कार्यक्रमकाे अध्यक्षता गर्न नपाएपछि वडा अध्यक्षले प्रधानाध्यापकलाई हातपात गरे

प्रहरीकाे कुटाईबाट घाइते विद्य‌ार्थी।

जनकपुरधाम– महोत्तरीकाे बलबा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष विजय महतोले साइकल वितरण कार्यक्रमको अध्यक्षता ग्रहण गर्न नपाएपछि स्कुलका प्रधानाध्यापकमाथि हातपात गरेका छन्।

मुख्यमन्त्री ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान अन्तर्गत बिहीबार गर्ने भनिएकाे साइकल वितरण कार्यक्रममा अध्यक्षता गर्न नदिएको भन्दै श्री माध्यामिक विद्यालय, बनौटाका  प्रधानाध्यापक  महेश झामाथि वडाध्यक्ष महतोले हातपात गरेका हुन्।

अध्यक्षताको बारेमा विद्यालय परिसरमा शिक्षकहरुसँग छलफल गरिरहेका बेला लगभग २०–२५ जनासहित विद्यालयमा आएका वडाध्यक्ष महतोले अचानक मुख्यमन्त्रीको स्वागतका लागि राखिएका कुर्सीहरु तोडफोड गरेको प्रधानाध्यापक झाले बताए।

तोडफोड रोक्न खोज्दा अध्यक्षसहित आएकाहरुले हातपात गर्न लागेपछि विद्यालयका विद्यार्थीहरुले वडाअध्यक्ष महतोलाई लखेटेपछि उनी भागेका थिए। महतोले घरनजिकै प्रहरी बोलाएर विद्य‌ार्थीलाई पिट्न लगाएको कक्षा १० मा अध्ययनरत विद्यार्थी धिरज यादवले बताए।

प्रहरीको लाठी चार्जबाट धिरजको टाउको फुटेको छ भने अन्य चार जना विद्यार्थीलाई समेत चोट लागेको छ। घाईते सबै विद्यार्थीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ।

यता वडा अध्यक्ष महतोले आफूले प्रधानाध्यापकमाथि कुनै प्रकारको हातपात नगरेको दाबी गरेका भन्दै उनले भने ‘मैले कुनै हातपात गरेको छैन् बरु उल्टै प्रधानाध्यापक झाले विद्यार्थीहरुलाई आफूविरुद्ध उचालेर घर र कार्यालयमा तोडफोड गर्न लगाएका छन्।’

अवस्थालाई नियन्त्रणमा लिएर ८ कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई साइकल वितरण गरिएको छ।

प्रदेश दुई सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान अन्तर्गत सामुदायिक विद्यालयका कक्षा ८ मा अध्ययनरत छात्राहरुको सहजताका लागि प्रदेशभरि साईकल वितरण गर्ने अभियान नै चलाएको छ।

भदौ १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्