भारत जान्छु भनी हिँडेका व्यवसायी पाँच दिनदेखि सम्पर्कविहीन

पाँच दिनदेखि सम्पर्कविहीन वीरेन्द्र भण्डारी।

धनगढी– भारत जाने भन्दै हिँडेका धनगढीका एक जना व्यवसायी पाँच दिनदेखी सम्पर्कविहीन बनेका छन्।

भदौ १३ गते धनगढीबाट भारतको मुम्बई जान हिडेका धनगढी–४ का वीरेन्द्र भण्डारी त्यसयता कसैको सम्पर्कमा नआएको परिवारका सदस्यले जानकारी दिएका छन्।

विज्ञापन

अन्दाजी ३२ वर्षका भण्डारी धनगढीमा होटल व्यवसाय गर्दै आएका थिए। भण्डारीसँग संयुक्त लगानीमा होटल व्यवसाय गरिरहेका उनका दाई नाता पर्ने गम्भीर भण्डारीले भदौ १३ गते दिउँसो साढे तीन बजेदेखि सम्पर्कवहीन भएको बताए।

आठ महिना पहिले मात्र भारतबाट धनगढी फर्केर व्यवसाय थालेका भण्डारी यसअघि चार वर्षदेखि मुम्बईको एक होटलमा काम गर्दै आएका थिए। उनी सञ्चय कोषको रकम झिक्न भारत जान्छु भनी हिडेको गम्भीर भण्डारीले बताए।

वीरेन्द्र पाँच दिनसम्म पनि सम्पर्कमा नआएपछि गम्भीर भण्डारीले खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन पनि दर्ता गराएका छन्। मंगलबार वीरेन्द्र भण्डारीको खोजीका लागि भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गरेको उनले बताए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले निवेदनका आधारमा वेपत्ता भएका भण्डारीको खोजी कार्य जारी राखिएको जानकारी दिए। तर हाल सम्म कुनै पत्ता नलागेको बस्नेतले बताए।

भदौ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्