पाँच वर्षदेखि सुपारी निकासी ठप्प, अर्बौं धनराशि गुम्यो

झापा– पूर्वी तराईमा उत्पादित सुपारी भारत निकासी हुन नसक्दा नेपालले ठूलो मात्राको धनराशि गुमाइरहेको किसान तथा व्यवसायीले बताएका छन्।

आर्थिक वर्ष २०७०/७१ देखि नेपालको सुपारी मुख्य बजार भारत निर्यात हुन नसक्दा अहिले पूर्वमा उत्पादित सुपारी किसानका घर तथा व्यापारीका गोदाममा थन्किएको उनीहरुले बताए।

विज्ञापन

तर कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारीहरुका अनुसार विगतमा अन्य मुलुकबाट सुपारी नेपाल आयात गर्ने र नेपालको उत्पादन भन्दै भारत पठाउने गरिएकाले समस्या आएको हो।

झापा अर्जुनधाराकी सुपारी किसान चन्द्रकला भण्डारीले गएको सिजनमा विगतको भन्दा सस्तो मूल्यमा स्थानीय व्यापारीलाई काँचैमा सुपारी बेच्नु पर्‍याे। नेपालको सुपारी भारत निकासी नहुनु नै सस्तो मूल्यमा बेच्नुको मूल कारण भएको उनले बताइन्।

उनले भनिन्, ‘मैले काँचैमा सस्तैमा बेचेँ। बिक्री नहुने भएकाले बोटमै सस्तो मूल्यमा बेच्नुपर्ने किसानको बाध्यता हो।’

आर्थिक वर्ष २०७०/७१ देखि नेपालको सुपारी भारत निर्यात हुन नसकेको नेपाल सुपारी खेती विकास संस्थाका अध्यक्ष देवी खतिवडा बताउँछन्।

कृषि कार्यालयका तथ्यांकका आधारमा पूर्वी नेपालका इलामको दक्षिणी भेग, झापा, मोरङ तथा सुनसरीका केही स्थानमा गरि वार्षीक करिब १० हजार मेट्रिक टन सुख्खा सुपारी उत्पादन हुन्छ।

चोरी बाटो हुँदै लाने गरिएका सुपारी बाहेक नेपाललाई अर्बौं रुपैयाँ प्राप्त हुने परिमाणको सुपारी अहिले किसानका घर, सहकारी तथा व्यापारीका गोदाममा थन्किएको खतिवडाले बताए।

उनले भने, ‘सुपारी बिक्री नभएपछि अहिले किसानका घर तथा व्यवसायीका गोदाममा सुपारी थन्किएका छन्।’

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्द्धन महाशाखाका अनुसार तेस्रा देशहरुबाट सुपारी नेपाल आयात गरेर नेपालकै उत्पादन हो भनेर उत्पतिको प्रमाणपत्र दिएर पनि भारत निकासी हुने गरेका उदाहरणहरु छन्।

विगतमा पनि नेपालको सुपारी भन्दै अन्यत्रबाट नेपाल आयात गरिएको सुपारी भारत पठाउने गरिएकाले भारत पक्षबाट आपत्ति प्रकट हुँदै आएको कृषि मन्त्रालयका अधिकारीहरु बताउँछन्।

तर निर्यात जन्य कृषिवस्तुमा सुपारीलाई सरकारले सूचिकृत नगर्नु सुपारी निर्यात नहुनुको मुख्य कारण भएको किसान तथा व्यापारीहरुले बताउने गरेका छन्।

भदौ १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्