राजसंस्था अन्त्यकाे विषयमा संसदीय आयोग बनाएर छानबिन गर्नुपर्छ: कमल थापा

बुटवल– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था अन्त्य र गणतन्त्र हासिल गर्नुमा विदेशी शक्तिको भूमिकाबारे प्रश्न उठेको भन्दै संसदीय छानबिन गर्नुपर्ने माग गरेका छन्।

बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष थापाले राष्ट्रिय उपलब्धिका रुपमा चर्चा भएको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि नै प्रश्न उठ्नेगरी आएका चर्चाहरुका बारेमा संसदीय छानबीन आयोग बनाएर प्रष्ट पार्नुपर्ने बताए।

नेपालमा गणतन्त्र ल्याउन भूमिगत सशस्त्र विद्रोह गरिरहेका तत्कालीन माओवादी नेता प्रचण्डलाई धेरैपटक फकाउनु परेको भारतीय जासुसी संस्था ‘रअ’का एक अवकाशप्राप्त अधिकारीले  सत्य घटनामा आधारित भनिएको उनको कृतिमार्फत खुलासा गरेका थिए। अमर भुषणले लेखेको ‘इनसाइड नेपाल’मा विभिन्न चरणको वार्तापछि ‘रअ’ प्रचण्डलाई मनाउन तयार भएको उल्लेख छ।

सोही प्रसंग उल्लेख गर्दै तत्कालीन राजा ज्ञानेन्द्रको अध्यक्षतामा बनेको सरकारमा गृहमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष थापाले राजसंस्था अन्त्य र गणतन्त्र हासिलका बारेमा बाह्य शक्तिको भूमिकाबारे प्रश्न उठाएका हुन्।

‘हामीले हिजो राजतन्त्र फाल्दा, गणतन्त्र ल्याउँदा, नयाँ संविधान बनाइसकेर संघीयता कार्यान्वयन गर्दैगर्दा त्यसकै उपलब्धीमाथि गम्भीर प्रश्न उठेको छ’, उनले भने, ‘यसअघि पनि धेरैपटक प्रश्नहरु उठ्दा हामीले केही भनेनौँ, अब यसलाई संसदले नै छानबीन गरेर जनतालाई प्रष्ट पार्नुपर्छ।’

उनले यस्ता चर्चाले राष्ट्रिय सुरक्षा र प्रजातन्त्रको भविष्यमाथि नै प्रश्न उठेको भन्दै यसको छानबीन गर्नुपर्ने तर्क गरे।

‘राजसंस्थाको अन्त्य गर्नेबारे भारतको भूमिकाकाे सम्बन्धमा भारतीय संसदमा कुरा उठ्यो, भारतका प्रणव मुखर्जी, श्याम शरण, जयशंकरले पहिले पनि भन्दै आएका थिए’, उनले घटनाहरु बताउँदै भने, ‘यसअघि पनि पुस्तकहरुमा आएकाे थिए, अहिले ‘रअ’का पूर्व  अधिकारीले पुस्तक लेखेरै भनेका छन्, यो विषयलाई सामान्य रुपमा लिनुहुन्न।’

बाह्य शक्तिले नेपाललाई प्रयोग गर्ने थलो बनाएको बारे पटक–पटक चर्चा हुँदा पनि जनतालाई प्रष्ट जवाफ नदिइएको भन्दै अध्यक्ष थापाले छानबिनले आरोप लागिरहेका नेताहरुको दोष/निर्दोषबारे पनि प्रष्ट हुने बताए।

‘उहाँहरुकै लागि पनि यो फाइदाजनक हुनेछ, जसले राजनीतिमा हरेक पटक यस्ता कुराहरु सुनिरहनुपरेको छ, आरोप लागिरहेको छ, त्यसका लागि पनि छानबिन गर्नु फाइदाजनक हुन्छ’, उनले भने ।

डा. भट्टराईकाे भनाइप्रति आपत्ति


अध्यक्ष थापाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलित समुदायको कार्यक्रममा हिन्दू धर्मका कारण विभेद भएको भन्दै दिएको भनाईप्रति आपत्ति जनाएका छन्।

‘पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले सार्वजनिक कार्यक्रममा दलितहरुमाथिको विभेद हिन्दु धर्मका कारणले भएको हो भन्नु आपत्तिजनक र निन्दनीय छ’, उनले भने, ‘कुनै समुदाय र जातप्रति विभेद भएको छ भने त्यो हाम्रो शासकहरुका कारणले हो, सामाजिक कुरिती र कुप्रथाका कारणले हो, कुनै धर्मका कारणले होइन।’

उनले त्यसरी कुनै जाति, धर्म विशेषलाई भड्काउने गरी अभिव्यक्ति नदिनका लागि नेताहरुलाई आग्रह गरे।

गौहत्याबारे हामी दुःखी छौँ


अध्यक्ष थापाले नेपालगञ्जबाट दैलेख लैजाने क्रममा गाईको मृत्यु भएको भन्ने घटनालाई दुर्घटना भनेका छन्।

‘त्यो नियतवश र योजनाबद्ध ढंगले भएको होइन।  दुर्घटना भयो, जे नहुनु थियो, त्यही भयो’, उनले भने, ‘यसमा हामी दुःखी छौँ। हामीले घटनाको निष्पक्ष छानबिनका लागि माग पनि गरेका छौँ र भएको पनि छ। हामी त्यसमा को दोषी हो, स्पष्ट रुपमा ल्याउन माग गर्छौं।’

उनले यसमा राप्रपालाई दोषी देखाउने गरी भ्रम नफैलाउन आग्रह गरे। उनले घटनाको छानबिनमा राप्रपा र नेपालगञ्ज उपमहानगरपालिकाले पनि सहयोग गर्ने बताए।

भदौ २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्