ज्यानै लिने स्क्रब टाइफस के हाे?

‘नेपालमा वर्षेनी एक लाखमा स्क्रब टाइफसको संक्रमण, एक हजारको मृत्यु’

‘नेपालमा वर्षेनी एक लाखमा स्क्रब टाइफसको संक्रमण, एक हजारको मृत्यु’

नेपालमा २०७२ सालको भूकम्पपछि देखा परेको स्क्रब टाइफस रोग पछिल्लो समय देशका विभिन्न जिल्लाहरुमा देखा पर्न थालेको छ।

यो रोग सानो मात्रामा धेरै ठाउँमा देखिने चिकित्सकहरुको भनाई छ। केही दिन यता चितवन, डडेल्धुरा लगाएतका जिल्लाहरुमा यो रोग देखा परेको छ। यही रोगका कारण चितवनमा केहीको मृत्युसमेत भइसकेको चिकित्सकले बताएका छन्।

विज्ञापन

यसै विषयमा केन्द्रित रहेर इपिडिमोलोजी तथा रोग नियन्त्रण माहाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीसँग देश सञ्चार संवाददाता प्रतिभा चन्दले गरेको कुराकानी:

स्क्रब टाइफस के हो?

ठ्याक्कै यसको नेपाली नाम भन्न त गाह्रो छ। विश्वभर नै यो सबैभन्दा पुरानो रोग हो। स्क्रब टाइफसहरु धेरै प्रकारका छन्। तर यसलाई जुनेटिक रोग भनेर बुझिन्छ। जनावरबाट मानिसमा सर्ने रोगलाई जुनेटिक रोग भन्ने गरिन्छ। त्यही जुनेटिक रोग मध्यको एक हो यो स्क्रब टाइफस।

यो रोग कसरी गर्छ?

यसमा एक प्रकारको ६ खुट्टे किर्ना हुने गर्छ। किर्ना हामी सबैले देखिरहेकै हुन्छौँ। गाई, भैँसी, कुकुर कहिलेकाहीँ मानिसमा समेत पाइन्छन्। कहिलेकाहीँ बालबालिकाहरुको कानमा किर्ना भेटिएपछि अस्पताल आउने गरेको पाइन्छ।

यस्तै विभिन्न जनावरमा पाइने किर्नाहरुले चैत महिनातिर गर्मी बढ्न थालेपछि फुल पार्छ। त्यही फुलबाट लार्भा निस्किन्छ। जुम्रा, लामखुट्टेहरु आठ खुट्टे हुन्छन्, भने यो ६ खुट्टे हुन्छ। किर्नाले सानो सानो झाडीहरुमा फूल पार्ने गर्छ। त्यही ठाउँमा मानिसहरु ओहोरदोहोर गरिरहँदा मानिसमा वा मुसा लगायतका अन्य जनावरमा सर्ने गर्छ। धेरै जसो मुसामै सर्ने गरेको पाइन्छ, किनभने मुसा सानो र आफ्नो सुरक्षाका लागि भएता पनि झाडीमा धेरै बस्ने गर्छ।

त्यही किर्ना मानिसको शरीरमा टाँसिएर बस्ने गर्छ। यसले लामखट्टे जसरी टोक्दैन, शरीरमा प्वाँल बनाउँछ। यसले टोकेको ठाउँबाट रगत निस्किँदैन, टोकेको ठाउँबाट तरल पदार्थ निस्किने गर्छ। त्यही कोटेको ठाउँबाट किटाणुहरु शरीर भित्र पस्ने गर्छ र बिस्तारै संक्रमण बढ्दै जान्छ। त्यही संक्रमण बढ्दै जादाँ रोग उत्पन्न हुने गर्छ।

स्क्रब टाइफस हुँदा कस्ता लक्षण देखा पर्छन्?

सबै मानिसमा यसका लक्षणहरु देखा नपर्न पनि सक्छन्। तर कतिपयमा भने किर्नाको लार्भाले टोकेको ठाउँमा स्कार देखा पर्ने गर्छ।

रातो भएको सानो प्वाँल देखा पर्ने, निलो टाटा देखा पर्ने, पाक्न लागेको जस्तो देखिने, प्वालमा पानी भरिएको फोका जस्तो देखिने, चिलाउने, जिउ दुख्ने, ज्वरो आउने, वान्ता हुने र होस हराउँदै जाने आदि यसका मुख्य लक्षण हुन् ।

स्क्रब टाइफस र टाईफाइडका लक्षणहरु एकै प्रकारका हुन्छन्। जसका कारण धेरैलाई यो रोग पहिचान गर्न गाह्रो हुने गर्छ। लक्षण एकै हुने हुँँदा धेरै मानिसहरु टाएफाईडको उपचारतर्फ लाग्ने गरेको पाइन्छ।

तर यो रोगको संक्रमण भएको १० दिनपछि भने जटिलता उत्पन्न हुन सक्दछ, यसले मानिसको दिमाग र फोक्सोमा असर पुर्‍याउने गर्छ । जसले गर्दा निमोनिया हुने सम्भावना हुन्छ।

यति मात्र नभएर यो रोगले जहाँ बढी असर गर्छ, त्यही नै पछि गएर मानिसको मृत्युको कारण समेत बन्न सक्छ।

स्क्रब टाइफसकाे उपचार पद्धति के छ?

यसको उपचार सजिलो छ। उपचारका लागि एजिथ्रोमाइसिन र डक्सिसाइकिलिङ गरी दुईवटा औषधिको प्रयोग गर्नुपर्छ। यो दुई वटा औषधी सस्तो पनि छ। दुई–तीन सय रुपैयाँले किन्न सकिन्छ।

तर यो रोगको सुरुमै पहिचान गरेर यसको निदान भने गर्न सक्नुपर्छ। यति गर्न सकियो भने धेरै समस्या हुँदैन। यदि पहिचान गर्न नसकेको खण्डमा भने धेरै समस्याहरु उत्पन्न हुन सक्छ।

नेपालमा स्क्रब टाइफसको अवस्था कस्तो छ?

नेपालमा यसको अवस्था भयावह नै छ भन्नु पर्छ। किनभने हामीले गरेको सर्वेक्षणमा वार्षिक एक लाख जना यो रोगको संक्रमण हुने पाइएको थियो। यसकै कारण वर्षेनी करिव एक हजार जनाको मृत्यु हुने अनुमान गरेका थियौँ। पछिल्लो समय यो ७७ वटै जिल्लामा फैलिसकेको छ।

कस्ता व्यक्तिहरु यसको जोखिमा धेरै छन्?

तराईका कतिपय ठाउँहरुमा अझै पनि शाैचालय छैनन्। उनीहरु शौचका लागि झाडीमा जाने हुँदा त्यस्ता व्यक्तिहरु धेरै जोखिममा हुने गर्छ। अझै धेरै जोखिममा स्कूल पढ्दै गरेका बालबालिकाहरु हुने गर्छन्। किनभने, स्कुलबाट ओहोर दोहोर गरिहँदा उनीहरुको शरीरमा किर्ना टाँसिने सम्भावना हुन्छ।

यसबाट बच्नका लागि कस्तो सावधानी अपनाउनु पर्ला?

यसबाट बच्ने उपाय त्यति सजिलो छैन। मुख्यतया यसबाट बच्नका लागि शाैचालयको प्रयोग गर्ने, घर वरपर भएका झाडि फडानी गर्ने, झाडी भएको ठाउँमा जाँदा पञ्जा, गम्बुटको प्रयोग गर्ने गर्नाले केही हदसम्म स्क्रब टाइफसबाट जाेगिन सकिन्छ।

भदौ १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्