जैविक फोहोर प्रशोधन गरेर तयार भएको प्राङ्गारिक मल । तस्बिरहरु : प्रभात खनाल/देश सञ्चार
फोहोर व्यवस्थापन

फोहोरको डुंगुरमा लुकेको सम्भाव्यता खोज्ने सतप्रयास

काठमाडौँ उपत्यकाले बिस्तारित शहरको रुप लिँदै जाँदा सुरु भएको फोहोर व्यवस्थापनको समस्याले अहिले विकराल रुप लिएको छ। उपत्यकाबाट हाल दैनिक सात सय मेट्रिकन भन्दा बढी फोहोर उत्पादन हुँदै आएको छ।

तर यो फोहोरलाई व्यवस्थापन गर्ने भन्दा पनि शहरबाट अलि पर या कोल्टे परेको ठाउँमा मिल्काएर फोहोरको अर्को शहर बसाउने विकल्प प्राथमिकतामा रहँदा समस्याको समाधान भन्दा स्वरुप फेरिएको देखिन्छ।

शहर बिस्तारित भएका छन्। शहरमुखी नीतिका कारण गाउँहरु पनि शहर या शहरोन्मुख बन्दै गएका छन्। सुकिलो शहर बनाउने घोषणा सुनिन्छ । तर शहरका लागि न ठाउँ दिइएको छ न फोहोर व्यवस्थापनलाई प्राथमिकता।

काठमाडौँमा बस्नेहरुले उत्पादन गरेको फोहोर उठाएर अधिकांश रुपमा नुवाकोटको ओखरपौवामा पर्ने सिसडोल ल्याण्डफिल्ड साइटमा फालिन्छ । सिसडोलको क्षमताले फोहोर धान्न छाडेको छ । तर विकल्प तयार भएको छैन । १४ वर्षअघि केही वर्षका लागि भनेर फोहोर फाल्नका लागि बनाइएको सिसडोल ल्याण्डफिल्ड साइटमा अहिलेसम्म फोहोर लगिँदैछ ।

काठमाडौँको फोहोरले सिसडोल वरपरका बस्तीलाई नै जोखिम पुगेको छ । यहि कारण बेलाबेलामा प्रतिरोध र आन्दोलन भइरहन्छ । अनि काठमाडौँ शहर फोहोरको डुंगुर र दुर्गन्धको पर्याय बन्न पुग्छ ।

बारम्बार समस्याहरु आइरहँदा पनि फोहोर व्यवस्थापनको जिम्मा पाएका निकाय वातावरण व्यवस्थापन विभागसहितले दीर्घकालीन व्यवस्थापन गर्न सकेका छैनन् ।

तर फोहोरलाई हेर्ने दृष्टिकोणमा केही मात्रै परिवर्तन गर्न सकेमा फोहोर समस्या भन्दा पनि नयाँ अबसर बन्न सक्नेछ । उदाहरणहरु छन् हाम्रै वरिपरी । ती उदहारणीय प्रयासहरुको आकार सानो छ तर सम्भावना बिस्तार गर्न सकिने खालको छ ।

फोहोरलाई गुनिलो बनाउन सकिन्छ



फोहोरलाई आफैमा समस्या र त्यसको व्यवस्थापनलाई अर्को विकराल समस्याका रुपमा देखिरहेका बेला उदहारणीय काम गरेको फोहोर व्यवस्थापन संस्थामा पर्छ ‘बायोकम्प’ ।

ललितपुर महानगरपालिका–२१ खोकनामा रहेको बायोकम्पले फोहोर व्यवस्थापनको काम गर्दै आएको छ । हाललाई बायोकम्पले बल्खु तरकारी बजारसहितबाट जैविक फोहोर संकलन गर्छ । त्यसलाई ‘प्रोसेसिङ्ग’ गरेर प्राङ्गारिक मल बनाउँछ ।

फोहोरलाई मिल्काउनु पर्ने धारणा रहेका बेला बायोकम्पले संकलन गरेर त्यसलाई ‘स्याहार सुसार’ गरी सुकिलो र गुनिलो प्राङ्गारिक मल बनाउँछ । नेदरल्याण्डसको सहयोगमा सन् २०११ मा पाइलट प्रोजेक्टबाट सुरु भएको बायोकम्पको यात्रा अहिलेसम्म आइपुग्दा उसले फोहोरलाई समस्या भन्दा पनि अवसर र त्यसको मूल्य खोज्ने प्रयास गरिरहेको छ ।

काठमाडौँ उत्पकाबाट उत्पादन हुने फाहोर मध्ये ७० प्रतिशतको हाराहारीमा जैविक फाहोर हुन्छ । त्यसलाई परम्परागत ल्याण्डफिल्ड साइटमा लगेर फाल्दा मिथेनसहितका ग्यास उत्पादन हुन्छ । त्यसको विकल्पका रुपमा बायोकम्पले एरोबिक ‘प्रोसेसिङ्ग’ मार्फत जैविक फोहोरलाई प्राङ्गारिक मल बनाउने गरेको छ ।

कसरी बन्छ घिन लाग्ने फोहोर गुनिलो मल?



