भ्रष्टाचारको अखडा बन्दै बारा जिल्ला, जनप्रतिनिधिदेखि सरकारी कर्मचारीहरु घुसखोरी

पर्सा-जनप्रतिनिधिदेखि सरकारी कर्मचारीहरु धमाधम घुससहित पक्राउ पर्न थालेपछि बारा जिल्ला भ्रष्टाचारको अखडा बन्दै भएको छ।

जनताले आफ्नो अमुल्य भोट दिएर आफनै गाउ ठाउँको विकास गर्नका लागि जिताएका जनप्रतिनिधि र सरकारी कर्मचारीहरु धमाधम घुस रकमसहित पक्राउ परेपछि बारा जिल्ला भ्रष्टाचारको केन्द्रविन्दु बन्दै गएको हो।

विज्ञापन

जिल्लामा एकैदिन दुईजना कर्मचारीसमेत घुससहित रंगेहात अख्तियारको फन्दामा पर्ने गरेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार नयाँ वर्ष २०७६ को शुरुवात भएसँगै वैशाखदेखि हालसम्म बारा जिल्लाबाट एक जना वडाध्यक्ष,एक जना घुस लिन जाने व्‍यक्ति तथा विभिन्‍न सरकारी कार्यालयमा कार्यरत कमर्मचारीहरुसहित कुल १२ जना पक्राउ परेका छन्।

पक्राउ परेका १२ जना मध्ये एकजना खरिदार भने हालसम्म फरार रहदै आएका छन् भने बाँकी ११ जना अख्तियारको हिरासतमा रहेका छन ।पक्राउ परेका केहीमाथि भने अख्तियारले बिशेष अदालतमा भ्रष्टाचार मुदा दायरसमेत गराइसकेको छ।

केही अनुसन्धानकै क्रममा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।पक्राउ परेका सबै जनाले सेवाग्राहीसित विभिन्‍न बाहाना बनाई काम गरेबापत रकम माग्ने गरेको र रकम लिने बेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।

एकै दिन दुई कर्मचारी घुससहित पक्राउ


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गएको भदौ १६ गते सोमबार एकै दिनमा जिल्लाका दुई कर्मचारीहरुलाई घुससहित पक्राउ गर्‍यो।

अख्तियारको हेटौडाबा खटिएको टोलीले मालपोत कार्याल बाराका सुब्बा र आन्तरिक राजश्व कार्यालय सिमराका कम्प्युटर अपरेटरलाई घुससहित पक्राउ गरेको थियो।

मालपोत कार्यालय बाराको मुद्दा फाँटमा कार्यरत हरिमोहन सिंह क्षेत्रीलाई अख्तियारको टोली सेवाग्राहीसित रु १ लाख घुस लिएको अवस्थामा कार्यालय परिसरबाटै घुससहित पक्राउ गरेको थियो।

यस्तै आन्तरिक राजश्व कार्यालय, सिमरा, बाराका कम्प्युटर अपरेटर सुदिप लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४० हजार रुपैया घुससहित रँगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रबक्ता प्रदीप कोईरालाले जानकारी दिए।

वडाध्यक्ष पनि घुसकाण्डमा पक्राउ


घुससहित पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिकाका एक जना वडाध्यक्षसमेत रहेका छन्।महागढीमाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामप्रसाद बरै गत जेठ २१ गते घुससहित रंगेहात पक्राउ परेका थिए।

बरै सेवाग्राहीसंग उपभोक्ता समिति गठन गर्न दुई लाख ७५ हजार रुपैयाँ योजना मिलाइदिन्छु भन्दै लिईसकेको अवस्थामा पक्राउ परेका थिए ।उनीमाथि गएको असार २२ गते अख्तियारले बिशेष अदालतमा मुदासमेत दायर गराई सकेको छ। उनीमाथि विगो दुई लाख पचहत्तर हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।

वडा कार्यालयका प्रमुख ब्यक्ति वडाध्यक्ष नै घुससहित पक्राउ परेपछि वडा नम्बर ६ मा वडा सदस्यले वडाध्यक्षको कामकाज गर्दै आएको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यावले जानकारी दिए।

उनले चारजना वडा सदस्यहरु मध्ये सबैभन्दा ज्येष्ठ रहेको श्री भगवान प्रसाद यादवले अहिले वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएको बताए ।‘वडाध्यक्ष नै अख्तियारको फन्दामा परेपछि ज्येष्ठ वडा सदस्यले उनको कामकाज गर्दै आएका छन,‘ मेयर यादवले भने, ‘वडामा रहेका चारजना वडा सदस्यहरुको सहमति अनुसार वडाको कामकाज श्री भगवानले गर्दै आएका छन्।’

