नेपालीका लागि अपोलो अस्पतालमा विशेष सुविधा

काठमाडौँ– दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालले नेपालबाट उपचारका लागि त्यहाँ जाने बिरामीको विमानस्थलबाट अस्पतालसम्म जाने र आउने तथा रजिष्ट्रेशन शुल्क निशुल्क गर्ने बताएको छ।

अस्पतालले राजधानीमा आयोजना गरेको एक अन्तर्क्रियामा सामेल चिकित्सकहरुले आफ्नो अस्पतालमा भारतीय र नेपाली बिरामीका लागि समान शुल्कमा उपचार र सुविधा उपलब्ध गराएको तर नेपालबाट त्यहाँ पुग्ने विरामीका लागि थप सेवा उपलब्ध गराउन थालेको बताएका हुन्।

विभिन्न स्वास्थ्य समस्या लिएर हरेक महिना तीनसय भन्दा बढी विरामी नेपालबाट आफ्नो अस्पतालमा आउने गरेको र उनीहरुले विश्वस्तरमा पछिल्लो पटक विकसित भएका उपकरणसहित सेवा पाउने गरेको उनीहरुको दाबी छ।

उनीहरुका अनुसार नेपालमा उपलब्ध हुन नसकेका र भए पनि पाउन कठिन बनेका सेवा र सुविधा लिन नेपाली विरामी त्यहाँ पुग्ने गरेका छन्।

डाइरेक्टर मेडिकल सर्भिस एण्ड सिनियर कन्सलटेन्ट युरोलोजी डा.सुब्र मनियनले पछिल्लो समय नसर्ने रोगबाट मानिसहरु ग्रसित हुने क्रम बढेको खासगरी क्यान्सर, मुटुरोगसँग सम्बन्धित रोगहरुसँगै मधुमेह र उच्च रक्तचापका कारण मिर्गौला रोग बढ्न थालेको बताए।

उनले भने, ‘जति छिट्टो यसको पहिचान हुन्छ त्यति छिटो नै उपचार गर्न सकिन्छ।’

किड्नी ट्रान्सप्लान्ट सर्जन डा. सन्दीप गुलेरियाले मिर्गौला फेलपछि मानिसहरुसँग कि डायलसिस कि प्रत्यारोपणको विकल्प हुने र त्यो दुवै सुविधा आफ्नो अस्पतालमा रहेको बताए।

डायलसिसभन्दा मिर्गौला प्रत्यारोपणले मानिसको जीवन लम्बिने र मिर्गौला दोस्रो या तेस्रो पटक पनि गर्न सकिने उनको भनाइ थियो।

मिर्गौला रोगबाट बच्न मधुमेह र उच्च रक्तचापलाई नियन्त्रण गर्नु पनि र सदैव स्वस्थ जीवनशैली अपनाउनु पर्ने उनको सुझाव समेत छ।

अस्पतालका सिनियर कन्सलटेन्ट अर्थोपेडिक्स डा.एस गुलाटीले पछिल्लो समय घुडा प्रतिस्थापन गर्नु पर्ने बिरामी बढ्दै गएको र त्यसको शल्यक्रियाको सुविधा आफ्नो अस्पतालमा रहेको जानकारी गराए।

उनले भने ‘कुल घुडाका समस्या बोक्ने बिरामी मध्ये ३० प्रतिशत घुडा प्रतिस्थापनको उपचारमा रहन्छन्। तर हाम्रा लागि यो काम धेरै सहज र सफल उपचार पद्दतीका रुपमा आएको छ।

 

भदौ २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्