‘हामीले हाललाई बल्खु तरकारी बजारसहितका काठमाडौँका ठूला बजारबाट उत्पादन हुने जैविक फोहोर संकलन गरेर ल्याउने गरेका छौँ’ बायोकम्प नेपालका प्रमुख मार्तुन नेइहोफले भने, ‘त्यसलाई यहाँ (ललितपुर–२१ खोकना) ल्याएर प्राङ्गारिक मल बनाउने प्रक्रिया सुरु हुन्छ ।’

बजारबाट उठाएर ल्याएको जैविक फोहोरलाई मेसिन मार्फत साना टुक्रा बनाइन्छ । त्यसपछि ‘ग्रिन जोन’ नाम दिइएको क्षेत्रमा जैविक फोहोरमा कुखुराको बिष्टा तथा पिना मिसाएर राखिन्छ । त्यसअघि जैविक फोहोरमा रहेका देखिने जति प्लाष्टिकसहितको फोहोर छुट्याइएको हुन्छ ।

ग्रिन जोनमा एक महिना राखेपछि त्यसबाट पानीको अधिकांश मात्रा निस्कन्छ र फोहोर कुहिएर मल बन्न थालेको हुन्छ । त्यसपछि ‘एल्लो जोन’ मा सारिन्छ । त्यहाँ पनि एक महिना राखेपछि बाँकी पानी पूर्णरुपमा जान्छ । एल्लो जोनबाट कम्पोस्ट हुँदै गरेको मल ‘ब्राउन जोन’ मा लगिन्छ । पुग्दासम्म मल बन्दै गरेको फाहोरमा ओसिलो पन ३० प्रतिशत मात्रै हुन्छ । ब्राउन जोनमा एक महिना राखेपछि ओसिलो पन रहित अवस्थामा पुग्छ र कम्पोस्ट तयार हुन्छ ।

तीनै जोनमा प्लाष्टिकसहितका अजैविक फोहोरहरु छुट्याउने काम निरन्तर भइरहन्छ । ब्राउन जोनमा एक महिना फाहोरलाई एरोबिक मोडमा प्रक्रियामा राखेपछि ‘प्रि–प्रोडक्सन’ सुरु हुन्छ ।

मलमा रहेका प्लाष्टिकहरु अधिकांश रुपमा हटाइन्छ । त्यसपछि तयार भएको मललाई मसिनो बनाउन मिलमा हालिन्छ । जसमा पेलिने क्रममा बाँकी रहेका प्लाष्टिकहरु छुट्याइन्छ । मेसिनले पिनेर मसिनो बनाइ तयार भएको कम्पोस्ट मल फाल्छ । त्यसलाई २५ र दुई किलोको पोकामा प्याक गरिन्छ । यसरी तयार भएको कम्पोस्ट मलमा बोटबिरुवा तथा बालीलाई चाहिने पौष्टिक तत्व हुने गरेको बायोकम्पका महानिर्देशक मार्तुन नेइहोफले बताए ।

आफूहरुले उत्पादन गरेको कम्पोष्ट मल बिक्रेताहरु मार्फत देशभरका किसान तथा नर्सरी सञ्चालकहरुले खरिन गरी प्रयोग गर्ने गरेको र उनीहरुबाट राम्रो प्रतिक्रिया पाएको नेइहोफले जानकारी दिए ।

समस्या के छ?


अव्यवस्थित रुपमा महानगरपालिकाको आडैमा फालिएको फोहोर ।

यो प्रयास फोहोरप्रतिको धारणामा परिवर्तन ल्याई गरी त्यसको मुल्य सिर्जना गर्नु रहेको बायोकम्पले जनाएको छ ।

हाललाई जैविक फोहोर संकलन गर्ने र त्यसलाई कम्पोस्ट मलमा परिमार्जन गर्ने आफूहरुको प्रयासमा सबै प्रकारका फोहोरहरु एक ठाउँमा राख्ने फोहोर उत्पादकको बानी प्रमुख समस्या रहेको नेइहोफले बताए ।

मार्तुन नेइहोफले भने, ‘झण्डै ७० प्रतिशत फोहोर जैविक हुन्छ । त्यस बाहेकका फाहोरहरु भनेका प्लाष्टिकजन्य, कागज या फलाम र सिसाजन्य हुन्छ । ७० प्रतिशत जैविक फोहोरमा अरु फोहोर पनि मिसाईँदा समस्या हुन्छ । मल बनाउने क्रममा ती अजैविक फोहोर छुट्याउनु पर्छ ।’

फोहोर भिन्न भिन्न गरेर संकलन गर्ने बानी बस्न सकेमा फोहोर समस्या नभई अवसर बन्न जाने उनीसहितका फोहोर व्यवस्थापकहरुको बुझाई छ । त्यसका लागि फोहोर उत्पादक, सर्वसाधारण नागरिक, स्थानीय प्रशासनका अधिकारी तथा फोहोर व्यवस्थापनको क्षेत्रमा कार्यरत संस्थाहरुबिच सहकार्य हुनु पर्ने नेइहोफले बताए ।

बायोकम्पका महानिर्देशक मार्तुन नेइहोफ

‘हामीले घरायसी रुपमा उत्पादन हुने जैविक फोहोर पनि संकलनका लागि योजना बनाएका छौँ । केही वडामा त काम सुरु हुन लागेको छ । त्यसका लागि सर्वसाधारण फोहोर छुट्याउने बानी बसाल्नु पर्ने छ ।’ उनले भने ।

बायोकम्पले तत्कालका लागि अर्को समस्या पनि भोगीरहेको छ । स्थानीय समुदाय र बायोकम्पबिच केही तनावको अवस्था पनि छ । त्यसको कारण बायोकम्पले जैविक फोहोरलाई कम्पोस्ट मल बनाउने क्रममा गन्ध आउने गरेको गुनासो स्थानीय बासिन्दाको छ ।

आफूहरु स्थानीय बासिन्दाको गुनासोसँग परिचित रहेको र त्यसलाई समाधान गर्ने प्रयासमा लागि परेको बायोकम्पले जनाएको छ । ‘हामी सुन्दर शहर चाहन्छौँ, फोहोर व्यवस्थापन होस् भन्ने चाहन्छौँ भने हामी जस्ता फोहोर व्यवस्थापकलाई पर धकेल्नु उचित विकल्प हुँदैन होला’ नेइहोफले भने ।

किन चाहिन्छ ?



वैज्ञानिक विश्लेषणबाटै पुष्टि भएको छ कि राम्रो फोहोर व्यवस्थापन हुने हो भने उत्पादित मध्ये पाँच प्रतिशत मात्रै फोहोर डम्पिङ्ग साइटमा पुग्छ।

फोहोर व्यवस्थापन वातावरणीय समस्या समाधान तथा माटोको उर्बरा शक्ति राम्रो बनाइराख्नका लागि अति महत्वपूर्ण हुन्छ । जैविक फोहोरबाट उत्पादन हुने प्राङ्गारिक मल प्रयोग गरेर उत्पादन गरिएका खाद्यान्न तथा तरकारी एवम् फलफुलहरु स्वस्थकर हुन्छ ।

बायोकम्पले गरिरहेको कामलाई व्यवस्थित गरी स्थानीय बासिन्दाको सक्रिय सहभागिता कायम गर्न सकेमा फोहोर व्यवस्थापनको नमूना काम हुने देखिन्छ । यसका लागि आफूहरुले ललितपुर महानगरपालिका र स्थानीय वडासँग समन्वय गरिरहेको बायोकम्पका नेइहोफले जानकारी दिएका छन् । फोहोर डम्प गर्ने नभई फोहोरलाई व्यवस्थापन गर्न क्रियाशील रहेको बुझ्न र त्यसका लागि सहयोग पुर्‍याउन उनले सबैसँग आग्रह गरे ।

सुन्दर र सफा सहर चाहने हो भने फोहोरको उचित व्यवस्थापन हुनु पर्छ र त्यसका लागि आफूहरु जस्ता व्यवस्थापकहरुलाई काम गर्ने वातावरण दिनु पर्ने उनले बताएका छन् । आफ्नो फाइदा भन्दा बढी समुदायलाई नै मुनाफा हुने खालको फोहोर व्यवस्थापनमा हरसम्भव प्रयास गर्न तयार रहेको बायोकम्पले जनाएको छ ।

ललितपुर महानरपालिकाले आफूहरु फोहोर व्यवस्थापनका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने रणनीतिमा रहेको बताएको छ ।

फोहोर व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएका महानगरपालिकाका वातावरण इन्जिनियर प्रदीप अमात्यले भने, ‘फोहोर व्यवस्थापन हाम्रो पहिलो प्राथमिकतामा छ । हामीले प्रयास गरिरहेका छौँ तर हाल अधिकांश रुपमा फोहोर व्यवस्थापन होइन संकलन भइरहेको छ । हामी सबै पक्षसँगको सहकार्यमा फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन चाहन्छौँ ।’

तस्बिर तथा भिडियो : प्रभात खनाल/देश सञ्चार