिले विश्वभर झापालीहरूलाई एकतावद्ध गर्दै समाजको विस्तार गर्दै आइरहेको छ।

भदौ १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू