युवा संघका अध्यक्ष राईमाथि छुरा प्रहार

नेकपा निकट युवा सङ्घ नेपाल झापास्थित शिवसताक्षी नगर अध्यक्ष सुरज रिङ्गालुङ्ग राईमाथि आज छुरा प्रहार भएको छ।

झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा वडाध्यक्षसँग कुरा गरिरहेका युवा सङ्घका नगर अध्यक्ष राईमाथि छुरा प्रहार भएको हो।

विज्ञापन

प्रहरीका अनुसार स्थानीय २२ वर्षीय सागर तिम्सिनाले राईमाथि अन्धाधुन्द छुरा प्रहार गरेका थिए।

घाइते राईको बिर्तामोडको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ।

वडाध्यक्ष केहरसिंह बस्नेतले अध्यक्ष राईसँग मेरो समसामयिक विषयमा कुरा भइरहेको बेला अचानक सागर आएर दाहिने तर्फको कोखामा दुई पटक छुरा हानेको बताए।

छुरा प्रहारबाट घाइते राई खतरामुक्त रहेको बी एन्ड सी अस्पताल बिर्तामोडले जनाएको छ।छुरा प्रहार के कारणले भयो भन्‍नेबारेमा केही खुल्न सकेको छैन । तिम्सिनालाई इलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोलीले तत्कालै गिरफ्तार गरेको छ।

यसैबीच युवा सङ्घ झापाले अध्यक्ष राईमाथि भएको आक्रमणको भर्त्सना गर्दै कारवाहीको माग गरेको छ।

युवा सङ्घका जिल्ला अध्यक्ष शम्भु भण्डारीले बुधबार विज्ञप्ति निकालेर अध्यक्ष राईमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गर्दै आक्रमणमा संलग्नलाई हदैसम्मको सजाय दिन माग गरेका छन्।

भदौ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्