भिडियो अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपण र प्लाज्मा फेरेसिसबारे अपोलो अस्पतालका चिकित्सक के भन्छन्?

मिर्गौला प्रत्यारोपण र प्लाज्मा फेरेसिसबारे अपोलो अस्पतालका चिकित्सक के भन्छन्?

काठमाडौँ– करिब १२ वर्षअघि मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक सिंगापुरमा उपचार गरेर शुक्रबार मात्रै स्वदेश फर्किएका छन्।

मिर्गौला प्रत्यारोपण गरेपछि अनेक समस्या झेले पनि समयमै स्तरीय स्वास्थ्य सेवा सुविधाको पहुँचमा पुग्ने हैसियतका कारण उनको जीवन लम्बिरहेको सत्यलाई अस्वीकार गर्न मिल्दैन।

विज्ञापन

प्रत्यारोपित उनको मिर्गौलालाई शरीरको एन्टिबडीले असर गर्न थालेपछि पछिल्लो पटक सिंगापुरको १४ दिने बसाइमा उनले प्लाज्मा फेरेसिसको कोर्स पूरा गरेर फर्किएका छन्। योसँगै अब उनको स्वास्थ्य अवस्थाको ग्राफ उक्लिन्छ कि तल झर्छ भन्ने अनुमान र बहस दुवैले ठाउँ पाएका छन्, खासगरी नेपाली राजनीतिक वृत्तमा।

ओलीले मृगौला प्रत्यारोपण गरेको दिल्लीस्थित अपोलो अस्पतालका किड्नी ट्रान्सप्लान्ट सर्जन प्रोफेसर डा.सन्दीप गुलेरियाले देशसञ्चारको अन्तर्वार्तामा मिर्गौला प्रत्यारोपण, प्लाज्मा फेरेसिस र दोस्रो पटक गरिने मिर्गौला प्रत्यारोपण अनि त्यसको शुल्कबारे आफ्नो अनुभव र अस्पतालमा उपलव्ध सेवाबारे खुलेर बताएका छन्।

प्रस्तुत छ उनीसँग लिएको संक्षिप्त अन्तर्वार्ता:

मुख्यतया: के कारणले मिर्गौला फेल भइरहेका छन्?
-मिर्गाैला फेल हुनुमा दुई मुख्य कारण छन्, मधूमेह र उच्च रक्तचाप। यदि यी दुवै रोगलाई नियन्त्रण गर्न सकियो भने र नियमित रुपमा स्वास्थ्य जाँच गराउन सकियो भने मिर्गौला फेल हुनबाट जोगिने छ।

-फेल भएको मिर्गौलाको सबै भन्दा उत्तम उपचार के–के हुन सक्छ ?
सबैभन्दा उत्तम उपाय प्रत्यारोपण नै हो। यदि सय मानिसको डायलेसिस गर्न थालियो र त्यति नै बेला सय जनामा मिर्गौला प्रत्यारोपण गरियो र १० वर्षपछि त्यसको नतिजा हेरियो भने पक्कै पनि प्रत्यारोपण गरिएका मानिस बढी समय बाँचेका हुने छन्। अर्थात प्रत्यारोपण गरेको बिरामी बढी बाँच्छन् र स्वस्थ पनि हुन्छन्।

तस्बिर: बर्षा शाह

-प्रत्यारोपणले जीवन कति लम्याउँछ ?
यसबारे भन्न अलि कठिन नै हुन्छ। तर, सामान्यतया प्रत्यारोपण गरेको मिर्गौलाले १० देखि १४ सालसम्म काम गर्छ। यद्यपि कोही मानिस २०–२५ साल पनि बाँच्न सक्छन्। यो बिरामीले खाइरहेको औषधिको प्रकार, त्यसको समयावधि, संक्रमण र रिजेक्सन अनि उसको जीवनशैलीमा भर पर्छ।

-प्लाज्मा फेरेसिसले प्रत्यारोपित मिर्गौलाको काममा कति सहयोग गर्छ ?
प्लाज्मा फेरेसिस सामान्य उपचार प्रक्रिया हो। शरीरमा उत्पादन हुने एन्टीबडीले कहिलेकाहिँ प्रत्यारोपित मिर्गौलालाई असर गर्न सक्छ। यो निकालियो भने मिर्गौलाले काम गर्न सक्छ। तर यो सबै कुरा तपाईँको बायोप्सीमा निर्भर गर्छ।

-प्लाजमा फेरेसिस कति पटक गर्नुपर्छ ?
यो सामान्यतया ४ देखि ६ पटकसम्म दिन बिराएर गर्न सकिन्छ। यो असफल भएमा औषधि दिएर पनि मिर्गौलाको कार्यलाई निरन्तरता दिन सकिन्छ। अर्थात क्रियटिन बढ्दै गयो भने डायलेसिस या पुनः प्रत्यारोपण बारेमा सोच्नु पर्ने हुन्छ।

-कति पटकसम्म मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ ?
हामीसँग धेरै बिरामी छन् जसका दुई या तीन पटक प्रत्यारोपण भएका छन्। उदाहरणका लागि चार वर्षको बालकले पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेपछि त्यसले १५–२० वर्ष धान्यो। फेरि उसले ३० वर्षको उमेरमा अर्को मिर्गौला प्रत्यारोपण गर्‍यो। १० वर्षपछि त्यसले काम नगरेपछि पछि तेस्रो पटक पनि मिर्गौला प्रत्यारोण गरिएको छ। मात्र कुनै बिरामीसँग मिर्गाैला दान दिने व्यक्ति हुनुपर्छ।

-उमेरले केही फरक पार्छ ?
मिर्गौला प्रत्यारोपणको टिकाउमा उमेरले खासै भूमिका खेल्दैन। यो त शरीरले कसरी स्वीकार गरेको छ र कसरी प्रत्यारोपण गरिएको छ, त्यसमा निर्भर गर्छ।

-प्लाजमा फेरेसिसको शुल्क कति लाग्छ ?
सामान्यतया हाम्रो अस्पतालमा ५० देखि ६० हजारसम्म त्यसका लागि खर्चिनु पर्छ। अन्य देशभन्दा धेरै सस्तोमा शुल्क हामीले लिने गरेका छौँ।

-मिर्गौला रोगबाट बच्ने मुख्य उपाय के–के हो ?
कुनै पनि देशका लागि प्रत्यारोपण जटिल विषय मानिन्छ। त्यो सफल बनाउन अस्पतालमा सबै किसिमको सेवा सुविधा उपलब्ध हुनुपर्छ। सबै देशले मिर्गौला बचाउनेतर्फ नै ध्यान दिन आवश्यक छ। रक्तचाप र मधुमेहलाई सदैव नियन्त्रणमा राख्नुपर्छ। यदि हामीले यी दुई रागलाई नियन्त्रणमा राख्यौं भने मिर्गौला रोगबाट पनि बच्न सक्छौँ।

पूरा अन्तर्वार्ता यहाँ हेर्नुहोस्:

 

भदौ २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू