नक्कली स्मार्ट लाइसेन्ससहित तीन जना पक्राउ

वीरगञ्ज– नक्कली स्मार्ट लाइसेन्ससहित तीन जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा सुवर्ण गाउँपालिका वडा नम्बर ५ बस्ने ४५ वर्षीय गगनदेव साह, मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ८ बस्ने ३९ वर्षीय रामबहादुर स्याङतान र ३३ वर्षीय गोपाल सिंह भुलुन रहेको बारा प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई कलैया उप–महानगरपालिका वडा नम्बर–१ बाट नक्कली लाइसेन्ससहित पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नक्कली सवारी चालक अनुमति पत्र स्मार्ट कार्ड चार थान, पुरानो सवारी चालक अनुमति पत्र एक थान र ८ लाख २५ हजार रुपैयाँ बराबरको राम बहादुर स्याङतानको नाममा काटिएको विभिन्न बैंकको ४ थान चेक बरामद गरिएको बाराका प्रहरी नायव उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए।

पक्राउ परेका तीनैजना विरुद्ध सरकारी छाप दस्तखत किर्ते मुद्दामा जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गराई थप अनुसन्धान भईरहेको राठौरले बताए।

पक्राउ परेका गगनदेव साह यसअघि पनि नक्कली स्मार्ट लाईसेन्सहित पक्राउ परेका थिए। उनी २०७५ वैशाख १० गते दुई वटा नक्कली स्मार्ट लाईसेन्ससहित पक्राउ परेका थिए।

गगनदेवमाथि सरकारी छाप दस्तखत किर्ते मुद्दा दायर गरिएकोमा २०७५ साल जेठ ५ गते अदालतको आदेश अनुसार नाै हजार धरौटीमा छुटेको प्रहरीले जनाएको छ।

पछि २०७५ साल चैत १२ गते जिल्ला अदालतको फैसला अनुसार उनलाई १ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना  ताेकेकाेमा हालसम्म पनि फरार रहेर नक्कली लाईसेन्सकाे कारोबार गर्दै आएको बारा प्रहरीले जनाएको छ।

भदौ २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्