रेडियो नेपाल, सुदुरपश्‍चिमका पत्रकारहरुलाई पुर्नवहाली गर्न माग गर्दै प्रेस युनियनद्वारा ज्ञापन पत्र

सिमकोट- राजनीतिक पूर्वाग्रह साँधेर रेडियो प्रसार विकास समितिले रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक केन्द्र दिपायलमा लामो समयदेखि कार्यरत पत्रकारहरुलाई हटाएकोप्रति नेपाल प्रेस युनियन हुम्ला शाखाले गम्भीर आपत्ति जनाएको छ।

बुधबार युनियनले रेडियो नेपालमा कार्यरत पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्र बहादुर कुवँरको पुर्नवाहलीको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएका हुन।

विज्ञापन

प्रेस युनियनले तीनै जना पत्रकारहरुलाई तत्काल पुर्नवहाली गर्न यस अघि पटक पटक दबाब दिदै आएपनि रेडियो नेपालको व्यवस्थापन पक्षले कुनै सुनुवाई नगरेकाले थप आन्दोलन गर्ने निष्कर्ष निकालेको हो।

यस्तै युनियन पहिलो चरणमा यही भदौ १८ गते देश भरीका प्रेस युनियनका शाखाले सम्बन्धीत जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुसार यो ज्ञापन पत्र प्रजिअ मार्फत सञ्चारकर्मीलाई बुझाइएको हो।

यस्तै सरकारी सञ्चारमाध्यममा पनि वर्तमान सरकारले लामो समयदेखि काम गरिरहेका व्यवसायिक पत्रकारलाई निष्कासन गरी आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्ने तथा स्टिङगरको म्याद थप नगरेको प्रति युनियन हुम्ला शाखाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

साथै यस्ता क्रियाकलापको विरोध एवं भत्सर्ना गर्दै तत्काल सच्याउन माग गरेको छ । त्यस्तै प्रेस स्वतन्त्रता विरोधी विभिन्न प्रावधान रहेको र सर्वत्र विरोध भएपछि केही समय स्थगन गरिएको मिडिया काउन्सिल विधेयक सरोकारवाला संघसस्थासँग कुनै सल्लाह र परामर्श नगरी एकाएक राष्ट्रियसभाबाट प्रक्रिया अघि बढाएकोप्रति युनियनको केन्द्यि नीति अनुसार ध्यानाकर्षण भएको जनाएको छ।

सरोकारवालाहरुको मागलाई सम्बोधन गर्दै संसदमा रहेका दलहरुको सहमतिबाटै मिडिया काउन्सिल लगायत विधेयक पारित गर्न युनियन माग गर्दछ।

यसैगरी सरोकारवालाहरुसँगको सहमतिको हवाला दिदै विवादास्पद प्रावधानलाई राखेर प्रेस काउन्सिलले असोज ६ गतेबाट आचारसंहिता लागू गर्ने भनिएकोमा हाम्रो असहमति रहेको हुम्ला शाखाका अध्यक्ष राजन रावतद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ।

भदौ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्