कराेडाैँ हिनामिना गरेकाे सहकारीविरुद्ध पीडितहरुद्वारा नेपालगञ्‍जमा प्रदर्शन

नेपालगञ्ज – करोडाैँ रुपैयाँ हिनामिना गरेकाे सहकारी वित्तिय विकास संस्था लिमिटेडका बचतकर्ताले नेपालगञ्जमा प्रदर्शन गरेका छन्।

बचतकर्ताहरुले गठन गरेको संघर्ष समितिको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, बाँके अगाडि प्रदर्शन गर्दै केही घण्टा चक्काजाम गरिएको हो। संघर्ष समितिले प्रदर्शनसँगै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाएको छ।

सहकारीको कार्यालय जिल्ला प्रशासन कार्यालय परिसरसँगै जोडिएको छ। सञ्चालक समितिका केही पदाधिकारीलाई प्रहरीले पक्राउ गरेर थुनेको र केही फरार रहेपछि सहकारी बन्द छ।

सहकारी कार्यालय अगाडि जम्मा भएका बचतकर्ताहरु प्रदर्शन र नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारमा पुगेका थिए।

करिब ४० करोड बढीको हिनामिना भएको पाइएपछि प्रहरीले सहकारीका ६ जना कर्मचारीलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ।

बाँके प्रहरीले अरुणकुमार पाठक, गंगाधुर सुवेदी, गोपाल भण्डारी, स्थीरमणि बज्राचार्य, प्रकाश चौधरी र बलराम यादवलाई पक्राउ गरेको छ। प्रहरीले अरु सञ्चालकको खोजी गरिरहेको छ। सहकारीका अध्यक्ष हरदेवबक्स चौधरीलगायतका अरु सञ्चालकहरु पनि सम्पर्कविहीन रहेका छन्।

११ हजार ४ सय आठ जना निक्षेपकर्ता रहेको सहकारीको नेपालगञ्ज, खजुरा र बैजापुरमा शाखा रहेको थियो। प्रहरीले बचतकर्ताहरुलाई आफूसँग भएको प्रमाण लिएर सम्पर्कमा आउन सार्वजनिक आह्वान गरिसकेको छ।

संघर्ष समितिका सहसंयोजक आशुतोषकुमार शुक्लाले बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउनका लागि दबाब बढाएको बताए।

 

भदौ १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू