धनगढीमा चार जना पेस्तोलसहित पक्राउ

सांकेतिक तस्बिर

धनगढी-सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पेस्तोल र सुन सहित चारजनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो(सिआईवी) को टोलीले चार थान पेस्तोल र सुन सहित चार जनालाई पक्राउ गरेको र ती मध्य तिन जनाको नाम खुलेको छ।

विज्ञापन

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–६ मटियारीका सञ्जय राना, र मटियारीकी कमल बिक र वडा नम्बर ३ का रुद्र प्रसाद अधिकारी रहेको स्रोतले बतायो।पक्राउ परेका अर्का एक जनाको नाम भने खुल्न सकेको छैन।

प्रहरीले उनीहरुबाट चार थान पेस्तोल, सुनका गहना, तमसुक र राष्ट्र बैंकका नक्कली कागजात फेला पारेको छ । हतियार सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले स्विकारे पनि नाम भने खोलेको छैन।

पक्राउ परेका राना मिटर ब्याज, ढुकुटी लगायतका अबैध धन्दामा संलग्न भएको जानकारी पाएपछि प्रहरीको सिआईवी टोलीले उनको निगरानी थालेको बताईएको छ।

बाहिर देखिने कुनै व्यापार व्यवसाय नभएका रानाको जीवनशैली र आर्थिक हैसियत देखेर सिआईवीको टोलीले उनीमाथि अनुसन्धान थालेको र लामो समयपछि उनी पक्राउ परेका हुन्।

प्रहरी अधिकारीहरु संग उठबस र राम्रो सम्बन्ध भएकै कारण उनी अहिलेसम्म पक्राउ पर्न सकेका थिएनन्। प्रहरीले राणालाई पक्राउ गरेपछि उनको अबैध धन्दा सञ्चालन हुदै आएका कोठाको ढोका फोरेर त्यहाँ रहेका सामानहरु बरामद गरेको बताइएको छ।

उनको समूहले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुर स्थित एक घरमा कोठा भाडामा लिएर त्यहाँबाट अवैध कारोवार गर्दै आएको बुझिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख उपरीक्षक सुदीप गिरीले केही व्यक्ति चार थान पेस्तोल सहित पक्राउ गरेको पुष्टि गरेपनि उनीहरुका बारेमा बिस्तृत जानकारी भने चाँडै पत्रकार सम्मेलन मार्फत दिइने बताए।

उनीहरुलाई सिआईवीको टोलीले पक्राउ गरेकोले सिआईवीको अनुमती बिना प्रहरीको टोलीले घट्नाको बारेमा बिस्तृत जानकारी दिन नमानेको हो।
यो घट्नाका सम्बन्धमा सिआईवीको अनुसन्धान सकिएको छैन, पक्राउ परेका व्यक्तिसंगको सोधपुछ जारी छ।

यसका साथै बरामद भएका पेस्तोल र सामग्रीका बारेमा पनि अनुसन्धान भइरहेको छ, एक प्रहरी अधिकृतले भने–‘प्रारम्भिक अनुसन्धान सकिएपछि पत्रकार सम्मेलन मार्फत जानकारी दिने तयारी गरिरहेका छौ।’

भदौ १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू