जलवायु परिवर्तन

चीनको बेल्ट एण्ड रोड योजना विश्वव्यापी तापमान वृद्धि नियन्त्रण प्रयासका लागि घातक

चीनले विश्वव्यापी रुपमा खर्बौँ लगानी गर्ने गरी ल्याएको योजनाले विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धि सीमित गर्ने या कम गर्ने प्रयासमा गम्भीर धक्का लाग्ने देखिएको एक अध्ययनमा उल्लेख छ ।

गएको सोमबार प्रकाशित भएको अनुसन्धान प्रतिवेदन अनुसार चीनको लगानीको विश्वव्यापी योजना बेल्ट–रोडका कारण विश्वव्यापी तापमान वृद्धि २.७ डिग्री सेल्सियससम्म पुग्न सक्ने उल्लेख गरिएको छ ।

विज्ञापन

सन् २०१५ मा भएको पेरिस जलवायु सम्झौतामा विश्वव्यापी रुपमा तापमान वृद्धि २ डिग्री सेल्सियस भन्दा कममा सीमित गर्न विश्वका प्रायः देश सहमत भएका छन् ।

बेल्ट एण्ड रोड रिजनमा पर्ने १२६ देशको भूमिका विश्वव्यापी रुपमा हुने काबर्न उत्सर्जन मध्ये २८ प्रतिशत रहेको छ । तर यो मात्रा सन् २०५० सम्ममा ६६ प्रतिशत पुग्ने देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ

चीनको केन्द्रीय बैंकका विशेष सल्लाहकार मा जुनको नेतृत्वमा भएको अनुसन्धानमा यस्तो देखिएको हो । यसको अर्थ विश्वव्यापी रुपमा कार्बनको उत्सर्जनको मात्रा तापमान वृद्धि २ डिग्री सेल्सियस भन्दा काम गर्नका लागि आवश्यक तय गरिएको भन्दा दोब्बर बढी हो ।

तिवेदनमा भनिएको छ, ‘बेल्टे एण्ड रोड रिजनका देशले तीव्र रुपमा गरिरहेको कार्बन उत्सजर्न कायम रह्यो भने तापमान वृद्धि २.७ डिग्री सेल्सियस भन्दा कम हुने छैन, यदी बाँकी विश्वले दुई डिग्री भन्दा कम तापमान वृद्धिको दर कायम राखे पनि ।’

तापमान वृद्धि कम गर्नका लागि भौतिक पूर्वाधारका क्षेत्रमा गरिने १२ ट्रिलियन अमेरिकी डलर बराबरको लगानीलाई ‘डिकार्बनाइज’ गरिनु पर्ने अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । ती लगानीमा लो–कार्बन टेक्नोलोजी र प्रयासहरु अपनाउन भनिएको छ । तर यो प्रयास नै पनि २०५० को उद्देश्य पूरा गर्नका लागि पर्याप्त हुने छैन ।

बेल्ट एण्ड रोड चीनको प्रयासमा तयार भएको कार्यक्रम हो, जसमा भौतिक पूर्वाधार तथा उर्जा क्षेत्रमा लगानी गरेर एसिया तथा त्यो भन्दा बाहिरका क्षेत्रबिच आर्थिक सम्बन्धलाई बलियो बनाउने उद्देश्य राखिएको छ ।

चीनले आफ्नो उर्जा प्रणालीलाई डिकार्बनाइज गर्ने प्रतिबद्धता जनाए पनि कोइला जन्य परियोजनालाई स्वीकृति तथा लगानी गर्दै आएको छ ।

चीनले सन् २०१४ यता बेल्ट एण्ड रोड रिजनका देशमा कोइलाबाट उत्पादन हुने ६७.९ गिगावाट्स उर्जाका लागि लगानी गरेको छ । त्यसको तुलनामा निकै कम अर्थात १२.६ गिगावाट्स उर्जा हावा र सौर्यबाट उत्पादन भएको छ ।

भदौ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्