हतियार र दुई करोडभन्दा बढीका ५७ थान चेकसहित धनगढीबाट तीनजना पक्राउ

धनगढी– सुदूरपश्चिम प्रदेशमुकाम रहेको धनगढीबाट प्रहरीले हतियार कारोबार, मिटर ब्याज असुली र ठगी धन्दा गर्ने गिरोहका तीन जनालाई चार थान हतियार, ५७ थान चेक र संचार तथा सूचना प्रविधि मन्त्रालयदेखि स्थानीय तहका ४१ थान नक्कली छाप सहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

बिहीवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रहरीले सरकारलाई नै चुनौती दिन गरी अपराधिक गतिविधिमा संलग्न रहेका उनिहरुलाई सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले घटनामा सलग्न कैलालीको धनगढी उपमहानगरपालिका–६ का संजय शमशेर जबरा भन्ने संजय राणा, कमल बिक र मकवानपुर आमभन्ज्याङ्ग घर भई हाल धनगढीमा बस्ने रुद्रप्रसाद अधिकारीलाई पक्राउ गरेको जानकारी दिए।

उनले भने, ‘पक्राउ परेकाहरुकाे साथबाट ४ थान पेस्तोल, (पेस्तोल १ थान, रिवल्भर १ थान कटुवा पेस्तोल २ थान), ७ राउण्ड गोली, सुनको गरगहना, संचार तथा सूचना प्रविधि मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, नेपाल राष्ट्र बैक, मालपोत, नापी कार्यालयदेखि स्थानीय तहका गरी ४१ थान नक्कली छाप, विभिन्न व्यक्तिका नामका काटिएका ५७ थान चेक र नेपाल राष्ट्र बैंकको नक्कली ड्राफ्ट ३ थान लगायतका सामान बरामद गरिएको छ।’

उनका अनुसार कैलाली र डोटी जिल्ला प्रशासन कार्यालयबाट दुईवटा नागरिकता लिएका संजय राणा घटनाका मुख्य नाइके भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

पक्राउ परेकाहरुबाट १८ करोड ३ लाख ६४ हजार बराबरको तमसुक २३ थान, २ करोड ४५ लाख २० हजार बराबरको ५७ थान चेक, नेपाल राष्ट्र बैकको १ अर्व ९० करोड बराबरको नक्कली ड्राफ्ट, वित्तिय कारोबारमा प्रयोग हुने कागजात ३६ थान, कैलाली जिल्ला अदालत, यातायात व्यवस्था कार्यालय नगदी रसिद, ट्राफिक प्रहरीले प्रयोग गर्ने सामाग्री, बा २० च ४२२० नं. को कार, से २ प ३१२४ नं. को मोटरसाइकल, राणाका दुईटा नागरिकतासहित विभिन्न कागजात बरामद गरिएको पत्रकार सम्मेलनमा प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरी उपरीक्षक गिरीका अनुसार प्रहरीले राणालाई पक्राउ गरेपछि उनको अवैध धन्दा सञ्चालन हुँदै आएकाे कोठाको ढोका फोरेर त्यहाँ रहेका सामानहरु बरामद गरेको हो।

उनीहरुले भाडामा लगेको कोठाको ट्वाईलेटबाट ती सामाग्रीहरु बरामद गरिएको उपरीक्षक गिरीले बताए। उनको समूहले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुर स्थित एक घरमा कोठा भाडामा लिएर त्यहाँबाट अवैध कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको उपरीक्षक गिरीले पत्रकार सम्मेलनमा जानकारी दिए।

पक्राउ परेकामाथि लामो समयदेखिको निगरानीपछि जिल्ला प्रहरी कार्यालय र सिआईवीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

भदौ १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्