चिनियाँ ह्याकरले नेपालमा प्रयोग गरेका ट्याक्सीको कनेक्सन के?

काठमाडौँ- राजधानीमा गत शनिबार विभिन्न एटिएम बुथबाट अनधिकृतरुपमा पैसा झिक्ने चिनियाँ गिरोहले त्रिभुवन विमानस्थलबाट प्रयोग गरेको ट्याक्सी र भाग्नेक्रममा प्रयोग गरेका ट्याक्सीसँग घटनाको कुनै सम्बन्ध नरहेको निष्कर्षमा प्रहरी पुगेको छ।

प्रहरीका अनुसार त्रिभुवन विमानस्थलमा ओर्लिएपछि ८ जना चिनियाँको टोलीले दुई वटा ट्याक्सी बुक गरेर होटलतर्फ लागेका थिए। तर ती दुवै ट्याक्सी विमानस्थलभित्र रहेका भाडाका ट्याक्सी रहेको प्रहरीको निष्कर्ष छ।

विज्ञापन

यसैगरी प्रहरीले दरबारमार्गबाट एक जना चिनियाँलाई एटिएम बुथबाहिर समातेपछि बाँकी केही चिनियाँ ट्याक्सी लिएर गौशालाको द्वारिकाज होटलमा पुगेको घटनामा पनि भाडाकै ट्याक्सी प्रयोग भएको एक अनुसन्धान अधिकृतले बताए।

घटनाको पर्सिपल्ट त्रिभुवन विमानस्थलबाट चिनियाँ मुलका एक फ्रान्सेली नागरिक पक्राउ परेका थिए। उनीहरु गिरोहकै सदस्य भएको प्रहरीको निष्कर्ष थियो। ती फ्रान्सेली भागेर रसुवा पुगे पनि पछि काठमाडौं आएका थिए। रसुवा पुग्न उनले एक ट्राभल एजेन्सीको ट्याक्सी प्रयोग गरेको देखिएको थियो।

‘त्रिभुवन विमानस्थलमा चिनियाँ टोली ओर्लिएपछि उनिहरुले दुई वटा ट्याक्सी भाडामा लिए। तर ड्राइभरले चिनियाँ भाषा नबुझेपछि नजिकै रहेका एक ट्राभल एजेन्सीका मालिकले सहयोग गरेको देखियो। त्यतिबेलै ती ट्राभल एजेन्सीका मालिक र चिनियाँ वी च्याटमा जोडिएका रहेछन्, गाडी चाहिए माग्ने भन्दै। प्रहरीले साथीलाई पक्राउ गरेपछि तीनै एजेन्सीका मालिकलाई खबर गरेर फ्रान्सेलीले ट्याक्सी मगाएको देखियो। तर घटनाबारे ती एजेन्सीका मालिकलाई केही थाहा नभएको देखिन्छ’, अनुसन्धानमा संलग्न अधिकारी भन्छन्।

प्रहरीले सिसिटिभी फुटेजको अनुसन्धानपछि ट्याक्सी चालक र एजेन्सीका मालिकसमेतलाई बोलाएर केरकार गरेको तर घटना सम्बन्धमा कुनै कनेक्सन नदेखिएको भन्दै छाडेको बुझिएको छ।

भदौ २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्