नेशनल जियोग्राफीले चन्द्रयान–२ ‘ल्याण्डिङ’को प्रत्यक्ष प्रसारण गर्ने

चन्द्रयान- २

एजेन्सी-अन्तरिक्ष विज्ञानमा रूची राख्ने र भारतीय चन्द्रयान– २ बारे उत्सुकता राख्‍नेहरुका लागि खुशीको खबर आएको छ।

भारतीय अन्तरिक्ष एजेन्सी ‘इसरो’को यस ऐतिहासिक उपलब्धिको प्रत्यक्ष प्रसारण हुने भएको छ। अमेरिकाको प्रसिद्ध टेलिभिजन नेटवर्क नेशनल जियोग्राफिले यसको प्रत्यक्ष प्रसारण गर्ने भएको हो।

विज्ञापन

भारतीय चन्द्र मिसन करिब अन्तिम चरणमा पुगेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र (इसरो)ले ४ सेप्टेम्बर बुधवार बिहान चन्द्रयानलाई सबैभन्दा तल्लो चन्द्र अर्बिटमा स्थापित गरिसकेको छ। ७ सेप्टेम्बरमा चन्द्रयानले चन्द्र धरातलमा ल्याण्ड गर्नेछ।

भारतीय चन्द्रयानको ल्याण्डिङ संसारभरिका दर्शक सामु पुर्‍याउन नेशनल जियोग्राफी च्यानलले प्रत्यक्ष प्रशारण गर्न लागेको हो।

भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र इसरोले ६ सेप्टेम्बरको राति १२ बजेपछि (अर्थात ७ सेप्टेम्बर लाग्नसाथ) १ बजेदेखि चन्द्रयानलाई चन्द्रमामा ल्याण्ड गराउने प्रक्रिया थाल्नेछ। यानलाई ल्याण्ड गराउन झण्डै २ घण्टा ३० मिनेटको समय लाग्नेछ।

भारत सरकारले दिएको जानकारीअनुसार प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं बेङ्गलुरुस्थित इसरोको नियन्त्रण कक्षमा रहेर यान ‘ल्याण्ड’ गरेको प्रत्यक्ष हेर्ने छन्।

नेशनल जियोग्राफिले भने ६ सेप्टेम्बरको राति ११ बजेर ३० मिनेटदेखि नै ‘ल्याण्डिङ’ सुरु हुनुभन्दा झण्डै डेढ घण्टा पहिला आफ्नो प्रसारण सुरु गर्नेछ।

टिभी च्यानलले यस महत्वपूर्ण कार्यक्रममा ‘नासा’ लगायत अन्य अन्तरिक्ष एजेन्सीका खगोलविद् तथा अन्तरिक्षयात्रीलाई विज्ञका रूपमा स्टुडियोमा आमन्त्रित गरेर राख्ने भएको छ। उनीहरुले बीच– बीचमा आफ्ना अनुभव सुनाउने छन्।

प्राप्त जानकारी अनुसार त्यस दिन स्टूडियोमा प्रसिद्ध अन्तरिक्ष यात्री जेरी लिने नगर पनि हुनेछन्। जेरी अन्तरिक्षमा भएको एउटा भयानक दुर्घटनाबाट जोगिन सफल रहेका थिए। उनले आफ्नो जीवनकालका १ सय ४३ दिन अन्तरिक्षमा बिताएका थिए।

रूसको स्पेस स्टेशन मीरमा उनी लामो समयसम्म रहेका थिए। नेशनल जियोग्राफि च्यानलका अतिरिक्त चन्द्रयानको ‘ल्याण्डिङ’ लाई हाटस्टारमा पनि हेर्न सकिनेछ।

भदौ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्