कान्ति लोकपथमा गएको पहिराका कारण १० करोड बराबरको क्षति

काठमाडौँ – निर्माणाधीन कान्ति लोकपथमा ठाउँठाउँमा गएको पहिराका कारण ३० करोड क्षति भएको छ । गत असार र साउनमा परेको वर्षाका कारण कान्ति लोकपथमा गएको पहिरा अझै हटिसकेको छैन ।

ललितपुरको चापागाउँ हुँदै हेटौँडासम्म पुग्ने सडकमा बाँकी रहेको पहिरो आगामी दसैँसम्ममा हटाइसक्ने कान्ति लोकपथ योजनाले जनाएको छ । तत्कालका लागि पहिरा हटाएर एकतर्फी सडक सञ्चालन भइरहेको योजनाका सूचना अधिकारी अमिन्द्र खड्काले बताए । उनका अनुसार कतिपय स्थानमा माथिबाट आएको पहिराका कारण सडक अवरुद्ध थियो भने कतिपय स्थानमा पहिराले बाटो नै बगाएको थियो ।

लितपुरतर्फ भालुखोला नजिकका स्थानमा र मकवानपुरतर्फ ठिङ्गनमा पहिराले बाटो बगाएको थियो । उनले भन्नुभयो, “झण्डै ४०० मिटर सडकमा ट्र्याक बगाएकामा अहिले निर्माणको काम शुरु भइसकेको छ ।”

अहिले निर्माणाधीन सडक भएकाले यो सडकमा वर्षाले बढी क्षति पुर्‍याएको सडक विभागले बताउँदै आएको छ । कतिपय स्थानमा अहिले काम गरिरहेका ठेकेदार कम्पनीले नै क्षतिबापत बीमाको दाबी गरेका छन् । तीबाहेकका सडकमा भने योजनाले नै बजेट दिएर काम गराउने खड्काले बताए । उनले भने, “पहिराले क्षति पुगेका सडकमध्ये कतिपयमा पुरानै ठेकेदार त कतिपयमा नयाँ ठेक्का गरेर पनि काम हुनेछ ।” लोकपथमा अहिले ललितपुरतर्फको सडक सञ्चालन रहेको वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले बताए । उनका अनुसार गत महीनाहरूमा सडक हप्तौँसम्म अवरुद्ध थियो । उनले भने, “ठाउँठाउँमा दोहोरो गाडी चल्न नसके पनि एकातर्फ चलिरहेको छ ।”

सो सडकमा आगामी वर्षसम्म निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । अहिलेसम्म सडकको ४५ किलोमिटर कालोपत्र र ३९ किलोमिटर सडक ग्राभेल सकिएको योजनाले जनाएको छ । अहिलेसम्म पाँच किलोमिटरमा मात्रै सडक स्तरोन्नतिको काम हुन सकेको छैन । विसं २०१६ मा नेपाली सेनाले निर्माण शुरु भए पनि लामो समयसम्म यो सडक सरकारको प्राथमिकतामा परेको थिएन ।

निर्माण सुरु भएको ६ दशकपछि लोकपथ पूर्णता पाउने अन्तिम चरणमा पुगेको सूचना अधिकारी खड्काले बताए । विसं २०७२–७३ पछि सडक सरकारको प्राथमिकतामा परेसँगै सडकको स्तरोन्नति भइरहेको छ । सरकारले यस सडकलाई पहिलो प्राथमिकतामा राखेसँगै योजना कार्यालयको स्थापना भएको हो । सरकारले एक दशकयता बर्सेनि सडकका लागि बजेट विनियोजन गर्दै आएको उनले जानकारी दिए । उनले भने, “विभिन्न अवरोध हुँदाहुँदै सडक निर्माणले गति लिइरहेको छ, समयमै काम सकिनेमा हामी ढुक्क छौँ ।”

यो सडकमा निर्माण सुरु हुँदा लम्बाई ९२ किलोमिटर रहेको थियो । चौडाइ कम हुँदा लम्बाइ बढी देखिएको र अहिले ९० किलोमिटर पुगेको छ । सडकको निर्माण सम्पन्न हुँदासम्म लम्बाई त्यसभन्दा पनि कम हुने सूचना अधिकारी खड्काले बताए । नब्बे किलोमिटर लम्बाइमा ७९ किलोमिटर ललितपुरमा र २८ किमी मकवानपुर जिल्लामा पर्छ । मकवानपुरतर्फ डेढ किलोमिटर र ललितपुरतर्फको चार किलोमिटर सडकलाई फराकिलो बनाउन ढुङ्गा बिस्फोटन गर्न आवश्यक रहेको बताइएको छ ।

यो सडकमा अहिले हलुका सवारी साधन हेटौँडा–काठमाडौँ आवतजावत गर्न थालिसकेका छन् । सडक चौडा र नाली बनाउने तथा कालोपत्रको काम भइरहेको छ । निर्माणाधीन यो सडकलाई हेटौँडाबाट मुग्लिन हुँदै काठमाडौँसम्मको २२६ किलोमिटर लम्बाइको हेटौँडाबाट पालुङ हुँदै काठमाडौँ आउने १३६ किमी सडकको विकल्पका रूपमा समेत हेरिएको छ ।

यो सडक निर्माण सम्पन्न गर्न मकवानपुरतर्फ करिब रु ८५ करोड र ललितपुरमा रु एक अर्बभन्दा बढी खर्च लाग्ने अनुमान छ । वर्षामा मात्रै नभएर हिउँदमा समेत पहिरो जाने सडकमा त्योसँगै सडकको अधिकार क्षेत्रमा पर्ने घरहरू पनि समस्याका रूपमा रहेको योजनाको भनाई छ ।

नब्बे किलोमिटर लम्बाइको यो सडकमा छपेली, तीनपानेलगायत विभिन्न स्थानमा सडकको मापदण्डभित्र घर पर्दछन् । मकवानपुर जिल्लामा भन्दा सडकको अधिकार क्षेत्र अतिक्रमण ललितपुर जिल्लामा बढी रहेको योजनाले जनाएको छ । सडकको जम्मा ३० मिटर चौडाइ रहेकामा त्यहीँभित्रै घर र पसलको टहरा रहेका र तिनलाई हटाउन नसकिएको सूचना अधिकारी खड्काले जानकारी दिए । उनले भने, “हामीले पटकपटक प्रयास गर्दा अझैसम्म स्थायी वा अस्थायी संरचना हटाउन सकिएको छैन ।”

भदौ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्