सिडिओ अफिसका दुईजना कर्मचारी पक्राउ


यस्तै घुस रकमसहित पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय बाराका पनि दुईजना कर्मचारीहरु रहेका छन्।सेवाग्राहीको काम गरेबापत घुस लिने जिल्ला प्रशासन कार्यालय बाराका नाय सुब्बा सनोज महतो र लेखापाल जयसिंह राय थारू पक्राउ परेका हुन्।

पक्राउ परेका नायब सुब्बा महतो गत साउन १५ गते घुससहित पक्राउ परेका थिए भने लेखापाल चौधरी गत हप्ता मात्रै घुसको रकम सहित पक्राउ परेका हुन।

नायब सुब्बा महतो पुरानो मुद्दाको पेशी चढाइ चाँडै मुद्दा सकिदिने भनी विभिन्न बहाना बनाइ सेवाग्राहीसँग रु १० हजार घुस लिएको अवस्थामा पक्रा परेका छन्।

यस्तै लेखापाल चौधरी आफू बाराको फेटा गाउँपालिका कार्यालयमा कार्यरत रहँदा उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरेबापत सेवाग्राहीसँग रु २५ हजार घुससहित पक्राउ परेका हुन ।पक्राउ परेका नायब सुब्बा महतोमाथि अख्तियारले साउन ८ गते बिशेष अदालतमा मुदा समेत दायर गराएको छ।

स्थानीय तहका तीन ईन्जिनियर घुससहित पक्राउ


बारा जिल्लामा घुससहित पक्राउ परेका सरकारी कर्मचारी मध्ये जिल्लाका बिभिन्‍न स्थानीय तहमा कार्यरत तीनजना इन्जनियर समेत पक्राउ परेका छन्।

घुसको रकमसहित पकलैया उपमहानगरपालिकाका इन्जिनियरद्वय किशोर यादव र माधव प्रसाद यादव पक्राउ परेका हुन।उनीहरु दुबै जना विरुद्ध अख्तियारले गएको साउन २८ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

दुवै जनाविरुद्ध ५ लाख ७१ हजार २ सय ६९ रुपैयाँ बिगो, ३ वर्षसम्म कैद र ५० हजार जरिवाना मागदाबी गरेको छ।

कलैया उपमहानगरपालिका-२१ भोडहादेखि तपी माध्यमिक विद्यालयदेखि मदिलवासम्मको सडक ढलान गर्ने क्रममा अनियमितता गरेको पुष्टि भएको भन्दै अख्तियारले दुवै जना इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा गरेको हो।

यस्तै अर्का पचरौता नगरपालिकाका इन्जिनियर रामप्रकाश सत्तरा गएको असार २४ गते घुससहित रँगेहात पक्राउ परेका थिए।

ईन्जिनियर सत्तराले सेवाग्रहीसँग योजना अनुगमनमा सही गरेवापत रु१५ हजार रकम लिई रहेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।उनी बिरुद्ध पनि अख्तियारले बिशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुदा दायर गराईसकेको छ।

अदालतका तामेलदार पनि पक्राउ


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले जिल्ला अदालत कलैयामा कार्यरत तामेलदार खरिदार सुनिल चौधरीलाई घुस रकम सहित गएको असार ६ गते पक्राउ गरेको थियो।

तामेलदार चौधरीलाई अख्तियारको टोलीले एक सेवाग्रहीसंग नगद १८ हजार घुस रकम निलएको अवस्थमा अदालत अगाडिको एक चिया पसलबाट रंगेहात पक्राउ गरेको थियो ।उनीममाथि पनि अख्तियारले बिशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुदा दायर गराईसकेको छ।

नगरपालिकाका कर्मचारी पनि पक्राउ


अख्तियारले पचरौता नगरपालिकाका नासु बद्रीबहादुर थापालाई पनि घुससहित पक्राउ गरेको छ। गएको असार २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले नासु थापालाई रु १४ हजार घुससहित रँगेहात पक्राउ गरेको थियो।

थापाले सेवाग्राहीसंग योजनाको भुक्तानी टिप्पणी उठाउने वापत रु १४ हजार घुस लिएको आरोप सहित अख्तियारले बिशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुदासमेत दाय गराएको छ।

यस्तै बाराको प्रसौनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, प्रसौनी, बाराका योजना शाखाका खरिदार बिनोद प्रसाद यादव सहित २ जना माथि पनि अख्तियारले बिशेष अदालतमा भ्रष्टाचारको मुदा दायर गराएको छ।

गत असार १२ गते खरिदार यादवले सोही ठाउका वृज किशोर साहलाई नाला निर्माण कार्य वापतको बिल बमोजिमको रकम सेवाग्राहीलाई भुक्तानी गर्न घुसबापतको रकम लिन पठाएकोमा साहलाई रँगेहात अख्तियारोको टोलीले पक्राउ गरेको थियो भने खरिदार यादव हालसम्‍म फरार रहेका छन्।

भदौ १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू