‘पाठेघर र डिम्बाशयको क्यान्सर एउटै होइन’

‘पाठेघर र डिम्बाशयको क्यान्सर एउटै होइन’

काठमाडौँ– सेप्टेम्बर महिना सुरु भएसँगै डिम्बाशय क्यान्सरबारे जनचेतना फैलाउने कार्यक्रम सुरु भएको छ।

विश्वभर मनाइने याे कार्यक्रम नेपालमा विगत तीन वर्षदेखि मनाउन थालिएको हो। सेप्टेम्बर महिनाभर डिम्बाशय क्यान्सरबारे आम नागरिक माझ जनचेतना फैलाउने उद्देश्यले उक्त कार्यक्रम नेपालमा पनि सुरु गरिएको हो।

विज्ञापन

कार्यक्रम नेशनल हेल्थ एण्ड क्यान्सर रिर्सच सेन्टर, क्यान्सर केयर नेपाल, बन्दीपुर सोसल डेभलपमेन्ट कमिटी र खड्गदेवी ग्रुप प्रालिले संयुक्त रुममा प्रत्येक वर्षको सेप्टेम्बर महिनामा आयोजना गर्दै आइरहेका छन्।

विश्वको तथ्याङ्कलाई हेर्ने हो भने डिम्बासयको क्यान्सर पाँचौँ नम्बरमा र नेपालमा चौँथो नम्बरमा रहेको चिकित्सकहरुको भनाई छ। पछिल्लो समय सार्वजनिक भएको तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा डिम्बासय क्यान्सर बढ्दो रहेको चिकित्सकहरु बताउँछन्।

धेरै मानिसलाई डिम्बासयको क्यान्सर र पाठेधरको क्यान्सरबीचको फरक थाहा नभएको क्यान्सर विशेषज्ञ डा. सन्ध्या चापागाईले बताइन्।

उनले भनिन्,‘कतिपयले पाठेघर र डिम्बासयको क्यान्सरलाई एउटै भन्ने गरेको पाइन्छ तर यो एउटै होइन। पाठेघर भनेको बच्चा बस्ने ठाउँ हो, डिम्बासयले महिलाहरुमा प्रजननका लागि चाहिने हर्मोनहरुको उत्पादन गर्ने गर्छ।’

चिकित्सकका अनुसार के कारणले डिम्बासयको क्यान्सर हुन्छ भन्ने अहिलेसम्म पनि पत्ता लाग्न सकेकेको छैन। तर विभिन्न रोगका साथसाथै डिम्बासय क्यान्सर १० प्रतिशत वंशाणुत हुने डा. चापागाईले बताइन्।

डिम्बासय क्यान्सर पत्ता लगाउन गाह्रो हुने डा. चापागाईले बताइन्। उनले भनिन्,‘यसका लक्षणहरु एकदमै भेग छन्, जसले गर्दा यसको पहिचान तेस्रो स्टेजमा मात्र हुने गर्छ।’ यो समस्या नेपालमा मात्र नभएर विकशित देशहरुमासमेत भएको चिकित्सकहरुले बताउने गरेका छन्।

त्यस्तै ७ वर्ष आगाडि डिम्बासय क्यान्सर भएकी नायिका मनिषा कोइरालाले आफूलाई क्यान्सर भएको अन्तिम स्टेजमा थाहा भएको बताउँदै भनिन्,‘मलाई क्यान्सर भएको अन्तिम स्टेजमा थाहा भयो तर मेरो उपचारमा संलग्न सम्पूर्ण डाक्टरहरु राम्रो भएकाले म निको भएँ।’

मानिस स्वास्थ हुनका लागि आराम, व्यायाम जस्ता कुरा अत्यन्तै महत्वपूर्ण हुने उनले बताइन्। क्यान्सरबाट बच्नका लागि सन्तुलित आहारले अहम भुमिका खेल्ने डा. प्रभुराज वैद्य बताए।

उनले भने,‘पछिल्लो समय विषादीयुक्त खाने कुरा, तरकारी खाने गरेका छौँ, यस्तो विषादीयुक्त खाने कुराहरु खाएर हामी कसरी स्वस्थ हुन सक्छौँ र?’ क्यान्सरसँग लड्नका लागि सबै भन्दा ठूलो आत्मबलको आवश्यक्ता पर्ने उनले बताए।

चिकित्सकहरुले ४० वर्षपछि महिलाले अनिवार्य डिम्बासयको जाँच गर्न आवश्यक भएका कारण सबै महिलालाई जाँच गराउँन सुझाएका छन्।

भदौ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्