विपद्‌बाट जोगाउन हुम्लामा पहिलो पटक पदमार्ग र पुर्वाधारको नक्सांकन

सिमकोट-हुम्लामा पहिलो पटक आपतकालिन प्रतिकार्य योजनामा भएका पदमार्ग तथा पूर्वाधारको नक्शांकन कार्य सुरु हुने भएको छ।

सात वटा गाउँपालिकाका कुनै पनि गाउँबस्तीहरुमा यस्तो अभ्यास नभएको अवस्थामा आगामी दिनमा हुन सक्ने सम्भावित जोखिमबाट बच्‍न र उद्धार कार्यलाई सहजता प्रदान गर्न यस्तो गर्न लागिएको हो।

विज्ञापन

नेपालका एघार जिल्लामा पहिलो पटक गर्न लागिएकोमा हुम्ला जिल्ला पनि त्यसमा परेको छ। यो कार्य गर्न नेपालमा पुर्व तयारी तथा बिकासका लागि स्थानीय पदमार्ग तथा पूर्वाधार नक्शांकन परियोजनाले काम गर्नेछ।

यो परियोजनाले क्षेमता विकास, प्रतिकार्यका काम, बन्दोबस्ती र उद्धार गरेर मुख्य गरी चारवटा काम गर्ने विश्‍वखाद्य कार्यक्रमको परियोजना प्रबन्धक भोती थापाले बताए।

दक्ष प्राविधिकरुबाट प्रत्येक बस्तीको तत्थ्याङ्क संकलन गर्न लागिएको र त्यसलाई डिजिटल नक्शामा समावेश गरिने नक्शा प्रालिका नक्शांकन बिज्ञ उत्तम पुढासैनीले बताए।यसमा आपतकालीन प्रतिकार्य योजनामा गाउँवस्तीमा भएका पदमार्ग र पूर्वाधारलाई समेटेर नक्शां तयारी गरिने छ।

यसले गर्दा भबिष्यमा हुनसक्ने आपत तथा बिपदमा उद्धार तथा राहात पुर्याउन सहज हुने हुनेछ। अब तयार हुने नक्शामा खोलानाला, बस्ती, जोखिममा रहेका बस्ती, स्वास्थ्य, शिक्षा, खानेपानी, सुरक्षा पोष्ट, गोरेटो बाटो, पहिरो जाने स्थान, अन्य संरचना, वित्तिय क्षेत्र, संभाबित अबरोधहरु पनि नक्शामा उल्लेख हुने छन्।

यसका लागि हुम्लाका २० जना स्थानीय जनशक्तिलाई चार दिनसम्म तालिम प्रदान गरि १० जना छनौट गरेर परियोजनाको केन्द्रबाट आएको विज्ञ टोलीसँग परिचालन गरिनेछ।

यसले भोली हुन सक्ने जोखिम तथा प्रकोपबाट पुगेको क्षेतीलाई उद्धार गर्न निक्कै उपयोगी हुने भएको कारण जिल्लाका सात वटै गाउँपालिकाहरुले सहयोग गर्ने सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले बताए।

अभिमुखीकरणमा जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावतको पनि उपस्थिति रहेको थियो।परियोजनामा नक्शांकन कार्य नक्शा प्रालिले बिज्ञ टोलीको सहजिकरणमा गर्नेछ भने यसका लागि लगानी बिश्व खाद्य कार्यक्रमको रहने भएको छ।

भदौ १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्