नेइमारका लागि अब के?

नेइमारले दुई वर्षअघि साथी खेलाडी जेरार्ड पिकेलाई असत्य साबित गरेका थिए । तर यसपटक आफैले चाहेको मार्गलाई सत्य वा सहज बनाउन सकेनन् ।

दुई वर्षअघि पिकेले ‘ही स्टेज’ अर्थात उनी यही क्लबमा रहने छन् लेखेका थिए । त्यसको १० दिनपछि नेइमार विश्व कीर्तिमानी मूल्यमा फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) गए ।

विज्ञापन


अहिले फेरि ‘ही स्टेइस्’ चर्चामा छ नेइमारकै लागि । तर दुई वर्षअघिको जस्तो केही दिनमै टुट्ने गरी होइन । कम्तिमा आउँदो जनवरीसम्मका लागि यसको सान्दर्भिकता कायम रहने छ । नेइमारका नजिकका स्रोतहरुको भनाई मान्ने हो भने उनी अब यो पूरै सिजन पिएसजीमै रहने चाहनामा छन् ।

आफूले चाहेको बार्सिलोना फिर्ता तत्कालका लागि सम्भव नभएपछि नेइमार सिजनको बिचमा कतै जाने मनसायमा नरहेको बताइन्छ । तर सम्भावनाको ढोका भने खुल्ला नै रहन्छ जहिले पनि ।

नेइमार बार्सिलोना फर्किन चाहन्थे र चाहन्छन् किनकी उनको मन पिएसजीमा बसेको छैन । मन मिल्ने साथी छन् बार्सिलोनामा मेस्सी, स्वारेज, पिकेसहित । मेस्सीले त नेइमारलाई म्यासेज नै गरेर फिर्ता आउन आग्रह गरेका थिए । त्यहि म्यासेजका कारण पनि नेइमार आफैले पहल गरे आफ्नो पिएसजी बर्हिगमनका लागि ।

तर लगातारको प्रयासका बाबजुद तत्कालका लागि सम्भव भएन । उनले आफ्नो बार्सिलोना फिर्ताको मार्ग प्रशस्त गर्नका लागि बार्सिलोनाले तिर्नु पर्ने मध्ये १८ मिलियन पाउण्डसम्म व्यक्तिगत रुपमा तिर्न पनि तयार भएका थिए । तर पिएसजी भने जति रकम नपाई सम्झौता गर्न तयार भएन, बार्सिलोनाले ठूलो रकम तत्काल तिर्न तत्परता देखाएन ।

अन्ततः नेइमार पिएसजीमै रहने भए । पिएसजीका प्रशिक्षक थोमस टुसिल पनि नेइमार क्लबमै रहुन् भन्ने चाहन्थे । तर स्पोर्टिङ्ग डाइरेक्टर लियोनार्डो भने नेइमारप्रति अलि कडा देखिए । हुन त लियोनार्डो पनि ब्राजिलकै हुन् र ब्राजिलको टिमबाट विश्वकप पनि जितेका थिए । तर नेइमारसँग उनको सम्बन्ध त्यति सुमधुर देखिएको छैन ।

उनले नेइमार प्रि–सिजन प्रशिक्षणमा भनेको समयमा आउन नसकेपछि त्यसै चुप लागेर बस्ने बताए । क्लब भन्दा कोही पनि ठूलो नरहेको भने । नेइमार जान चाहन्छन् भने जान सक्छन् र त्यसका लागि प्रयास भइरहेको छ पनि भने । तर यी सबै प्रक्रियाबाट प्रशिक्षक थोमस भने सकेसम्म बाहिर रहे ।

नेइमार क्लबमा बस्न नचाहेको चर्चा चलिरहँदा सुरु भएको नयाँ सिजन अन्तर्गत घरेलु मैदानमा भएको पहिलो खेलमा पिएसजीका फ्यानले नेइमार विरोधी नारा लगाए, ब्यानर देखाए ।

अब नेइमार पिएसजीकै जर्सीमा रहने भएपछि उनलाई सबैभन्दा ठूलो चुनौति हुनेछ समर्थकको मन पुनः जित्ने । तर यो काम त्यति सजिलो भने छैन, केही समय पक्कै लाग्छ ।

साथी खेलाडीबाट भने उनलाई कुनै समस्या नरहेको बताइन्छ । पिएसजीका सबै खेलाडी नेइमारको क्षमता र उनको उपस्थितिले क्लबको नतिजामा पर्ने प्रभावबारे जानकार छन् ।

भदौ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्